काठमाडौं। व्यवसायी दीपक भट्ट र उनका साझेदारहरूले हिमालयन रि–इन्स्योरेन्ससहित पाँच वटा बिमा कम्पनीबाट ४ अर्ब रुपैयाँभन्दा बढी रकम अपचलन गरेको तथ्य प्रहरीको अनुसन्धानले देखाएकाे छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले व्यवसायी दीपक भट्ट, शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल लगायत ४० भन्दा बढी व्यक्तिविरुद्ध अनुसन्धान टुंगो लगाएर जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाइसकेको सीआईबीका एआईजी डा. मनोज केसीले यो जानकारी दिए ।
सीआईबीले हिमालयन रि–इन्स्योरेन्सका तत्कालीन अध्यक्ष शेखर गोल्छा, जावलाखेल डिस्टिलरीका सञ्चालक राज बहादुर शाह, तत्कालीन सञ्चालकहरू अमित मोर, राेहित गुप्ता राजीव मोर, शुभेच्छा खरेल, सुभाषकुमार झुनझुनवाल र मनीष कुमार तथा सीईओ उपासना पौडेलविरुद्ध अभियोग दायर गर्न सिफारिस गरेको छ । व्यवसायी ऋषिराज मोरलाई पनि प्रतिवादी कायम गर्नुपर्ने सीआईबीको राय छ ।
अनुसन्धानले खुलाएअनुसार, बिमकहरूले तिरेको प्रिमियम रकम नियमविपरीत निकालेर धितोपत्र बजारमा लगानी गरिएको थियो । हिमालयन रि–इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, हिमालयन क्याप सर्व, हिमालयन सेक्युरिटिज बैंकर र एचएलआई लार्ज क्याप फन्ड संस्थाकाे रकम अपचलनमा भट्टको मुख्य भूमिका रहेको अनुसन्धानमा संलग्न अधिकृतले बताए।
प्रहरीले आरोपीहरूविरुद्ध बिमासम्बन्धी कसुरमा पाँच वर्ष कैद सजायको मागदाबी लिनुपर्ने राय दिएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका सहन्यायाधिवक्ता सोमकान्ता भण्डारीले प्रतिवेदन अध्ययनका क्रममा रहेको जानकारी दिँदै विशेष सरकारी वकिल कार्यालयले सम्पत्ति शुद्धीकरण अर्थात् मनी लाउन्डरिङसम्बन्धी विषयमा समानान्तर अध्ययन भइरहेको र आवश्यकताअनुसार समन्वय हुने बताए।
सीआईबीले बैंकिङ कसुर र धितोपत्रसम्बन्धी दुईवटा छुट्टाछुट्टै मुद्दामा थप अनुसन्धान जारी राखेको छ । अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार यी दुवै अनुसन्धान अन्तिम चरणमा पुगिसकेका छन् र चाँडै थप कारबाही अघि बढ्ने अपेक्षा गरिएको छ ।