काठमाडाैं। काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थविद् प्रा. डा. गोविन्द नेपालले आगामी बजेटबारे यस्तो धारणा राखे जसले उपस्थित सबैलाई सोच्न बाध्य बनायो। उनले भने 'सरकारले ल्याएको नीति र बजेट विनियोजनबीच कुनै स्पष्ट तादात्म्य छैन, र यो बजेटले समग्र अर्थतन्त्रलाई चलायमान बनाउन सक्दैन।'
डा. नेपालका अनुसार प्रविधिमैत्री नयाँ पुस्ता, निजी क्षेत्र र केही कर्मचारी वर्गका माग आंशिक रूपमा सम्बोधन भएका छन्। तर साना किसान, अनौपचारिक मजदुर, गरिब र साना व्यवसायी बजेट बाहिर छन्। ज्येष्ठ नागरिकको अवस्थाबारे बोल्दै उनले पछिल्ला चार वर्षमा मूल्यवृद्धि १७.६ प्रतिशत पुगिसक्दा सेवानिवृत्त कर्मचारीको सुविधा केवल ६.६ प्रतिशतले मात्र बढाइएको छ। बैंक ब्याजदर करिब ३ प्रतिशतमा खुम्चिँदा यो वर्गको दैनिक जीवन कठिन बन्दै गएको छ, तर राज्यको आँखा त्यतातिर परेको छैन। ज्येष्ठ नागरिकका लागि बजेटमा ३०–३५ वटा दिवा सेवा केन्द्रबाहेक उल्लेखनीय कुनै कार्यक्रम छैन। बजेट यस विषयमा लगभग मौन छ।
तर डा. नेपालको सबैभन्दा तीखो आपत्ति भने 'समता शुल्क' भनिने व्यवस्थामाथि थियो। सरकारले विद्यार्थी र बिरामीबाट ३–३ प्रतिशत अतिरिक्त शुल्क उठाएर ४५९ करोड रुपैयाँ संकलन गर्ने योजना बनाएको छ। यसको विरोध गर्दै उनले भने 'एकातर्फ उच्च आय वर्गको आयकरको माथिल्लो दर १० प्रतिशत बिन्दुले घटाइएको छ, अर्कातर्फ बिरामी र विद्यार्थीमाथि थप भार थपिएको छ। यो सन्तुलित छैन, यो न्यायोचित छैन।' भेन्टिलेटरमा रहेका वा मृत्यु भइसकेका बिरामीको अस्पताल बिलमा समेत यो शुल्क जोडिने अवस्था आउँछ। भैपरी खर्च शीर्षकमा २२ अर्ब ३७ करोड रुपैयाँ विनियोजन हुँदाहुँदै थप ४५९ करोड बिरामीबाट उठाउनुको कुनै औचित्य छैन।
विद्युत्मा लगाइएको कर पनि उनको निशानामा पर्यो। मासिक ५० युनिटभन्दा बढी खपतमा ५ प्रतिशत भ्याट लगाउने निर्णयले सरकारको आफ्नै हरित अर्थतन्त्र र पेट्रोलियम प्रतिस्थापनको नीतिकै उपहास गरेको उनले बताए।कोभिडकालको अनुभव सम्झाउँदै उनले भने, 'त्यसबेला प्रवाह गरिएको वित्तीय प्रोत्साहनको अपेक्षित नतिजा आएन, अहिले पनि ऋणको परिमाण बढ्ने तर उपलब्धि सीमित हुने जोखिम उत्तिकै छ। सामाजिक सेवा अनुदान शीर्षकमा बजेट १०९ अर्बबाट बढाएर १२८.५ अर्ब रुपैयाँ पुर्याइएको छ, तर यसको आधार कहीँ प्रस्ट छैन। स्वास्थ्य बीमाको पुनर्संरचना, दाबी भुक्तानीको ढिलाइ र अस्पतालको बक्यौताजस्ता ज्वलन्त समस्यामा बजेटमा कुनै ठोस कार्ययोजना देखिँदैन।'