काठमाडौं। आईएमई ग्रुपले आफ्नो स्थापनाको २६औँ वर्षगाँठमा विशेष कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा समूहको विगतको यात्रा र भविष्यको दिशालाई लिएर समूहका शीर्ष नेतृत्वले आफ्ना धारणा राखेका थिए।
कार्यक्रमको मुख्य सन्देश स्पष्ट थियो- इमानदारी र पूर्ण समर्पणका साथ अघि बढ्ने हो भने व्यवसाय वा जीवनमा कुनै पनि लक्ष्य असम्भव हुँदैन।
सानो कोठाबाट उदाएको साम्राज्य
समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले आफ्नो ३५ वर्ष लामो व्यावसायिक यात्रा सम्झिए। सुरुवाती दिनहरूको कठिनाइलाई कार्यक्रममा उल्लेख गरे। एक समय थियो- जब सम्पूर्ण व्यवसाय एउटा सानो कोठाबाट सञ्चालन हुन्थ्यो, त्यही कोठा अफिस थियो, भान्सा पनि थियो। रात बिताउने ठाउँसमेत त्यही थियो। फलामको साधारण खाट र एउटा सानो कुकरमै दिनचर्या चलेको त्यो समय आजको आधुनिक र सुविधा सम्पन्न कार्यालयसँग तुलना गर्दा कल्पनातीत लाग्ने उनले स्मरण गरे।
-1775364878-1775665355.jpg)
उनको दृष्टिमा, आईएमईको यात्रा कुनै एक व्यक्तिको सफलता होइन, टिमको सामूहिक मिहिनेत र साझा स्वामित्वको नतिजा हो। उनले जोड दिए, 'जब सबैले मिलेर जिम्मेवारी बहन गर्छन्, तब ठूला पूर्वाधार र व्यावसायिक योजनाहरू पनि सहजै साकार हुन सक्छन्। यही सामूहिक भावनालाई निरन्तरता दिँदै आगामी दिनमा थप ठूला परियोजनामा लगानी विस्तार गर्ने र नयाँ उचाइ हासिल हुन्छ।'
समूहको सुरुवाती दिनलाई फर्केर हेर्दा, रेमिट्यान्स सेवाबाट सुरु भएको यो व्यवसायको मुख्य उद्देश्य फरक थियो। विदेशमा श्रम गरिरहेका नेपालीहरूको पैसा अनौपचारिक माध्यम (हुन्डी)बाट होइन, औपचारिक र भरपर्दो प्रणालीमार्फत परिवारसम्म सुरक्षित रूपमा पुग्ने वातावरण बनाउने। २६ वर्षको अवधिमा यहीँ जगबाट सुरु भएको यफ समूह आज बैंकिङ तथा वित्तीय संस्था, बीमा, पर्यटन, पूर्वाधार विकास, सूचना प्रविधि र डिजिटल पेमेन्टसम्म फैलिएको छ।
रेमिट्यान्सको यात्रा फाइनान्सियल इकोसिस्टमसम्म
कार्यक्रमलाई सम्बोधन गर्ने अर्का नेतृत्वले समूहको पहिचानमा आउने ठूलो परिवर्तनको संकेत दिए। आईएमई केवल रेमिट्यान्स कम्पनी मात्र नभई पूर्ण रूपमा एकीकृत वित्तीय प्रणाली (फाइनान्सियल इकोसिस्टम) बन्ने दिशामा अघि बढिरहेको बताए। बजारको बदलिँदो प्रकृति र आवश्यकताअनुसार आफूलाई परिमार्जन गर्दै जाने आवश्यकतालाई उनले प्राथमिकतामा राखे।
उनका अनुसार व्यक्तिदेखि-व्यक्तिसम्म रेमिट्यान्स सेवामा कम्पनीले बजारमा पहिले नै ठूलो प्रभुत्व जमाइसकेको छ। अब ध्यान व्यवसायदेखि-व्यवसाय (बीटुबी) सेवामा केन्द्रित हुनेछ। उनले बीटुबी सेवालाई कम्पनीको भविष्यको विकास र विस्तारको "गेम चेन्जर" को रूपमा परिभाषित गरे।
-1775364881.jpg)
उदाहरणका रूपमा, अन्तर्राष्ट्रिय डिजिटल पेमेन्ट कम्पनीसँगको हालैको साझेदारीलाई स्पष्ट रहेको थियो। जसले खल्ती वालेटमार्फत विदेशबाट रकम भित्र्याउने प्रक्रियालाई सहज बनाएको दाबी गरिएको छ। यसैगरी, नेपाली उत्पादन र सेवा विश्व बजारमा पुर्याउने व्यवसायीका लागि समेत बलियो वित्तीय सेवा उपलब्ध गराउनुपर्ने आवश्यकतामा जोड दिएको थियो।
प्रविधि र भविष्यको चुनौती
आर्टिफिसियल इन्टेलिजेन्स र मेसिन लर्निङजस्ता नवीनतम प्रविधि अंगीकार गर्नु अहिलेको समयको माग र बाध्यता दुवै भएको उनको भनाइ थियो। तर प्रविधि जति विस्तार हुँदै जान्छ, त्यति नै सुरक्षा र भरपर्दोपनको चुनौती पनि बढ्दै जाने भएकाले वित्तीय कारोबारलाई थप सुरक्षित बनाउनु अहिलेको ठूलो चुनौती रहेको उनले स्वीकार गरे।
कम्पनीको रूपान्तरण प्रक्रियाबारे थप स्पष्ट पार्दै, सुरुमा मनी ट्रान्सफरका रूपमा मात्र चिनिएको आईएमई अब बैंकिङ, बीमा र डिजिटल वालेट सेवालाई एकै ठाउँमा समेटेर एकीकृत वित्तीय सेवा दिने दिशामा अघि बढिसकेको उल्लेख गरिएको थियो।
-1775364884.jpg)
एउटै प्लेटफर्मबाट डिजिटल र भौतिक दुवै माध्यमबाट गुणस्तरीय सेवा दिनु लक्ष्य रहेको र नियामक निकायको अपेक्षाअनुसार कम्प्लायन्स प्रणालीलाई थप प्रभावकारी बनाउन नयाँ टुल्स र प्रविधि अपरिहार्य भएको जानकारी दिएका थिए।
नवप्रवर्तन र भविष्यको दिशा
कार्यक्रमको अन्त्यमा कर्मचारीहरूलाई "नवप्रवर्तक"को संज्ञा दिँदै सधैँ नयाँ सोच र अवधारणा लिएर आउन प्रोत्साहित गरिएको थियो। नयाँ काम गर्ने क्रममा हुने असफलतालाई पनि सिकाइको महत्त्वपूर्ण हिस्साका रूपमा लिनुपर्ने सुझाव दिँदै ग्राहकको अपेक्षा निरन्तर परिवर्तन भइरहने हुनाले कम्पनीहरूले पनि सोहीअनुरूप निरन्तर सिक्दै जानुपर्ने र समयसँगै नचलेका कम्पनीहरू बजारबाट पछि पर्ने स्मरण गरिएको थियो।
विश्व बजारको पछिल्लो प्रवृत्तिअनुरूप समूहलाई थप प्रतिस्पर्धी र ग्राहकमुखी बनाउँदै लैजाने प्रतिबद्धता कार्यक्रमको साझा निष्कर्षका रूपमा रहेको छ।