काठमाडौं। आर्थिक वर्ष २०८३/८४ को बजेट आउनुअघि बिवाईडीले भित्र्याएको विद्युतीय सवारी साधन (ईभी)को भन्सार प्रक्रियाबारे उठेका प्रश्नप्रति कम्पनीले स्पष्ट पारेको छ। बिवाईडीको नेपालका लागि आधिकारिक वितरक ‘साइमेक्स इंक’ले भन्सार प्रक्रियाबारे उठेका विभिन्न प्रश्नप्रति स्पष्ट पारेको हो।
कम्पनीले बिहीबार एक विज्ञप्ती जारी गर्दै बजेट सार्वजनिक हुनुअघि नेपाल भित्रिएका र भन्सार जाँचपास भएका बिवाईडीका सवारी साधनबारे विभिन्न सञ्चार माध्यम तथा सार्वजनिक वृत्तमा उठेका प्रश्नहरूको तथ्यगत स्पष्टीकरणसहित जवाफ दिएको हो।
कम्पनीले बजेटअघि मे २६ र २७ अर्थात जेठ १२ र १३ गते दुई दिनमा कोरोला नाका हुँदै ६४९ युनिट ईभी गाडी भन्सार जाँचपास गराएको जनाएको छ। रसुवा भन्सार हुँदै मे १८ देखि २७ सम्म ४७२ युनिट गाडी जाँचपास गराएको स्पष्ट पारेको छ।
साइमेक्स इंकका अनुसार बजेटअघि जेठ १२ गते कम्पनीले ४७५ युनिट गाडी भन्सार जाँचपास गराएको हो। जसमा ४०० युनिट बिवाईडी एट्टो २ र ७५ युनिट एट्टो वान आयात गरेको छ। जेठ १३ गते ४० युनिट एट्टो २ र १३४ युनिट एट्टो वान आयात गरेको जनाएको छ। कोरोला नाका हुँदै दुई दिनमा ६४९ युनिट बिवाईडी एट्टो वान एट्टो २ भन्सार जाँचपास गरेको जनाएको छ।
त्यस्तै, कम्पनीले बजेटअघि जेठ ४ गतेदेखि जेठ १३ गतेसम्म ४७२ युनिट गाडी रसुवा भन्सार हुँदै आयात गरेको छ। साइमेक्स इंकले जेठ ४ गते एट्टो वान ५० युनिट र सिलायन ७ १५ युनिट भन्सार जाँचपास गराएको छ। जेठ ६ गते २० युनिट सिलायन ७ आयात गरेको छ।

साइमेक्सले जेठ ७ गते १०० युनिट एट्टो २ युनिट, ८ गते १०० युनिट, १२ गते एट्टो २ ५० र एट्टो वान १७ युनिट आयात गरेको छ। जेठ १३ गते सिलायन ७ ३५ युनिट, एट्टो वान ८३ युनिट र एट्टो ३ २ युनिट भन्सार जाँचपास गरेको स्पष्ट पारेको छ।
साइमेक्स इंकका अनुसार हालसम्म सयौँ बिवाईडीका ईभी कानुनी प्रक्रियामार्फत आयात तथा भन्सार जाँचपास भइसकेका छन्। यद्यपि, थप २२६ वटा सवारी साधन चीनतर्फको भन्सार क्षेत्रमा आइपुगेका भए पनि तिनको जाँचपास प्रक्रिया अझै सम्पन्न नभएको जनाएको छ।
हाल विभिन्न सञ्चार माध्यममा उल्लेख गरिएका सवारी साधनहरू नेपाल सरकारका प्रचलित कानुन, भन्सारसम्बन्धी नियमावली तथा प्रक्रियाअनुसार पूर्ण रूपमा आयात तथा जाँचपास गरिएको कम्पनीले उल्लेख गरेको छ।
विज्ञप्तीमा भनिएको छ, ‘साइमेक्स इंकले कुनै पनि चरणमा विशेष सुविधा, प्राथमिकता प्राप्त प्रक्रिया वा अनधिकृत भन्सार व्यवस्थाबाट लाभ लिएको छैन, न त त्यस्तो कुनै व्यवस्थाका लागि अनुरोध गरेको वा प्राप्त गरेको छ। ग्राहकबाट पहिले नै बुकिङ सुनिश्चित भइसकेका कारण ती बुकिङ पूरा गर्न तथा नेपालमा विद्युतीय सवारीसाधनको बढ्दो माग सम्बोधन गर्न यी सवारीसाधन आयात गरिएका हुन्।’
कम्पनीका अनुसार सम्पूर्ण आयात कार्य बिवाईडीको उत्पादन तालिका, ढुवानी उपलब्धता, नियमित व्यावसायिक योजना तथा यातायात र ढुवानी व्यवस्थापनसम्बन्धी चुनौतीलाई ध्यानमा राखेर गरिएको हो। साथै, सम्पूर्ण आयात तथा भन्सार प्रक्रिया नेपालका प्रचलित कानुन तथा नियामकीय व्यवस्थाअनुसार सम्पन्न गरिएको कम्पनीको दाबी छ।
साइमेक्सले सरकारी निकायसँग समन्वय गरी कर परिवर्तनबाट बच्न खोजेको वा कुनै अनुचित लाभ लिएको भन्ने आरोपलाई पूर्णतः निराधार, असत्य तथा कम्पनीको प्रतिष्ठामा आघात पु¥याउने खालको भएको जनाएको छ।

कम्पनीका अनुसार आयातसम्बन्धी सम्पूर्ण गतिविधि नियमित व्यावसायिक आवश्यकता, मौज्दात व्यवस्थापन, ढुवानी तालिका तथा प्रचलित कानुनका आधारमा योजना बनाई सञ्चालन गरिन्छ।
साथै, साइमेक्सले कुनै पनि वैधानिक अनुसन्धान वा छानबिनलाई स्वागत गर्ने जनाएको छ। सत्यतथ्य स्थापित गर्न आवश्यक सम्पूर्ण कागजात आयातसम्बन्धी रेकर्ड, भन्सार घोषणा विवरण, ढुवानी अभिलेख, सीमा प्रवेशसम्बन्धी कागजात, भुक्तानी विवरण तथा जाँचपास स्वीकृतिसम्बन्धी दस्तावेजहरू सम्बन्धित निकायलाई उपलब्ध गराउन आफूहरू पूर्ण रूपमा तयार रहेको कम्पनीले स्पष्ट पारेको छ।
साइमेक्सले विगत धेरै वर्षदेखि नेपालको अटोमोटिभ तथा क्लिन इनर्जी रुपान्तरणको यात्रामा विश्वासिलो साझेदारका रुपमा योगदान दिँदै आएको जनाएको छ। कम्पनीले इमान्दारिता, कानुनको पालना, पारदर्शिता तथा जवाफदेहिताका साथ नेपाली उपभोक्तालाई सेवा दिन निरन्तर प्रतिबद्ध रहेको उल्लेख गरेको छ।
साथै, सम्बन्धित निकायहरूद्वारा भइरहेको अध्ययन तथा समीक्षा प्रक्रियाले यस विषयमा स्पष्टता ल्याउने तथा हाल सार्वजनिक रूपमा फैलाइएका भ्रम र गलत सूचनाहरूको अन्त्य गर्नेमा आफूहरू विश्वस्त रहेको साइमेक्सले जनाएको छ।