काठमाडौं। लक्ष्मी हुन्डाईले हुन्डाई मोटर कम्पनीबाट प्रतिष्ठित भारत, मध्यपूर्व तथा अफ्रिका क्षेत्रीय सेवा कार्यसम्पादन पुरस्कार प्राप्त गरेको छ। सवारी साधन बिक्रीपछिको उत्कृष्ट मर्मत-सम्भार सेवा तथा उच्च ग्राहक सन्तुष्टिका आधारमा कम्पनीलाई उक्त सम्मान प्रदान गरिएको हो।
यो सम्मानले सवारी साधन बिक्री मात्र नभई ग्राहकलाई दीर्घकालसम्म गुणस्तरीय सेवा उपलब्ध गराउने कम्पनीको प्रतिबद्धतालाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिएको छ। लक्ष्मी हुन्डाईले बिक्रीपछिको सेवालाई आफ्नो प्रमुख प्राथमिकताका रुपमा विकास गर्दै ग्राहकको विश्वास जित्न सफल भएको जनाएको छ।
कम्पनीले देशभर सेवा केन्द्रहरूको सञ्जाल विस्तार गर्नुका साथै प्राविधिक जनशक्तिको क्षमता अभिवृद्धि र आधुनिक सेवा पूर्वाधार निर्माणमा निरन्तर लगानी गर्दै आएको छ। ग्राहकलाई सहज, भरपर्दो र गुणस्तरीय सेवा उपलब्ध गराउने प्रयासकै परिणाम स्वरूप कम्पनीले यो प्रतिष्ठित पुरस्कार हासिल गरेको बताइएको छ।
अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्दै प्राप्त भएको यो सम्मान नेपाली सवारी साधन क्षेत्रका लागि समेत गौरवको विषय बनेको छ। कम्पनीका अनुसार यो उपलब्धि सम्पूर्ण कर्मचारीहरूको निरन्तर मेहनत, समर्पण र ग्राहकलाई पहिलो प्राथमिकतामा राखेर गरिएको सामूहिक प्रयासको प्रतिफल हो।

यस अवसरमा लक्ष्मी हुन्डाईले आफ्ना सम्पूर्ण ग्राहकप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ। कम्पनीले ग्राहकहरूको अटुट विश्वास र साथबिना यस्तो सफलता सम्भव नहुने उल्लेख गर्दै उत्कृष्ट सेवा प्रदान गर्न योगदान पुर्याउने कर्मचारीहरूको पनि उच्च प्रशंसा गरेको छ।
कम्पनीले यो सम्मानले आगामी दिनमा अझ उत्कृष्ट सेवा प्रदान गर्दै ग्राहक सन्तुष्टि र सेवाको गुणस्तरमा नयाँ मापदण्ड स्थापित गर्न थप प्रेरणा मिलेको जनाएको छ।