काठमाडाैं। बजेटमा कर वृद्धिसम्बन्धी सूचना चुहिएको र धेरै सवारी साधन जेठ १५ गते अगावै भित्र्याइएको आशंका गर्दै विभिन्न सामग्री सार्वजनिक भएपछि सशस्त्र प्रहरीले विद्युतीय सवारी साधन (ईभी) नियन्त्रणमा लिन थालेको छ। भन्सार जाँचपास गरी काठमाडौं आएर देशका विभिन्न डिलरमा पठाइँदै गरेका गाडी समेत सशस्त्र प्रहरीको नियन्त्रणमा पर्न थालेपछि अटो व्यवसायी त्रासमा परेका छन्।
जेठ १२ र १३ गते मुस्ताङ भन्सार (कोरोला) नाकाबाट छुटेका बीवाईडी ब्रान्डका गाडी नियन्त्रणमा लिइएपछि देशभरका डिलरमा पठाइएका अन्य ब्रान्डका गाडी पनि नियन्त्रणमा परेसँगै व्यवसायी अतालिएका छन्। "भन्सार जाँचपास गरी आएका गाडी डिलरमा पठाउँदा नियन्त्रणमा लिन थालिएको छ," एक अटो व्यवसायीले क्यापिटल नेपालसँग भने, "बजेटपछि व्यवसाय सहज होला भन्ने थियो, उल्टै अनावश्यक झन्झट थोपरेर त्रासको वातावरण बनाइयो।"
बिहीबार सशस्त्र प्रहरीले गाडी नियन्त्रणमा लिन थालेपछि नयाँ गाडी दर्ता नामसारीमा समेत अवरोध उत्पन्न भएको छ। "विगतको तुलनामा बिहीबार नामसारी निकै सुस्त भएको छ," ती व्यवसायीले भने, "कर बढेर व्यापार मन्दिएको बेला नामसारी समेत ढिलाइ हुँदा समस्या झनै थपिएको छ।"
सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता विष्णुप्रसाद भट्टले कोरोला नाकाबाट छुटेका गाडीमा अनियमितता भएको हल्लापछि ती नियन्त्रणमा लिएर भन्सार विभागलाई अनुसन्धानका लागि हस्तान्तरण गरिएको जानकारी दिए। "नयाँ गाडीमा कतै कर छली भए–नभएको यकिन गर्न केही गाडी नियन्त्रणमा लिएर सोधखोज गरिएको हो," प्रवक्ता भट्टले भने, "आवश्यक कागजात जाँच गरी छोडिसकेका छौं।"
नियन्त्रणमा लिइएका गाडी अर्थ मन्त्रालय मातहतका निकायले अध्ययन गरेर आवश्यक कारबाही अगाडि बढाउने गरी हस्तान्तरण गरिएको उनले बताए।
भन्सार विभागका महानिर्देशक श्याम भण्डारीले मुस्ताङ नाकाबाट छुटेका बीवाईडी गाडी नियन्त्रणमा लिइएको बाहेक अन्यको जानकारी नभएको बताए। "हामीले सशस्त्र प्रहरीलाई कुनै पनि गाडी नियन्त्रणमा लिन औपचारिक वा अनौपचारिक कुनै पत्राचार गरेका छैनौं," महानिर्देशक भण्डारीले भने, "केही आशंकाका आधारमा नियन्त्रणमा लिइएको हुन सक्छ, हामीलाई विस्तृत जानकारी छैन।" मुस्ताङ भन्सारबाट छुटेर सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका गाडीको अध्ययन गर्न बिहीबार नै भन्सार विभागका कर्मचारी खटिइसकेकाले केही दिनभित्र विषयको टुंगो लाग्ने उनले जानकारी दिए।