काठमाडौं। सन् १९३० मा फिफा विश्वकप सुरु भएयताकै इतिहासमा पहिलो पटक कुनै आयोजक राष्ट्रले आफूसँग प्रत्यक्ष वा परोक्ष रूपमा सैन्य द्वन्द्व मा रहेको देशको टोलीलाई स्वागत गर्ने भएको छ। आगामी जुन ११ देखि सुरु हुन लागेको विश्वकप २०२६ को सह-आयोजक अमेरिकाले राजनीतिक तथा सैन्य तनावका बीच इरानी फुटबल टोलीलाई आफ्नो देशमा खेल्ने अनुमति (भिसा) दिएसँगै खेलकुदको इतिहासमा यो दुर्लभ र ऐतिहासिक मोड देखा परेको हो।
गत फेब्रुअरी २०२६ मा अमेरिका र इजरायलले इरानमाथि गरेको भीषण हवाई हमलापछि यी देशहरूबीचको सम्बन्ध चरम शत्रुतापूर्ण अवस्थामा पुगेको छ। दुई देशबीच सैन्य भिडन्त र तनाव अझै जारी रहेका बेला इरानी खेलाडीहरू अमेरिकी मैदानमा उत्रिनुलाई विश्वभर निकै चासोका साथ हेरिएको छ।
रङ्गशालामा उच्च सुरक्षा सतर्कता
जनीतिक तनावको बाछिटा खेलमैदान र रङ्गशालामा पर्न सक्ने जोखिमलाई ध्यानमा राख्दै विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले विशेष सुरक्षा रणनीति अपनाएको छ। खेल अवधिभर रङ्गशाला र खेलाडीहरूको सुरक्षाका लागि 'हाई अलर्ट' अर्थात् उच्च सुरक्षा सतर्कता अपनाइने फिफाले जनाएको छ।
भिसा विवाद र रणनीति परिवर्तन
सुरक्षा संवेदनशीलता र वैचारिक मतभेदका कारण इरानी टोलीको भिसा प्रक्रिया अन्तिम समयसम्म निकै अनिश्चित बनेको थियो। अमेरिकाले खेलाडीहरूलाई भिसा दिए पनि टोलीका मुख्य व्यवस्थापक, प्राविधिक सल्लाहकार र फुटबल संघका केही पदाधिकारीहरूलाई सुरक्षा चासो देखाउँदै भिसा अस्वीकार गरेको छ, जसको इरानले कडा विरोध जनाएको छ। यही तनावका कारण इरानी टोलीले अमेरिकामा तय गरेको आफ्नो प्रारम्भिक प्रशिक्षण क्याम्प समेत रद्द गर्नुपरेको थियो। एरिजोनामा बस्ने योजना बदल्दै इरानी टोलीले अहिले मेक्सिकोको टिजुआनामा आफ्नो क्याम्प राखेको छ र त्यहीँबाट खेलका लागि मात्र अमेरिका प्रवेश गर्ने रणनीति बनाएको छ। इरान विश्वकपको समूह 'जी' मा रहेको छ।
उसले जुन १५ मा लस एन्जलस मा न्युजिल्यान्डसँग खेल्दै आफ्नो विश्वकप यात्राको सुरुवात गर्नेछ। त्यसपछि जुन २१ मा बेल्जियम र जुन २६ मा सियाटलमा इजिप्टको सामना गर्ने तालिका रहेको छ। सैन्य युद्धको मैदानभन्दा टाढा, फुटबलको मैदानमा हुन लागेको यो उपस्थितिले खेलकुद जगत्मा एउटा नयाँ र ऐतिहासिक नजिर स्थापित गरेको छ।