काठमाडौं। अन्तर्राष्ट्रिय चलचित्र मञ्चमा नेपाली सिनेमाले हासिल गरेको उल्लेखनीय सफलताको सम्मानस्वरूप चलचित्र 'इलिफेन्स् इन द फग’ को निर्माण तथा कलाकार समूहलाई नगद दुई लाख ५० हजार, खादा र मालासहित सम्मान गरिएको छ। नेपाल पर्यटन बोर्ड र चलचित्र विकास बोर्डको संयुक्त आयोजनामा बुधबार आयोजित विशेष कार्यक्रममा चलचित्र समूहलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खगराज पौडेल ‘गनेस’ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सम्मान गरेका हुन्। नेपाली चलचित्रले विश्वमाझ नेपालको पहिचान स्थापित गर्न महत्त्वपूर्ण योगदान दिएको अवसरमा यो सम्मान प्रदान गरिएको हो।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले ‘इलिफेन्टस् अफ द फग’ले अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई चिनाउने महत्त्वपूर्ण काम गरेको भन्दै चलचित्र टोलीको योगदानप्रति उच्च सम्मान व्यक्त गरे। नेपाली चलचित्रले पछिल्ला वर्षहरूमा ठूलो फड्को मारिरहेको उल्लेख गर्दै उनले चलचित्रले देशको प्रतिष्ठा उच्चो बनाएको बताए । “धेरैको सपना रहने अन्तर्राष्ट्रिय मञ्चमा यो चलचित्रले नेपाललाई चिनाएको छ । यस सफलताले समग्र नेपाली चलचित्र क्षेत्रलाई थप प्रेरणा दिएको छ,” उनले भने।
सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र टोलीले प्राप्त गरेको सम्मानलाई केवल पुरस्कारका रूपमा नभई राष्ट्रका लागि अमूल्य उपलब्धिका रूपमा लिनुपर्ने बताए। “यहाँहरूले प्राप्त गरेको सफलताको मूल्य दुई लाख ५० हजार वा २ करोड ५० लाखले पनि मापन गर्न सकिँदैन। यो देशका लागि गौरवको विषय हो,” उनले भने। चलचित्र क्षेत्रको विकासका लागि आवश्यक कानुनी र नीतिगत सुधारमा सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले गुणस्तरीय तथा देशको आवाज बोल्ने चलचित्र निर्माणलाई प्रोत्साहन गर्न चालु आर्थिक वर्षमा करिब साढे तीन करोड रुपैयाँ बजेट विनियोजन गरिएको समेत जानकारी गराएका छन् ।
सम्मान ग्रहणपछि चलचित्रका निर्देशक अविनाश विक्रम शाहले यो उपलब्धि व्यक्तिगत नभई सम्पूर्ण नेपाली चलचित्रकर्मीहरूको साझा सफलता भएको बताए। “मेरो कामले नै मलाई यहाँसम्म ल्याएको महसुस भएको छ। देशभरिका मेरा सहकर्मीहरूलाई सम्झिरहेको छु । सिनेमा केवल मनोरञ्जनको माध्यम मात्र होइन, यो हाम्रो संस्कृति, पहिचान र कथाहरू संसारसमक्ष पुर्याउने सशक्त माध्यम पनि हो,” उनले भने।
नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले चलचित्रको अन्तर्राष्ट्रिय सफलताले नेपालको पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे। नेपाल प्राकृतिक सौन्दर्य, संस्कृति र विविधताले भरिपूर्ण चलचित्र छायांकनको उत्कृष्ट गन्तव्य भएको उल्लेख गर्दै उनले ट्राभल ट्रेड र चलचित्र निर्माताहरूलाई पर्यटनको दृष्टिकोणबाट समेत सिनेमालाई हेर्न आग्रह गरे। “यो नेपाली चलचित्र क्षेत्रका लागि मात्र होइन, नेपालको पर्यटन प्रवर्द्धनका लागि पनि गौरवको क्षण हो,” उनले भने।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले नेपाली चलचित्र उद्योगको भविष्यप्रति आशावादी रहेको बताउँदै वर्तमान सरकारले चलचित्र क्षेत्रलाई प्राथमिकताका साथ अघि बढाएकोमा धन्यवाद व्यक्त गरे। ५६ वर्षदेखि परिमार्जन हुन नसकेको चलचित्रसम्बन्धी कानुन निर्माणको प्रक्रिया अघि बढिरहेको उल्लेख गर्दै उनले सरकार चलचित्र क्षेत्रप्रति सकारात्मक रहेको बताए। “अब नेपाल हिमालको देश मात्र होइन, ‘इलिफेन्ट्स् इन द फग’ को देश भनेर पनि चिनिन सक्ने अवस्था बनेको छ,” उनले भने।
हालै अन्तर्राष्ट्रिय मञ्चमा प्रतिष्ठित जुरी अवार्ड प्राप्त गरेको ‘इलिफेन्ट्स् इन द फग’ ले विश्वस्तरमा नेपाली कथावस्तु, संस्कृति र सिर्जनशीलताको क्षमता प्रस्तुत गरेको छ। चलचित्रको सफलताले नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय बजारमा थप आत्मविश्वासका साथ अघि बढ्न प्रेरणा दिएको सरोकारवालाहरूको भनाइ छ।