काठमाडौं। साशा इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ। दोलखा जिल्लामा ३० मेगावाट क्षमताको खानीखोला (दोलखा) जलविद्युत आयोजना निर्माण गरिरहेको यो कम्पनीले आईपीओ जारी गर्न इस्युआर रेटिङ गराएको हो।
आयोजनाको निर्माण कार्य झन्डै ९९ प्रतिशत सम्पन्न भइसकेको छ। यद्यपि, आयोजना सम्पन्न हुन ढिलाइ भई लागत बढेको भन्दै क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीको साख (रेटिङ)मा भने कटौती गरेको छ।
इक्रा नेपालले साशा इन्जिनियरिङको इस्युअर रेटिङलाई ‘डबल बी माइनस’बाट घटाएर ‘बी प्लस’ कायम गरेको छ। यस्तै, कम्पनीले बैंकहरूबाट लिएको ५ अर्ब ३८ करोड ५० लाख रुपैयाँ बराबरको दीर्घकालीन ऋणको रेटिङ पनि ‘एल डबल बी माइनस’बाट घटाएर ‘एलबी प्लस’मा झारिएको छ।
इक्राको परिभाषाअनुसार यी रेटिङले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा ‘उच्च जोखिम’ रहेको संकेत गर्छ। आयोजनाको लागत वृद्धि र ऋणको उच्च भारका कारण साख घटाइएको इक्राले जनाएको छ। कम्पनीले आइपिओमार्फत् संकलित पुँजी ऋण भुक्तानी र अन्य पुँजीगत खर्च व्यवस्थापन गर्ने योजना बनाएको छ।
आयोजनाको निर्माणमा भएको ढिलाईका कारण यसको कुल लागत १५ प्रतिशतले बढेर ६ अर्ब ७३ करोड १० लाख रुपैयाँ पुगेको छ। यसअनुसार प्रतिमेगावाट लागत करिब २२ करोड ४० लाख रुपैयाँ पर्न जान्छ। जुन सुरुवाती अनुमानको तुलनामा निकै महँगो हो। लागत बढ्नुमा मुख्यतया निर्माण अवधि लम्बिँदा बैंकलाई बुझाउनुपर्ने ब्याजको हिस्सा ठूलो रहेको प्रतिवेदनमा उल्लेख छ। आयोजनामा ८० प्रतिशत ऋण र २० प्रतिशत स्वपुँजीको लगानी संरचना रहेको छ।
२०८३ जेठको मध्यसम्ममा आयोजनाको ९९ प्रतिशत वित्तीय प्रगति भइसकेको छ। आयोजनाको ‘ड्राइ टेस्ट’ सम्पन्न भइसकेको छ भने अब छिट्टै ‘वेट टेस्ट’ सुरु गर्ने तयारी छ। वन क्षेत्रको जग्गा प्रयोग र रूख कटानको अनुमतिमा भएको ढिलाइका कारण कम्पनीको आफ्नै प्रसारण लाइनका ३ वटा टावर बनाउन बाँकी रहेकाले व्यावसायिक उत्पादनमा केही महिना ढिलाइ भएको हो। आयोजनाको साविकको व्यावसायिक उत्पादन गर्नुपर्ने मिति सन् २०२५ मे २७ सम्म मात्रै थियो। जुन अहिले नाघिसकेको छ।
साशा इन्जिनियरिङमा नेपालको प्रतिष्ठित थामसेर्कु ग्रुपसँग आबद्ध व्यवसायीहरूको मुख्य लगानी रहेको छ। कम्पनीका प्रमुख सेयरधनीमा पवित्र कुमार कार्कीको करिब २३ प्रतिशत, ल्हाक्पा सोनामको ९ प्रतिशत र चन्दा शेर्पाको ९ प्रतिशत सेयर स्वामित्व रहेको छ। कार्की र सोनाम पर्यटन तथा पूर्वाधार क्षेत्रका स्थापित व्यवसायी हुन्। कम्पनीको चुक्ता पुँजी हाल १ अर्ब २४ करोड रुपैयाँ रहेको छ र यो पूर्ण रूपमा प्रवर्द्धकहरूको लगानी हो।
आयोजनाको सबैभन्दा सबल पक्ष भनेको यसको निर्माण सम्पन्न हुन लागेको अवस्था र नेपाल विद्युत प्राधिकरणसँग भएको विद्युत खरिद सम्झौता (पीपीए) हो। प्राधिकरणसँग ‘लेऊ वा तिर’ प्रावधानमा सम्झौता भएकाले उत्पादित बिजुली बिक्री हुने सुनिश्चितता छ। दोलखाकै सिंगटी सबस्टेसनमा बिजुली जोडिने भएकाले प्रसारणको जोखिम पनि कम छ।
यद्यपि, उच्च ऋणको भार, उर्जा उत्पादन अनुमति पत्रको बाँकी छोटो अवधि (करिब २२ वर्ष) र ढिलाइ भएबापत प्राधिकरणलाई तिर्नुपर्ने जरिवाना कम्पनीका लागि मुख्य चुनौती हुन्। साथै, ८० प्रतिशत ऋण रहेकाले बैंकको ब्याजदरमा हुने उतारचढावले कम्पनीको नाफालाई प्रत्यक्ष असर पार्ने देखिन्छ।
आगामी दिनमा समयमै आयोजना सम्पन्न गरी उत्पादन सुरु गर्नु र आईपीओमार्फत पुँजी संकलन गरी ऋणको भार कम गर्नु नै साशा इन्जिनियरिङको मुख्य सफलताको आधार हुने रेटिङ प्रतिवेदनले औँल्याएको छ।