काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले आफ्नो २४औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। इप्पानले शुक्रबार साधारणसभा तथा अधिवेशन आयोजना गर्न लागेको हो।
इप्पानका अनुसार २०५७ साल माघ ४ गते आठ सदस्यबाट स्थापना भएको संस्थामा हाल ६८३ सदस्य आबद्ध छन्। संस्थाको विधान २०७८ अनुसार निर्वाचन कार्यतालिका प्रकाशित भइसकेको, उम्मेदवारी दर्ता सम्पन्न भएको तथा अन्तिम नामावलीसमेत सार्वजनिक गरिएको जनाएको छ। बन्दसत्र सम्पन्न भएपछि निर्वाचन प्रक्रिया अघि बढाइने कार्यतालिका तय गरिएको छ।
इप्पानले जेठ २५ गते सम्पन्न २०३औँ कार्यसमिति बैठकबाट सर्वसम्मत रूपमा निर्वाचन कार्यतालिका पारित गरेको तथा महासंघ गठनको विषय र विधान संशोधन सम्बन्धी प्रस्ताव आगामी साधारणसभामा पेश गर्ने निर्णय भएको जनाएको छ।
संस्थाका अनुसार महासंघ गठनसम्बन्धी कानुनी व्यवस्था तथा जिल्ला प्रशासन कार्यालयले निर्धारण गरेका मापदण्डहरूको अध्ययनपछि चैत ४ गते बसेको १९९औँ बैठकले महासंघमा जाने वा विद्यमान व्यवस्थाअनुसार साधारणसभा तथा अधिवेशन गर्ने भन्ने निर्णयको जिम्मेवारी पदाधिकारीलाई दिएको थियो। त्यसपछि चैत १० गते बसेको पदाधिकारी बैठकले महासंघ गठन तत्काल सम्भव नदेखिएको निष्कर्ष निकाल्दै विधान २०७८ अनुसार नियमित साधारणसभा तथा अधिवेशन अगाडि बढाउने निर्णय गरेको थियो।
त्यसैगरी वैशाख ४ गते बसेको २००औँ बैठकले जेठ २९ गते साधारणसभा तथा अधिवेशन आयोजना गर्ने तथा विधान संशोधनको प्रस्ताव ल्याउने निर्णय गरेको थियो। वैशाख २७ गते सम्पन्न २०१औँ बैठकले नयाँ विधानको प्रस्ताव स्वीकृत गर्दै साधारणसभामा प्रस्तुत गर्ने निर्णय गरेको इप्पानले जनाएको छ।
प्रस्तावित विधानअनुसार जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति प्राप्त भएपछि आगामी कार्यकालदेखि वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था हटाइनेछ। अध्यक्ष पदमा उम्मेदवारी दिन कार्यसमितिमा कम्तीमा एक कार्यकाल काम गरेको हुनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ। साथै अन्य पदमा भने योग्य सदस्यले उम्मेदवारी दिन सक्ने गरी २७ सदस्यीय कार्यसमितिको संरचना प्रस्ताव गरिएको छ।
इप्पानले साधारणसभा, महासंघ गठन तथा विधान संशोधनसम्बन्धी सबै निर्णय सर्वसम्मत रूपमा भएको र कुनै सदस्यले असहमति जनाउँदै ‘नोट अफ डिसेन्ट’ नलेखेको स्पष्ट पारेको छ।
संस्थाले हाल केही व्यक्तिबाट इप्पानले अवैधानिक रूपमा निर्वाचन गर्न लागेको तथा महासंघको साधारणसभाको निर्णय कार्यसमितिले खारेज गरेको भन्ने गलत सूचना फैलाइएको दाबी गरेको छ। निर्णय प्रक्रियामा सहभागी भई हस्ताक्षर गरेका व्यक्तिहरूबाटै यस्तो प्रचार हुनु दुःखद भएको इप्पानको भनाइ छ।
इप्पानका अनुसार महासंघ गठनसम्बन्धी प्रतिवेदन, विधान संशोधन प्रस्ताव तथा अन्य आवश्यक दस्तावेज सदस्यहरूलाई पठाइसकिएको छ। निर्वाचन प्रक्रियाअन्तर्गत एक उपमहासचिव र पाँच सचिव पदमा गरी छ जना निर्विरोध निर्वाचित भइसकेका छन् भने बाँकी पदमा आवश्यकभन्दा बढी उम्मेदवारी परेकाले निर्वाचन प्रक्रिया अगाडि बढिसकेको छ।
संस्थाले महासंघ गठन र विधान संशोधनका विषय साधारणसभामै छलफल तथा निर्णय हुने भएकाले भ्रमपूर्ण प्रचारप्रति सचेत रहन सदस्यहरूलाई आग्रह गरेको छ। साथै महासंघ गठनसम्बन्धी प्रस्ताव, विधान संशोधन र निर्वाचन प्रक्रियामा सहभागी हुन सबै सदस्यलाई साधारणसभा तथा अधिवेशनमा उपस्थित हुन अनुरोध गरेको छ।
इप्पानका अध्यक्ष गणेश कार्कीद्वारा जारी विज्ञप्तिमा संस्थाको प्रतिष्ठामा आँच पुग्ने गरी गरिने भ्रामक प्रचारप्रसारबाट टाढा रहन सबै पक्षलाई आग्रह गरिएको छ।