काठमाडौं। प्रतिनिधिसभामा ‘आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल प्रारम्भ भएको छ। सभाको आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित सोसम्बन्धी छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका हुन्।
बैठकमा सभामुख डोलप्रसाद अर्यालले राजस्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफल मात्रै हुने र मन्त्रालयगत कार्यक्रम तथा योजनाका बारेमा विनियोजन विधेयकमाथि विस्तृत छलफल गरिने ब्यहोरा जानकारी गराएका थिए। उनले छलफलका लागि चार घण्टाको समय निर्धारण गरिएको जानकारी दिए।
सांसदहरूले आव २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिएका थिए।
बजेटमाथि सामान्य छलफलमा भाग लिँदै नेकपा एमालेका सांसद पुष्पराज कँडेलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई धन्यवाद दिए। खासगरी बजेटका सन्दर्भमा अर्थमन्त्री वाग्लेले राष्ट्रसेवक कर्मचारीको तलब वृद्धि गरेको भन्दै सांसद कँडेलले धन्यवाद दिए।
कँडेले भने, ‘अर्थमन्त्रीज्यूलाई केही विषयमा म धन्यवाद दिन चाहन्छु। मैले नीति तथा कार्यक्रमको बारेमा चर्चा गरिराख्दा राष्ट्रसेवक कर्मचारीहरूको पारिश्रमिक बढाउनुपर्छ भनेर सुझाव दिएको थिए। यतातिर माननीय मन्त्रीज्यूको ध्यान गएको छ।’
सोही अवसरमा सांसद कँडेलले केही पुराना नीति तथा कार्यक्रमहरूको समेत अर्थमन्त्री वाग्लेले निरन्तरता दिएकोमा खुशी व्यक्त गरे। तर, प्रस्तुत बजेट संविधानको भावनाको बर्खिलापमा आएको उनले आरोप लगाए।
उनले भने, ‘यो बजेट संविधानको भावनाको बर्खिलापमा छ भन्ने मैले महसुस गरेको छु। किनभने संविधानमा उल्लेखित प्रस्तावना, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वमा उल्लेख गरिएका प्रावधानभन्दा फरक दिशामा बजेट गएको छ।’
मिश्रित अर्थतन्त्र, लोककल्याणकारी राज्य, समाजवादउन्मुखता आदिबाट बजेटले पुरै मुख मोडेको उनले तर्क गरे। विनियोजित बजेटले संविधानमा उल्लेखित प्रगतिशील कर प्रणालीको प्रावधानलाई समेत उम्लगन गरेको उनले आरोप लगाए।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारीले बजेट परम्परागत र यथास्थितिवादी प्रणालीलाई सर्जिकल अप्रेसन गर्नेगरी आएको बताएकी छन्।
राजस्व र व्ययको सम्बन्धमा बुधबार प्रतिनिधिसभामा जारी छलफलमा बोल्दै सांसद अधिकारीले यस्तो बताएकी हुन्। उनले भनिन्, ‘दशकौँदेखिको परम्परागत शैली र यथास्थितिवादको जन्जिरमा जगडिएर फसेर बसेको हाम्रो हाम्रो अर्थतन्त्रलाई मुक्त गर्ने, ऐतिहासिक र साहसिक प्रस्तानविन्दुको रूपमा यो बजेट आएको छ। अर्थतन्त्रको समग्र समस्याहरूलाई स्थायी रूपमै समाधन गर्नका लागि एउटा गहिरो सर्जिकल अप्रेसनको रूपमा बजेट आएको छ। अर्थतन्त्रको व्यापक सुधार मात्र होइन कि, साशकीय सुधारको पनि पुनर्संरचनाको लय समातेको मैले अनुभुत गरेको छु। यो बजेटले नेपाललाई विप्रेषणा (रेमिट्यान्स), आयात, उपभोग व्यरोजगारीबाट प्याडाइम सिफ्ट गरेर उत्पादन, रोजगारी र आर्थिक विकासतर्फ लैजाने निश्चित देखिन्छ।’
सोही अवसरमा सांसद अधिकारीले बजेट परम्परागत शैलीभन्दा फरक आएको पनि दाबी गरिनन्। काम कसले गर्ने रु भन्ने पुरानो ढाँचालाई पनि परिवर्तन गर्दै कसले गर्ने हो सो निर्क्योल गरिएको उनले दाबी गरिन्।
बजेटले निजीक्षेत्रलाई आर्थिक विकासको इन्जिनको रूपमा अघि सारेको उनले बताइन्। निजीक्षेत्रको खस्किएको मनोबललाई उकास्ने दिशानिर्देश गरेको उनको भनाइ छ।
अर्थमन्त्री वाग्लेले राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिनेछन्।