काठमाडौं। काठमाडौं महानगरले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगरसभाको १९औँ अधिवेशनको पहिलो बैठकमा कार्यबाहक मेयर सुनिता डंगोलले नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन्।
यो पटकको विगत वर्षमा जस्तै काठमाडौँको ऐतिहासिकता, सांस्कृतिक सम्पदा, भौतिक र आधुनिक सहरी सभ्यतालाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तर्जुमा गर्दा प्रमुख आधारको रुपमा लिएको डंगोलले जानकारी दिइन्। परिवर्तित परिवेश र काठमाडौंवासीको उत्कृष्ट चाहनालाई सम्बोधन गर्ने लक्ष्य राखी नीति तथा कार्यक्रम तयार गरेको उनको भनाइ थियो।
त्यसैगरी यो पटकको नीति तथा कार्यक्रमले मौलिक, ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय र सुशासनयुक्त महानगर निर्माण गर्ने कार्यमा सघाउ पुग्ने अपेक्षा लिएको पनि उनले जानकारी दिइन्।
‘आगामी आर्थिक वर्ष २०८३/८४ को लागि नगरसभाको यस बैठकमा प्रस्तुत भएको काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रमको कार्यान्वयनबाट संघीय राजधानी काठमाडौँको अपेक्षित लक्ष्य हासिल हुने अपेक्षा गरेको छु,’ उनले भनिन्, ‘काठमाडौं महानगरलाई समावेशी, सुशासनयुक्त, प्रविधिमैत्री, सुरक्षित, स्वच्छ, स्वस्थ, हरित र नवप्रवर्तनमुखी स्मार्ट सहरको रुपमा रुपान्तरण गर्दै आर्थिक समृद्धि, सामाजिक न्याय, सेवा प्रवाहको गुणस्तर अभिवृद्धि, संस्कृति तथा सम्पदा संरक्षण र दिगो सहरी विकासलाई सुनिश्चित गर्ने लक्ष्यसहित आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्ताव गरेको छु।’
काठमाडौं महानगरले शहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन सामाग्रीहरुलाई पूर्णतः निषेध गर्ने
नीति तथा कार्यक्रममा सुशासन तथा शासकीय प्रबन्धलाई प्राथमिकतामा राखिएको छ। ‘कार्यालयको सूचना सम्प्रेषण गर्न तथा गतिविधी प्रचारप्रसार गर्न कार्यालयको वेवसाइट, आधिकारिक मल्टिमिडिया च्यानलहरू तथा डिजिटल प्लेटफर्महरूको प्रयोग गरिनेछ र स्रोत साधनको विनियोजनलाई थप मितव्ययी, पारदर्शी र नतिजामुखी बनाइनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘कर्मचारीहरूको कार्यक्षमता अभिवृद्धि गरी महानगरपालिका र सबै वडा कार्यालयहरूमा सञ्चालित एकद्वार सेवा केन्द्र सञ्चालन गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘काठमाडौँ महानगरले सम्पादन गर्ने कार्य सम्बद्ध विषय क्षेत्रमा विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई ‘सिक्दै जाँदा कमाउनुहोस्’ अवधारणा अनुसार इन्टर्नशिप, फेलोशिप तथा ‘पार्ट टाइमा इन्गेजमेन्ट’ कार्यक्रम सञ्चालन गरिनेछ।’
त्यसैगरी स्थानीय विवाद समाधानमा मेलमिलाप प्रकृयालाई प्राथमिकता दिई न्याय निरुपण कार्यलाई छिटो, छरितो र पहुँचयोग्य बनाउने, शहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन सामाग्रीहरुलाई पूर्णतः निषेध गर्ने, शहरी सुव्यवस्थापनका लागि महानगर प्रहरी बलको परिचालन गर्ने नेपाल प्रहरी तथा अन्य सुरक्षा निकाय, समुदाय र सम्बद्ध संघसंस्थाहरु समेतको सहकार्य र समन्वयलाई प्रवर्धन गर्ने जस्ता कार्यक्रम पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ।
‘सवारी पार्किङ्ग व्यवस्थापन सम्बन्धमा अध्ययन गरी कार्यान्वयन गरिनेछ। नयाँसडक र आसपासको क्षेत्रमा देखिएको पार्किङ्ग समस्याको दीगो व्यवस्थापनको लागि नेपाल वायु सेवा निगमको नयाँसडक गेटस्थित घरजग्गालाई बहुतले पार्किङ्ग प्रयोजनमा उपयोग गर्न नेपाल सरकारमार्फत् पहल गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ,’ ‘विश्वका शहरहरुका असल अभ्यासबाट ज्ञान हासिल गरी प्रविधि हस्तान्तरण, सूचना तथा साँस्कृतिक आदान प्रदान आदिका माध्यमबाट काठमाडौं शहरको सर्वाङ्गिण विकासमा टेवा पुर्याउन ‘सवनेशनल डिप्लोमेसी’ को असल अभ्यास गरिनेछ।’
काठमाडौं महानगरले ‘जेनजी, जेन एल्फा’ विशेष कार्यक्रम सञ्चालन गर्ने
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा महानगरले महिला, बालबालिका, ज्येष्ठ नागरिक, आदिवासी, जनजाति, अपाङ्गता भएका व्यक्ति, दलित, संरक्षणविहिन व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसंख्यक, एकल महिला, शहिदका परिवारलगायत पछाडि परेका समुदायको विकासका लागि लक्षित वर्गमैत्री शसक्तीकरण कार्यक्रम सञ्चालनमा ल्याएको छ।
नगरसभाको बैठकमा कार्यबाहक मेयर डंगोलले भनिन्, ‘एक वडा एक नमूना कार्यक्रमको प्रभावकारी कार्यान्वयन तथा दिगोपना सुनिश्चित हुने गरी एक वडा एक नमूना कार्यक्रमलाई संस्थागत गरिनेछ। ज्येष्ठ तथा अशक्त नागरिकसँग महानगर अभियान सञ्चालन गरी ज्येष्ठ तथा अशक्त नागरिकको घरमै स्वास्थ्य तथा परामर्श सेवा निःशुल्क उपलब्ध गराईनेछ। ७५ बर्ष उमेर पुरा भएका बरिष्ठ ज्येष्ठ नागरिकहरु तथा पूर्ण अशक्त अपाङ्गता भएका महानगरवासीलाई पोषण भत्ता उपलब्ध गराइनेछ।’
त्यसैगरी महानगरले सहयोगापेक्षी सडक आश्रित मानवमुक्त काठमाडौँको घोषणालाई साझेदार निकायहरुको समन्वय र सहकार्यमा प्रभावकारी कार्यान्वयन गरी ‘मानवीयताको शहर’ भन्ने मूल सन्देशलाई कार्यान्वयन गर्ने, काठमाडौँ महानगरले आधुनिक तथा पराम्परागत ज्ञान, सीप तथा कलाको प्रमाणीकरण गरी प्रमाणपत्र जारी गर्ने प्रबन्ध गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
‘महानगर क्षेत्रका टोल, विद्यालय, पार्क र समुदायमा चरा चुरुङ्गीमैत्री अभ्यासहरू सञ्चालन गर्दै चरा चुरुङ्गीहरूका लागि पानी उपलब्ध गराउन पानी पात्र स्थापना गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘सम्मानित राष्ट्रिय व्यक्ति र नवयुवा पुस्ता ‘जेन जेड, जेन एल्फा’ विशेष कार्यक्रम सञ्चालन गरिनेछ। नवयुवा पुस्तालाई सुशासनका संवाहक मानी उनीरुको सुझाव तथा आवश्यकतामा सहकार्य गरिनेछ।’
सृजनात्मक शुक्रबार कार्यक्रमलाई प्राथमिकता
महानगरले सबैका लागि शिक्षा तथा समावेसी शिक्षाको सुनिश्चित गर्न अटिजम, डाउन सिन्ड्रोमलगायत अपाङ्गता भएका तथा जोखिममा रहेका बालबालिकाका लागि विशेष विद्यालय, ज्येष्ठ नागरिक तथा गृहणी विद्यालय र वैकल्पिक विद्यालय स्थापना, सञ्चालन र व्यवस्थापन गरी अन्तरपुस्ता क्रियाकलापलाई प्रवर्द्धन गर्ने भएको छ।
विद्यालय र सामुदायिक अध्ययन केन्द्रलगायतका स्थानमा स्वास्थ्यकर्मी सहितको प्राथमिक स्वास्थ्य सेवा तथा पोषणसम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ। साथै दिवा शिशु स्याहार केन्द्र स्थापना तथा सञ्चालन गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘विद्यालय शिक्षालाई अनुसन्धानमुलक बनाउन सूचना प्रविधिको अधिकतम प्रयोग गरिनेछ। विद्यार्थीको सृजनशील सिकाई र सिप विकासका लागि विद्यालयमा सिप तथा सृजनात्मक शुक्रबार कार्यक्रम सञ्चालन गरी पाठ्यक्रममा आधारित अतिरिक्त शैक्षिक क्रियाकलापहरु समेत सञ्चालन गरिनेछ। सृजनात्मक शुक्रबार कार्यक्रममा मूलतः सृजनात्मक सिकाई, सीपमूलक तालिम तथा खेलकूद सम्बन्धी गतिविधिहरु सञ्चालन हुनेछन्।’
त्यसैगरी विद्यालयको असल अभ्यास तथा अनुभव आदानप्रदान गर्न विद्यालय–विद्यालय साझेदारी कार्यक्रम सञ्चालन गर्ने, भाषा, सँस्कृति, सम्पदा, पर्यटन र प्राविधिक विषयमा विशेषज्ञ जनशक्ति उत्पादन गर्न काठमाडौँ महानगरपालिकाले स्वनिगः विश्वविद्यालय स्थापना गरी सञ्चालन गर्न नेपाल सरकारसँग समन्वय गर्ने, खेलाडीहरुलाई ऊर्जाशील तथा व्यवसायिक बनाउन महानगरले विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन गर्न सहजीकरण गर्ने साथै खेल प्रतिभा पहिचान गरी सम्मान तथा प्रोत्साहन गर्ने पनि उल्लेख गरिएको छ।
विपन्न तथा असहाय नागरिकलाई १० प्रतिशत निःशूल्क उपचारको व्यवस्था
महानगरले आरोग्य जीवनका लागि आयुर्वेद, वैकल्पिक चिकित्सा, योग, व्यायाम, प्राणायाम तथा ध्यानमार्फत शारीरिक, मानसिक, आत्मिक स्वस्थ जीवनशैली पद्धतिको प्रवद्र्धन गर्ने भएको छ।
‘निःशुल्क एम्वुलेन्स सेवालाई निरन्तरता दिँदै महानगर क्षेत्रभित्रका साँघुरा सडक र बढ्दो सवारी चापलाई मध्यनजर गर्दै बाईक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याईनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘महानगरवासीको मृगौला रोगको उपचारका लागि डायलसिस सेवालाई सहजीकरण गरिनेछ। मातृशिशु तथा प्रजनन स्वास्थ्य सेवा सम्बन्धी विशेष कार्यक्रम सञ्चालन गरिनेछ। सार्वजनिक स्थानमा ‘स्तनपान र हेरचाह ब्लकहरू’ सेवाको व्यवस्थापन गरिनेछ। महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका अस्पताल तथा स्वास्थ्य संस्थाहरुको नियमन तथा अनुगमन गरी गुणस्तरीय सेवा प्रवाहको लागि प्रोत्साहन गरिनेछ। साथै विपन्न तथा असहाय नागरिकलाई १० प्रतिशत निःशूल्क उपचार गर्ने व्यवस्थालाई कडाईकासाथ लागु गरिनेछ।’
महानगरवासीलाई गुणस्तरीय र विशिष्ट स्वास्थ्य सेवा प्रवाह गर्न महानगर अस्पताल निर्माण गर्ने, परिवर्तित जीवनशैलीका कारण तिव्र रुपमा उत्पन्न मानसिक स्वास्थ्य समस्या न्यूनिकरण गर्न मनोपरामर्श सेवा र कल सेन्टर सञ्चालनमा ल्याउने, ज्येष्ठ नागरिकका लागि निमोनिया खोप, महानगरवासीको स्वास्थ्य परीक्षण, स्वास्थ्य संस्थाहरुसँगको सहकार्यमा नियमित सेवा र आकस्मिक स्वास्थ्य शिविरहरु सञ्चालन गर्ने कुरालाई पनि महानगरपालिकाले प्राथमिकतामा राखेको छ।
महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहरमैलाको व्यवस्थापन गर्ने
फोहर निःशुल्क, सशुल्क, न्यूनीकरण, सृजनात्मक पुनः चक्रिय प्रयोग आधारित ‘सर्कुलर इकोनोमी’ लाई प्रबद्र्धन हुने गरी महानगर क्षेत्रलाई ७ क्लस्टरमा विभाजन गरी प्रविधिको प्रयोगमार्फत फोहरमैलाको उचित व्यवस्थापन गर्ने भएको छ।
‘स्थानान्तरण केन्द्रबाट निस्काशित न्यून फोहरलाई बन्चरे डाँडा ल्याण्डफिल साइटमा मेकानाइज्ड मेटेरियल रिकभरी फ्यासिलिटी सञ्चालन गरी फोहरको वैज्ञानिक व्यवस्थापन गरिनेछ, काठमाडौँ महानगर क्षेत्रभित्र रहेका सार्वजनिक तथा खाली स्थानहरुलाई बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री पार्कका रुपमा विकास तथा विस्तार गर्दै लगिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘फोहरमैला व्यवस्थापन सेवा शुल्कलाई प्रदुषकले तिर्ने सिद्धान्त अनुरुप एकद्धार प्रणाली मार्फत शुल्क सङ्कलन गर्ने व्यवस्था मिलाईनेछ। बन्चरेडाँडा ल्यान्डफिल साईटमा फोहरमैला विसर्जन गर्ने प्रत्येक स्थानीय तहबाट फोहरको परिमाण र प्रकृतिको आधारमा वित्तिय साझेदारी गर्न पहल गरिनेछ।’
फोहरमैला व्यवस्थापनलाई अनलाईन एपका माध्यमवाट सूचना तथा विवरण महानगर सम्बद्ध कार्यालय, सेवाप्रदायक र सेवाग्राहीको पहुँचमा हुने विशेष प्रबन्ध मिलाउने, उचित प्रविधिको प्रयोग गरी वायू, जल, जमिन, ध्वनी, दृष्य आदि प्रदुषण नियन्त्रण गर्ने, सङ्घ, प्रदेश तथा अन्य स्थानीय सरकारसँगको समन्वय, सहकार्य र साझेदारीमा वातावरण संरक्षण तथा प्रदुषण नियन्त्रण तथा न्यूनीकरणका कार्यक्रम सञ्चालन पनि नीति तथा कार्यक्रममा उल्लेख छ।
एकीकृत करदाता परिचय नम्बर लागू गर्ने
काठमाडौं महानगरले असुल गर्ने बहाल र व्यवसाय करलाई वैज्ञानिक, न्यायोचित र करदातामैत्री बनाउन प्रयोजन र स्थान विशेष क्षेत्रका आधारमा करका दर निर्धारण गर्ने प्रबन्ध मिलाउने भएको छ।
‘करको दायरामा नआएका करदाताको पहिचान गरी कर तिर्न उत्प्रेरित गर्ने, उपयुक्त छुट सुविधा प्रदान गर्ने, करदातालाई राजश्व सेवा सम्बन्धी सूचना, जानकारी तथा महानगरको सन्देश एसएमएसमार्फत् सम्प्रेषण गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘महालेखा नियन्त्रक कार्यालयबाट तयार गरिएको स्थानीय तहको राजस्व व्यवस्थापन प्रणाली (सूत्र) लागू गर्न आवश्यक प्रबन्ध मिलाइनेछ। एकीकृत करदाता परिचय नम्वर पूर्ण रुपमा लागू गरिनेछ। बहालमा लिए दिएका घररजग्गारअन्य संरचनारसम्पतिहरुको अनिवार्य दर्ता गर्ने व्यवस्था गरिनेछ।’
निःशुल्क पिउने पानीसँगै सार्वजनिक शौचालयको अवधारणा कायमै
महानगरले शहरी योजनाअन्तर्गत आवधिक, रणनीतिक तथा क्षेत्रगत योजना तर्जुमा गरी कार्यान्वयनमा ल्याउने भएको छ। नीति तथा कार्यक्रममा यो उल्लेख गरेको हो।
विपद् व्यवस्थापनसँग सम्बन्धित सूचना तथा विवरणहरुलाई भौगोलिक सूचना प्रणालीमा आवद्ध गरिनेछ। मनसुनजन्य विपद् जोखिम न्यूनीकरणका लागि मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना स्वीकृत गरी कार्यान्वयनमा ल्याइनेछ। मौषमजन्य विपद् व्यवस्थापनका लागि आवश्यक पूर्वतयारी तथा प्रतिकार्यलाई प्राथमिकतामा राखिनेछ।
विद्यालय, अस्पताल, होटल, सपिङ मल, सार्वजनिक भवन तथा बहुउद्देश्यीय संरचनाहरुको विपद् सुरक्षा मापदण्ड तर्जुमा गरी सो को प्रभावकारी कार्यान्वयन, सुपरीवेक्षण तथा नियमित सुरक्षा परीक्षण कार्यक्रम सञ्चालन ल्याउने पनि महानगरपालिकाले जानकारी दिएको छ।
‘सार्वजनिक निजी साझेदारीमा सञ्चालित परियोजनाहरुको विस्तृत अध्ययन गरी आवश्यक सुधारको लागि सम्बद्ध पक्षसँग भएको सम्झौता पुनरावलोकन गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘महानगरवासीको स्वच्छ पिउने पानीको हकलाई प्राथमिकतामा राखी सहज, सुलभ र गुणस्तरीय पानी वितरणमा सम्बद्ध निकायहरुसँग समन्वय र सहकार्य गरिनेछ। निःशुल्क पिउने पानी तथा सार्वजनिक शौचालयको अवधारणालाई निरन्तरता दिन थप स्थानहरुमा खानेपानी वुथ तथा सार्वजनिक शौचालयको निर्माण गरिनेछ।’