काठमाडौं। भियतनामको विद्युतीय यातायात सेवा कम्पनी ग्रीन एसएम ले आगामी जुन ५ देखि भारतमा आफ्नो ट्याक्सी सेवा सुरु गर्ने भएको छ। भियतनामको सबैभन्दा ठूलो निजी व्यावसायिक समूहमध्ये एक भिनग्रुपको समर्थन रहेको यो कम्पनीले पहिलो चरणमा दिल्ली-एनसीआर क्षेत्रमा सेवा सञ्चालन गर्ने र त्यसपछि भारतका अन्य प्रमुख शहरहरूमा विस्तार गर्ने योजना बनाएको छ।
ग्रीन एसएमका संस्थापक भियतनामी अर्बपति फाम न्हाट भुओङ हुन्। उनी भिनफास्ट विद्युतीय सवारी कम्पनीका पनि संस्थापक हुन्। हाल ग्रीन एसएमले भियतनाम, मलेसिया र फिलिपिन्समा एपमार्फत ट्याक्सी सेवा सञ्चालन गरिरहेको छ।
भारतमा प्रवेशसँगै ग्रीन एसएमले उबर र ओलाजस्ता स्थापित राइड–हेलिङ कम्पनीहरूसँग प्रतिस्पर्धा गर्नेछ। तर कम्पनीको व्यवसायिक मोडल अन्य कम्पनीभन्दा फरक छ। उबर र ओलाले विभिन्न ब्राण्डका सवारी प्रयोग गर्ने भए पनि ग्रीन एसएमले आफ्नै समूहअन्तर्गतको भिनफास्टका विद्युतीय सवारी मात्र प्रयोग गर्नेछ।
भारतमा कम्पनीले मुख्य रूपमा लिमो ग्रीन नामक विद्युतीय बहुउद्देश्यीय सवारी सञ्चालनमा ल्याउने तयारी गरेको छ। यो मोडल भिनफास्टको भीएफ एमपिभी ७ मा आधारित फ्लीट संस्करण हो। यसमा ६०।१३ किलोवाट घण्टा क्षमताको ब्याट्री जडान गरिएको छ, जसले एक पटक पूर्ण चार्ज गर्दा ५१७ किलोमिटरसम्म यात्रा गर्न सक्ने भारतीय परीक्षण निकायको प्रमाणित क्षमता राख्छ।
यसमा प्रयोग गरिएको अगाडिको विद्युतीय मोटरले २०४ अश्वशक्ति र २८० न्युटन मिटर टर्क उत्पादन गर्छ। कम्पनीका अनुसार फ्लीटका लागि तयार पारिएको लिमो ग्रीनमा सामान्य मोडलभन्दा फरक लोगो र ब्राण्डिङ प्रयोग गरिनेछ। साथै केही विलासी सुविधाहरू हटाइनेछन् ताकि व्यावसायिक सञ्चालन लागत कम गर्न सकियोस्।
हालै भारतमा परीक्षणका क्रममा देखिएको लिमो ग्रीन साइन रङमा सजिएको थियो। यसमा सात सिटको व्यवस्था, कालो भित्री सजावट तथा व्यावसायिक प्रयोगलाई ध्यानमा राखेर डिजाइन गरिएका विशेषता देखिएका थिए।
कम्पनीले लिमो ग्रीनसँगै भीएफ ५ नामक विद्युतीय ह्याचब्याकलाई पनि आफ्नो ट्याक्सी फ्लीटमा समावेश गर्ने सम्भावना रहेको जनाएको छ। यो मोडललाई भारतमा व्यक्तिगत प्रयोगका लागि पनि सार्वजनिक गर्ने तयारी भइरहेको छ।
ग्रीन एसएमको भारत प्रवेशलाई विद्युतीय ट्याक्सी सेवाको क्षेत्रमा महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ। भारतमा विद्युतीय सवारीको प्रयोग तीव्र रूपमा बढिरहेका बेला भिनफास्टले आफ्नै सवारीमार्फत ट्याक्सी सेवा सञ्चालन गर्न लागेकाले यसले राइड–हेलिङ बजारमा नयाँ प्रतिस्पर्धा सिर्जना गर्ने अपेक्षा गरिएको छ।
साथै यस कदमले भिनफास्टलाई भारतीय विद्युतीय सवारी बजारमा आफ्नो उपस्थिति बलियो बनाउन पनि सहयोग पुग्ने विश्लेषण गरिएको छ।