काठमाडौं। मुस्ताङ भन्सार कार्यालयले जेठ १२ र १३ गते चीनबाट आयात भएका विवाईडी ब्राण्डका ६४९ वटा विद्युतीय गाडी (ईभी) आवश्यक प्रक्रिया पूरा गरेर नियमित रूपमा जाँचपास गरी नेपाल पठाएको जनाएको छ।
सशस्त्र प्रहरीले ती गाडीमध्ये केही नियन्त्रणमा लिएको भन्ने समाचार सार्वजनिक भए पनि त्यसबारे आफूहरूलाई कुनै आधिकारिक जानकारी नआएको भन्सारले बताएको छ।
मुस्ताङ भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रमेश खड्काका अनुसार भन्सारले आवश्यक कागजात र प्रक्रिया पूरा भएपछि मात्रै गाडीहरू जाँचपास गरेको हो।
‘हामीले आवश्यक सबै कागजात हेरेर प्रक्रियाअनुसार गाडीहरू पास गरी पठाएका हौँ,’ खड्काले भने, ‘पछि ती गाडीहरू सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको भन्ने समाचार सञ्चार माध्यमबाट सुनेका छौँ। तर, यसबारे हामीलाई अहिलेसम्म कुनै आधिकारिक जानकारी आएको छैन।’
उनका अनुसार गाडी नियन्त्रणमा लिएको सूचना भन्सार कार्यालयले पनि सञ्चार माध्यमबाटै थाहा पाएको हो। ‘किन नियन्त्रणमा लिएको हो, के विषयमा अनुसन्धान भइरहेको हो भन्ने जानकारी हामीसँग छैन। यदि, सम्बन्धित निकायबाट जानकारी गराइएको भए हामीलाई पनि थाहा हुन्थ्यो,’ उनले थपे।
खड्काले सशस्त्र प्रहरीले अनुसन्धान वा कुनै सूचनाका आधारमा गाडीहरू रोकेको हुन सक्ने अनुमान गरे पनि त्यसबारे स्पष्ट जानकारी सम्बन्धित निकायसँग मात्रै रहेको बताए।
मुस्ताङ भन्सारका अनुसार दुई दिनमा कुल ६४९ वटा बिवाईडी ब्राण्डका ईभी जाँचपास भएका थिए। तीमध्ये कति वटा गाडी अहिले नियन्त्रणमा परेका छन्? भन्ने विवरण भन्सारसँग छैन। ‘कतिपय गाडी शोरुममा पुगिसकेका होलान, केही बाटोमै होलान्। प्रहरीले कति गाडी नियन्त्रणमा लिएको छ भन्ने तथ्यांक हामीसँग छैन,’ खड्काले भने।
हाल केही सञ्चार माध्यममा ७७४ वटा गाडी नियन्त्रणमा लिइएको उल्लेख भए पनि मुस्ताङ भन्सारले जाँचपास गरेको संख्या ६४९ वटा मात्रै रहेको स्पष्ट पारेको छ। ‘हामीले पास गरेका सबै गाडी बिवाईडी ब्राण्डका हुन्। अन्य कुनै ब्राण्डका ईभी गाडी यस पटक जाँचपास भएका छैनन,’ खड्काले बताए।