काठमाडौं। विश्वकै सबैभन्दा ठूलो होटल कम्पनीमध्ये एक म्यारियट इन्टरनशनलका बोर्ड अध्यक्ष डेबिड एस म्यारियट नेपाल आउने भएका छन्। सिजी हस्पिटालिटी र म्यारियट इन्टरनेशनलबीच हुन लागेको रणनीतिक साझेदारी सम्झौताका लागि उनी जुन ७ मा काठमाडौं आउने तय भएको हो।
नेपालको होटल तथा पर्यटन क्षेत्रमा ठूलो महत्वका रुपमा हेरिएको उक्त समारोहमा डेभिड म्यारियट स्वयं उपस्थित हुने भएपछि अन्तर्राष्ट्रिय आतिथ्य उद्योगको ध्यान नेपालतर्फ केन्द्रित भएको छ।
डेभिड म्यारियट हाल म्यारियट इन्टरनेशनलका बोर्ड अध्यक्ष हुन्। उनी सन् २०२१ मा कम्पनीको बोर्डमा निर्वाचित भएका थिए। सन् २०२२ मा आफ्ना पिता जे डब्ल्यु म्यारियट (बिल म्यारियट)को उत्तराधिकारीका रुपमा बोर्ड अध्यक्ष बनेका थिए। उनी म्यारियटको झण्डै १०० वर्षको इतिहासमा तेस्रो पुस्ताका अध्यक्ष हुन्।
डेभिड म्यारियटले सन् १९९९ देखि कम्पनीमा विभिन्न जिम्मेवारी सम्हाल्दै आएका छन्। बोर्ड अध्यक्ष बन्नुअघि उनी म्यारियटको अमेरिकी फुल–सर्भिस होटल व्यवसायका अध्यक्ष थिए। जहाँ उनले १४ वटा ब्राण्डअन्तर्गत सञ्चालन भएका ३३० भन्दा बढी होटलहरूको नेतृत्व गरेका थिए। उनले स्टारवुड होटल्स एन्ड रिसोर्ट्सको अधिग्रहणपछि एकीकरण प्रक्रियामा समेत महत्वपूर्ण भूमिका खेलेका थिए।
पर्यटन तथा होटल व्यवसायका जानकारका अनुसार डेभिड म्यारियटको नेपाल भ्रमण केवल औपचारिक कार्यक्रम मात्र नभई नेपालको पर्यटन बजारप्रति म्यारियट समूहको बढ्दो विश्वासको संकेत हो।
हाल म्यारियट इन्टरनेशनलका १४६ देश तथा क्षेत्रमा ९ हजार ९०० भन्दा बढी होटल तथा रिसोर्ट सञ्चालनमा छन्। कम्पनीअन्तर्गत ३० भन्दा बढी अन्तर्राष्ट्रिय होटल ब्राण्ड रहेका छन्। जसमा रिट्ज–कार्लटन, जेडब्लु म्यारियट, वेस्टिन, शेराटोन, ले मेरिडियनलगायत प्रमुख छन्।

सिजी हस्पिटालिटीसँगको सम्झौतामार्फत नेपालमा वेस्टिन, द रिट्ज–कार्लटन तथा जेडब्लु म्यारियट ब्राण्डका परियोजना अगाडि बढ्ने अपेक्षा गरिएको छ। यदि, घोषणाअनुसार परियोजना कार्यान्वयन भए नेपालले पहिलो पटक विश्वका केही प्रतिष्ठित लक्जरी होटल ब्राण्डहरू एकैपटक भित्र्याउने अवसर पाउने छ।
पर्यटन तथा होटल व्यवसायका जानकारका अनुसार डेभिड म्यारियटको नेपाल भ्रमण केवल औपचारिक कार्यक्रम मात्र नभई नेपालको पर्यटन बजारप्रति म्यारियट समूहको बढ्दो विश्वासको संकेत हो। पछिल्ला वर्षहरूमा नेपालमा उच्चस्तरीय पर्यटन पूर्वाधार विस्तार, अन्तर्राष्ट्रिय सम्मेलन पर्यटन, लक्जरी आवास तथा ब्रान्डेड होटल परियोजनामाह विदेशी लगानी बढ्दै गएको अवस्थामा यो साझेदारीलाई कोसेढुंगा मानिएको छ।
नेपालमा हुने यो कार्यक्रमले केवल एउटा होटल सम्झौता मात्र नभई नेपालको पर्यटन उद्योगलाई विश्वव्यापी लक्जरी होटल नेटवर्कसँग अझ गहिरो रुपमा जोड्ने अपेक्षा गरिएको छ।