काठमाडौं। चिनियाँ राष्ट्रपति सी चिनफिङको प्योङयाङको दुईदिने भ्रमण सम्पन्न भएको छ। सन् २०१९ पछि पहिलो पटक सी चिनफिङ उत्तर कोरिया पुगेका हुन्।
गत सोमबार सी प्योङयाङ पुगेका थिए। रेड कार्पेट स्वागतदेखि लिएर विभिन्न सांस्कृतिक तथा एक्रोब्याटिक प्रदर्शनसम्म उत्तर कोरियाली नेता किम जोङ–उन स्वयं उपस्थित भएर उनको स्वागतमा सक्रिय देखिएका थिए।
उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएका अनुसार भ्रमणका क्रममा कुनै ठोस सम्झौता सार्वजनिक नभए पनि किमले यस भ्रमणको महत्त्वलाई विशेष रूपमा स्वीकार गरेका थिए। उनले वर्षको पहिलो राजकीय भ्रमणका लागि सीले प्योङयाङ रोज्नु द्विपक्षीय सम्बन्धप्रतिको “अत्यन्त उच्च महत्त्व” को संकेत भएको बताएका थिए।
विश्लेषकहरूले सीको भ्रमणलाई उत्तर कोरियासँगको सम्बन्ध पुनः सुदृढ गर्ने प्रयासका रूपमा पनि हेरेका छन्। पछिल्लो समय उत्तर कोरियाले रूससँग निकटता बढाइरहेका बेला चीनले आफ्नो रणनीतिक साझेदारलाई पुनः आफ्नो प्रभाव क्षेत्रमा राख्न खोजेको देखिन्छ।
यस भ्रमणमार्फत सी चिनफिङले उत्तर कोरियालाई उसको प्रमुख साझेदार चीन नै भएको सन्देश दिन खोजेको बुझिन्छ।
त्यस्तै, हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आतिथ्यता गरिसकेका सी स्वयं प्योङयाङ पुगेपछि किम जोङ–उनलाई पनि अन्तर्राष्ट्रिय प्रतिबन्धका बाबजुद चीनजस्तो शक्तिशाली मित्र आफ्नो साथमा रहेको अनुभूति भएको हुन सक्छ।
सोमबार साँझ आयोजित समारोहमा सी चिनफिङले चीन–उत्तर कोरिया सम्बन्धको महत्त्वबारे चर्चा गरेका थिए। चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार उनले दुई देश “पहाड र नदीले जोडिएका छन् र उनीहरूको गन्तव्य पनि एउटै छ” भनेका थिए।
किमले पनि यसमा सहमति जनाउँदै उत्तर कोरियाले चीनसँगको मित्रतालाई सर्वोच्च प्राथमिकतामा राख्ने बताएका थिए। साथै उनले चीनको ‘एक चीन नीति’ प्रति समर्थन व्यक्त गरेका थिए।
किमका अनुसार यो भ्रमण “अन्तर्राष्ट्रिय सम्बन्धमा देखिएका उतारचढाव” का बीच दुई देशबीचको गहिरो मित्रताको प्रतीक हो।
सीले भने किमसँग “समयको नाडी पहिचान गर्दै” उच्चस्तरीय संवाद र जनस्तरको सम्बन्धलाई अझ बलियो बनाउन महत्त्वपूर्ण सहमति भएको बताएका थिए।
चीन–उत्तर कोरिया रक्षा सम्झौताको ६५ वर्ष

दुवै नेताले यस वर्ष चीन र उत्तर कोरियाबीच भएको रक्षा सम्झौताको ६५औँ वार्षिकोत्सव रहेको विषयलाई पनि विशेष महत्त्व दिएका थिए। यो चीनले कुनै पनि देशसँग गरेको एकमात्र रक्षा सम्झौता हो।
चीन उत्तर कोरियाको सबैभन्दा महत्त्वपूर्ण राजनीतिक तथा आर्थिक साझेदार हो। परमाणु कार्यक्रमका कारण अन्तर्राष्ट्रिय प्रतिबन्धको सामना गरिरहेको उत्तर कोरियाका लागि चीन जीवनरेखाजस्तै बनेको छ।
यद्यपि उत्तर कोरिया चीनमा निर्भर भए पनि र गठबन्धनमा अपेक्षाकृत कमजोर साझेदार मानिए पनि, यस भ्रमणका क्रममा किम कम्तीमा एउटा महत्त्वपूर्ण विषयमा आफ्नो अडान कायम राख्न सफल देखिए।
सोमबारको वार्ताबारे प्रकाशित सरकारी विवरणहरूमा उत्तर कोरियाको परमाणु निशस्त्रीकरण (डिन्यूक्लियराइजेसन) सम्बन्धी कुनै चर्चा गरिएको थिएन। पछिल्ला वर्षहरूमा चीनले कोरियाली प्रायद्वीपलाई परमाणुमुक्त बनाउने आफ्नो मागलाई कम प्राथमिकतामा राख्दै सार्वजनिक रूपमा पनि यस विषयमा कम बोल्दै आएको छ।
यस भ्रमणमा सीसँग उनका प्रमुख सहयोगीहरू पनि सहभागी थिए, जसमा प्रमुख सचिव छाइ छी, रक्षामन्त्री दोङ जुन, विदेशमन्त्री वाङ यी तथा वाणिज्यमन्त्री वाङ वेन्ताओ रहेका थिए।
मंगलबार दुवै नेताले कोरियाली युद्धमा लडेका चिनियाँ सैनिकहरूको सम्झनामा निर्माण गरिएको फ्रेन्डसिप टावरको भ्रमण गरेका थिए।
सिन्ह्वाका अनुसार उनीहरूले प्योङयाङस्थित एक प्रमुख क्याडर विद्यालयको पनि भ्रमण गरेका थिए, जहाँ दुई देशबीचको दीर्घकालीन मित्रताको प्रतीकस्वरूप देवदारको बिरुवा रोपिएको थियो।
भ्रमणका क्रममा सी प्योङयाङको केन्द्रमा रहेको कुम्सुसान स्टेट गेस्ट हाउसमा बसेका थिए। सन् २०१९ मा उनको पहिलो राजकीय भ्रमणको स्वागतका लागि तयार पारिएको उक्त अतिथिगृहमा रुसी राष्ट्रपति पुटिन तथा बेलारुसका राष्ट्रपति अलेक्जेंडर लुकाशेन्को समेत बसिसकेका छन्।
जहाँ मतभेद पनि देखिए

यति भव्य स्वागत र सार्वजनिक प्रदर्शनका बाबजुद चीन र उत्तर कोरियाबीचका सबै मतभेद भने लुक्न सकेनन्।
आफ्नो सम्बोधनमा सी चिनफिङले यो भ्रमणले “दुवै देशको समाजवादी लक्ष्यका लागि उज्यालो भविष्यको बाटो खोल्ने” अपेक्षा व्यक्त गरेका थिए। यो विषय चीनका लागि विशेष संवेदनशील मानिन्छ।
बेइजिङले लामो समयदेखि उत्तर कोरियालाई चीनको विकास मोडेल अपनाउन प्रोत्साहित गर्दै आएको छ। यस मोडेलमा एकदलीय शासन कायम राख्दै बजार अर्थतन्त्र, वैदेशिक लगानी र अन्तर्राष्ट्रिय व्यापार विस्तार गर्ने अवधारणा समावेश छ।
अमेरिका–उत्तर कोरिया सम्बन्धका विज्ञ सिड्नी साइलरले सामाजिक सञ्जाल एक्समा लेख्दै चिनियाँ विवरणहरूबाट राष्ट्रपति सी केही निराश भएको संकेत मिल्ने बताएका छन्।
उनका अनुसार किमले आर्थिक विकासको कुनै स्पष्ट प्रक्रियाको उल्लेख गरेका छैनन् र “उत्तर कोरियाले अझै पनि चीनको विकास अनुभवबाट सिक्न अस्वीकार गरिरहेको देखिन्छ।”
यसैले, सार्वजनिक रूपमा दुवै नेताले मित्रता र सहकार्यको सन्देश दिए पनि उत्तर कोरियाको आर्थिक विकासको दिशा र सुधारको मोडेलका विषयमा चीन र उत्तर कोरियाबीच मतभेद कायमै रहेको संकेत देखिएको छ।