काठमाडौं। विश्व अटोमोबाइल बजारमा नवीन प्रविधि, गुणस्तरीय उत्पादन तथा दिगो गतिशीलताको प्रतिकका रुपमा स्थापित ग्रेट वाल मोटर्स (जीडब्लुएम)का विद्युतीय एसयूभी नेपाली बजारमा आउने भएको छ। जीडब्लुएमका विद्युतीय एसयूभी नेपाली बजारमा जीडब्लुएमले ल्याउने तयारी गरेको हो।
विश्वका १७० भन्दा बढी देशमा लाखौं ग्राहकको विश्वास जितिसकेको जीडब्लुएमले नेपालमा नयाँ पुस्ताको अत्याधुनिक विद्युतीय एसयुभी सार्वजनिक गर्ने तयारी गरेको हो।
कम्पनीले हालसम्म यस मोडलको नाम औपचारिक रूपमा घोषणा नगरे पनि यसका विशेषताहरूले नेपाली अटोमोबाइल क्षेत्र र विद्युतीय सवारीका पारखीहरूमा ठूलो उत्सुकता बढाएको छ।
नेपाल आउने तयारीमा रहेको यो विद्युतीय एसयूभीमा एक पटकको फुल चार्जमा ५२० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज पाउन सकिन्छ। यसमा रहेको अत्याधुनिक ‘स्मार्ट ककपिट’, उत्कृष्ट सुरक्षा प्रणाली र सहज ड्राइभिङ अनुभवले सडकमा यसलाई अन्य सवारी साधनभन्दा अलग पहिचान दिने कम्पनीको दाबी छ।
यसको अर्को मुख्य आकर्षण भनेको यसको बाह्य सतहमा प्रयोग गरिएको ‘मल्टि-लेयर प्रोटेक्टिभ कोटिंग टेक्नोलोजी’ हो। बजारमा चलेको चर्चाअनुसार, यस प्रविधिले गाडीको बडीमा आउने सानातिना स्क्र्याचहरूलाई घामको तापबाटै स्वतः पुनःस्थापित गर्न सक्छ, जसले गाडीको चमक र सौन्दर्यलाई वर्षौंसम्म नयाँ जस्तै कायम राख्न मद्दत गर्ने छ।
जीडब्लुएम ले विश्व बजारमा विद्युतीय गतिशीलता, स्मार्ट कनेक्टिभिटी, सुरक्षित यात्रा तथा प्रयोगकर्ता-केन्द्रित नवप्रवर्तनमार्फत आफ्नो छुट्टै पहिचान बनाएको छ। यही अन्तर्राष्ट्रिय अनुभव र अत्याधुनिक प्रविधिको संयोजन नेपाली ग्राहकले पनि अनुभव गर्न पाउने अपेक्षा गरिएको छ।
नेपालमा विद्युतीय सवारीप्रतिको बढ्दो आकर्षण, चार्जिङ पूर्वाधारको विस्तार तथा वातावरणमैत्री यातायातप्रतिको सकारात्मक सोचका बीच जीडब्लुएमको नयाँ विद्युतीय एसयूभीलाई बजारको अर्को महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। आकर्षक डिजाइन, उन्नत प्रविधि, उत्कृष्ट प्रदर्शन र आधुनिक जीवनशैलीसँग मेल खाने सुविधाले यस मोडललाई नेपाली बजारमा प्रतिस्पर्धी बनाउने अपेक्षा गरिएको छ।
यसमा ५२० किलोमिटरसम्मको प्रभावशाली ड्राइभिङ रेन्ज पाउन सकिन्छ। सुरक्षाको लागि यसमा स्मार्ट सराउन्ड भ्यू क्यामेरा र ब्लाइन्ड स्पट मोनिटरिङ सुविधा, ७ एयरब्यागसहितको उच्च सुरक्षा व्यवस्था, ३६० डिग्री ट्रान्सपरेन्ट च्यासिस भ्यू प्रविधि दिइएको छ। यसमा भएको उन्नत सुरक्षा प्रणालीमार्फत दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने कम्पनीको भनाइ छ।
साथै यसमा २० भन्दा बढी एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम सुविधा, स्मार्ट ककपिट र एआई-सञ्चालित इन्टेलिजेन्ट सिस्टम, वन-टच कन्ट्रोलमार्फत सहज सञ्चालन, भेन्टिलेसन सुविधासहित ६-तरिकाले समायोजन गर्न मिल्ने प्रिमियम ड्राइभर सिट, पाँच-स्तरीय ब्याट्री सुरक्षा प्रणाली र विभिन्न सडक अवस्थाअनुसार ४ स्मार्ट ड्राइभिङ मोड दिइएको छ।