काठमाडौं। अष्ट्रेलियामा विद्युतीय सवारी साधनको बिक्री मे महिनामा हालसम्मकै उच्च स्तरमा पुगेको छ । अष्ट्रेलियाको मोटर उद्योग महासंघले बुधबार सार्वजनिक गरेको मासिक बिक्री तथ्यांकअनुसार मे महिनामा नयाँ बिक्री भएका सवारी साधनमध्ये ब्याट्रीबाट चल्ने विद्युतीय सवारी साधनको हिस्सा २० प्रतिशत पुगेको छ ।
यो अप्रिलमा कायम भएको १६.४ प्रतिशतको अघिल्लो कीर्तिमानभन्दा बढी हो। हाइब्रिड र बाह्य चार्ज गर्न मिल्ने हाइब्रिड सवारी साधनलाई समेत समावेश गर्दा, मे महिनामा बिक्री भएका नयाँ सवारीमध्ये ४६ प्रतिशत विद्युतीकृत सवारी साधन रहेका महासंघले जनाएको छ ।
महासंघका प्रमुख कार्यकारी अधिकृत टोनी वेबरले विद्युतीकृत सवारी साधनतर्फको परिवर्तन विशेष गरी बहुउपयोगी सवारी क्षेत्रमा स्पष्ट देखिएको बताए । उनका अनुसार, एक वर्षअघिको तुलनामा मे महिनामा विद्युतीय बहुउपयोगी सवारीको बिक्री १६७ प्रतिशतले वृद्धि भएको छ ।
बाह्य चार्ज गर्न मिल्ने हाइब्रिड बहुउपयोगी सवारीको बिक्री ३७७ प्रतिशतले बढेको छ । यसैबीच पेट्रोलबाट चल्ने बहुउपयोगी सवारीको बिक्री भने ३१ प्रतिशतले घटेको छ ।
चिनियाँ सवारी निर्माता कम्पनीले मे महिनामा अष्ट्रेलियामा ८ हजार २११ वटा नयाँ सवारी साधन बिक्री गरेको छ । जुन सन् २०२५ को सोही अवधिको तुलनामा १५५ प्रतिशत बढी हो ।
मे महिनाको अन्त्यसम्ममा तीन प्रमुख चिनियाँ सवारी निर्माता कम्पनीहरूले अष्ट्रेलियामा कुल ७८ हजार १६८ वटा नयाँ सवारी साधन बिक्री गरेका छन् । गत वर्षको सोही अवधिमा यो संख्या ४६ हजार ०२३ थियो ।
यद्यपि, टोयोटा अझै पनि अष्ट्रेलियाको सबैभन्दा ठूलो सवारी निर्माता बनेको छ । कम्पनीको बिक्री सन् २०२५ को पहिलो पाँच महिनामा भएको १ लाख ७५३ बाट घटेर सन् २०२६ को सोही अवधिमा ७६ हजार २०१७ मा झरेको छ ।
विश्लेषकका अनुसार अष्ट्रेलियामा विद्युतीय तथा अन्य विद्युतीकृत सवारी साधनप्रति उपभोक्ताको आकर्षण तीव्र रुपमा बढ्दै गएको छ । जसले देशको अटोमोबाइल बजारमा महत्वपूर्ण परिवर्तनको संकेत दिएको छ ।