काठमाडौं। आर्थिक वर्ष २०८३/८४ को बजेटमा आन्तरिक रुपमा उत्पादन हुने मदिरा र वाइनमा सरकारले ठूलो राहत दिएको छ। विदेशबाट आयात हुने महँगा मदिराको कर बढाउँदै कठोर नीति लिएको सरकारले स्वदेशी ब्राण्डी र वाइनमा ८० प्रतिशत अन्तःशुल्क छुट दिने भएको हो।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक ऐनमा उल्लेख गरेको विवरणअनुसार औद्योगिक व्यवसाय ऐन, २०७६ को अनुसूची १० मा उल्लेख भएका अति अविकसित क्षेत्रमा स्थापित स्थानीय फलफूलमा आधारित उद्योगबाट उत्पादित ब्राण्डी, वाइन र साइडरको उत्पादनमा अन्तःशुल्क दरबन्दीअनुसार लाग्ने अन्तः शुल्कमा ८० प्रतिशत छुट हुनेछ।
स्वदेशमा उत्पादन हुने शीर्षक २२.४,२२.५, उपशीर्षक २००६.२९, २००६.००.५१, २००६.००.५२ र २००६.००.५३ मा पर्ने वाइन र उपशीर्षक २२०६.००.२१ मा पर्ने ताजा फलफूलबाट उत्पादन हुने सेम्पेन र साइडरमा लाग्ने अन्तःशुल्कमा ४० प्रतिशत छुट हुने छ।
यस्तै, शतप्रतिशत स्थानीय उत्पादनमा आधारित कच्चा पदार्थ प्रयोग गरी वाइन उत्पादन गरेमा ५० प्रतिशत छुट हुनेछ। तर, द्रष्ट्रव्यको दफा(८)मा पर्ने उद्योगलाई यस बमोजिमको छुट सुविधा प्राप्त नहुने जनाएको छ।
किसमिसलगायतका सुख्खा फलफूल, ग्रेप जुस कन्सन्ट्रेट वा फ्रुट जुस कन्सन्ट्रेटबाट उत्पादन हुने उपशीर्षक २२०६.००.९० मा पर्ने वाइनमा लाग्ने अन्तःशुल्कमा ३० प्रतिशत छुट पाउने छन्।
वाइन उत्पादक संघका अध्यक्ष आश्रय रञ्जितकारले फलफूलबाट मात्र बनेको वाइनमा सरकारले दिएको छुटले धेरै उद्योगलाई फाइदा पुग्ने बताउँछन्। ‘अहिलेको बजेटले स्वदेशी फलफूल प्रयोग गरेर वाइन उत्पादन गर्ने उद्योगलाई पूर्ण रुपमा प्रोत्साहन गरेको पाइन्छ,’ अध्यक्ष रञ्तिकारले भने, ‘यसमा हामीले सरकारलाई धन्यवाद दिइसकेका छौँ, अब आन्तरिक बजारमा मात्र हैन विदेशमा निर्यातको समेत बाटो खुलेको छ।’
करको दरका कारण विदेशी वाइनसँग स्वदेशी वाइनले प्रतिस्पर्धा गर्न नसकिरहेको बेला सरकारले लिने अन्तःशुल्कमा दिने भनिएको छुटले ठूलो राहत पुग्ने भएको छ। यस्तै, धेरै उद्योगको उत्पादन क्षमतासमेत बढाउने निश्चित रहेको अध्यक्ष रञ्जितकारको भनाइ छ। उनी मनाङ भ्याली वाइनसँग आबद्ध छन्।
यता, विदेशबाट आयात हुने वाइनको महसुल बढाएको छ। नयाँ करअनुसार १२ प्रतिशतसम्म र १२ देखि १७ प्रतिशतसम्म अल्कोहल भएको वाइनमा प्रतिलिटर ४९० रुपैयाँ तोकेको छ। १७ प्रतिशतभन्दा बढी अल्कोहल भएका वाइननमा साबिकको प्रतिलिटर ३०० वा मूल्यको ८० प्रतिशतलाई संशोधन गर्दै लिटरमा ५७० रुपैयाँ पुर्याएको छ।
नयाँ आर्थिक विधेयकअनुसार स्वदेशमा उत्पादन हुने मदिराको हकमा ४० युपीको मात्र अन्तःशुल्क बढाएको छ। नयाँ अन्तःशुल्क अनुसार ४० युपीको मदिरा आयातमा लिटरको ६५० रुपैयाँ अन्तःशुल्कमा लाग्नेमा अब लिटरेको ६९० पुगेको छ। यस्तै बियरको अन्तःशुल्क प्रतिलिटर २५५ रुपैयाँ बनाएको छ।