काठमाडौं। नेपालको राइड सेयरिङ र फुड डेलिभरी बजारमा बलियो पकड बनाएको ‘पठाओ नेपाल’ले अब आफ्नो सेवालाई व्यापक रूपमा विस्तार गर्ने योजना बनाएको छ। राइड सेयरिङबाट यात्रा सुरु गरेको पठाओ अब केवल एउटा एपमा सीमित नरही नेपालीहरूको दैनिक जीवनका हरेक आवश्यकता (सामान किन्ने, घर मर्मत गर्ने, यात्रा गर्ने) पूरा गर्ने ‘सुपर एप’ बन्ने दिशामा अग्रसर देखिएको छ।
कम्पनीले आगामी पाँच वर्षभित्र नेपालको डिजिटल अर्थतन्त्रलाई बढाउने लक्ष्यका साथ ई-कमर्स, घरमै मर्मत सेवा र होटल बुकिङ जस्ता नयाँ क्षेत्रमा प्रवेश गर्ने तयारी गरेको हो।
पठाओका प्रबन्ध निर्देशक यशु थकालीका अनुसार अब पठाओ केवल राइड सेयरिङ वा फुड डेलिभरीमा मात्र सीमित रहने छैन। ‘व्यवसायी, अनलाइन बिक्रेता र सेवा प्रदायकलाई केन्द्रमा राखेर ‘पठाओ ई-कमर्स’ प्लेटफर्म सञ्चालनमा ल्याउने तयारी भइरहेको छ,’ प्रबन्ध निर्देशक थकालीले भने, ‘जसले अनलाइन व्यापारलाई अझ व्यवस्थित, प्रभावकारी र पहुँचयोग्य बनाउने लक्ष्य राखेको छ।’
पठाओले न्यूनतम कमिसन र द्रुत गतिको डेलिभरी मोडलसहित आफ्नै ई-कमर्स प्लेटफर्म र अनलाइन बिक्रेताका लागि विशेष सफ्टवेयर ल्याउने उनको भनाइ छ। उनका अनुसार अनलाइन व्यवसाय गरिरहेका बिक्रेताहरूको समस्यालाई मध्यनजर गर्दै पठाओले ई-कमर्स प्लेटफर्म संचालन गर्ने तयारी गरेको हो। कम्पनीले विगत ३-४ महिनादेखि बिक्रेताहरुको ‘पेन पोइन्ट’ बुझेर काम गरिरहेको छ।
‘अहिले अनलाइन व्यापारीहरुले फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपका म्यासेजहरू हेर्न छुट्टाछुट्टै कर्मचारी राख्नुपर्ने बाध्यता छ। पठाओले यी सबै च्याटहरूलाई एउटै ठाउँमा ल्याउने छ। च्याट गर्दागर्दै त्यहीँबाट तुरुन्तै अर्डर क्रिएट गर्न मिल्ने छ,’ थकाली भन्छन्, ‘ग्राहकले च्याटमा पठाएको नाम, ठेगाना र फोन नम्बरलाई एआईले आफैं पढ्ने गरेर आवश्यक विवरण तान्नेछ र म्यानुअल इन्ट्री नगरीकन स्वतः अर्डर कन्फर्म गरिदिने छ।’ यसले अर्डर मिस हुने सम्भावना शून्य बनाउनुका साथै २० जनाको काम थोरै जनशक्तिबाटै सम्भव हुने उनको भनाइ छ।
कम्पनीका अनुसार अनलाइन व्यवसायीहरुले पठाओको प्रणाली प्रयोग गरेर १५ मिनेटभित्र आफ्नै वेबसाइट निर्माण गर्न सक्ने छन्।
कम्पनीले विकास गरिरहेको ‘पठाओ ई-कमर्स’ प्लेटफर्म विशेष गरी अनलाइन सामान बिक्री गर्ने व्यवसायीहरूलाई लक्षित हुनेछ। हाल अनलाइन व्यवसाय सञ्चालन गर्नेहरूले वेबसाइट, फेसबुक, इन्स्टाग्राम, दराजलगायत विभिन्न प्लेटफर्म छुट्टाछुट्टै व्यवस्थापन गर्नुपर्ने झन्झट भोगिरहेका छन्। पठाओले भने यी सबै प्लेटफर्मलाई एउटै प्रणालीमा जोडेर व्यवसायीले आफ्नो उत्पादन, मूल्य, स्टक र सामग्री एकै ठाउँबाट अपडेट गर्न सक्ने व्यवस्था ल्याउन लागेको जनाएको छ।
कम्पनीका अनुसार अनलाइन व्यवसायीहरुले पठाओको प्रणाली प्रयोग गरेर १५ मिनेटभित्र आफ्नै वेबसाइट निर्माण गर्न सक्ने छन्। यदि, पहिले वेबसाइट सञ्चालनमा छ भने त्यसलाई पनि प्लेटफर्मसँग जोड्न सकिने छ। यसले विभिन्न प्लेटफर्ममा छुट्टाछुट्टै अपडेट गर्नुपर्ने समस्या अन्त्य हुनेछ।
प्रबन्ध निर्देशक थकालीका अनुसार साना तथा ठूला अनलाइन व्यापारीहरूले पठाओको प्लेटफर्म प्रयोग गरी १५ मिनेटमा आफ्नो व्यावसायिक वेबसाइट बनाउन सक्ने छन्। व्यापारीहरूले फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपमा आउने म्यासेजहरूलाई एउटै प्रणालीबाट व्यवस्थापन गर्न सक्ने छन्। जसले गर्दा अर्डरहरू छुट्ने सम्भावना कम हुनेछ।
साथै, व्यापारीहरूले आफ्नो विज्ञापनमा भएको खर्च र त्यसबाट भएको बिक्रीको विश्लेषण गर्न फेसबुक पिक्सेल र गुगल एनालिटिक्स जस्ता टूल्सहरू एउटै ड्यासबोर्डमा हेर्न पाउने छन्। पठाओले १ घण्टाभित्रै डेलिभरी, ४ घण्टाभित्र डेलिभरी र अर्को दिन डेलिभरी हुने गरी तीन तहको सेवा सञ्चालन गर्ने योजना बनाएको छ। दराजले काठमाडौँभित्रै पनि २-३ दिन लगाउने गरेकोमा पठाओले इन्स्ट्यान्ट डेलिभरीलाई प्राथमिकता दिने उनको भनाइ छ।
पठाओका राइडर नै प्लम्बर र इलेक्ट्रिसियन
पठाओले हालै ‘मर्मत सेवा’को प्रोजेक्ट सुरु गरिसकेको छ, जसमा प्लम्बिङ र इलेक्ट्रिसियन सेवाहरू उपलब्ध छन्। अहिले परीक्षणको रुपमा सुरु गरिएको यो सेवामा विज्ञापन नगरे पनि दैनिक १० देखि १५ वटा बुकिङहरू अर्गानिक रूपमा आइरहेका प्रबन्ध निर्देशक थकाली बताउँछन्।
यस सेवामा पठाओले आफ्नै राइडरहरूलाई तालिम दिएर दक्ष बनाउने एक नयाँ मोडल प्रयोग गर्दै छ।
‘अहिले बजारमा रहेका ‘सजिलो सेवा’ वा ‘स्किल सेवा’ जस्ता प्लेटफर्महरूमा तत्काल सेवा पाउन कठिन हुने र समय तालिका मिलाउनुपर्ने समस्या देखिएको छ। यसलाई समाधान गर्न पठाओले आफ्ना राइडरहरूलाई प्लम्बिङ र बिजुली मर्मतको तालिम दिने योजना बनाएको हो। जसले गर्दा ग्राहकले अर्डर गर्ने बित्तिकै नजिकै रहेका राइडर तुरुन्तै पुगेर सेवा दिन सक्नेछन्। यसबाट राइडरहरूको आम्दानी पनि बढ्ने र ग्राहकले पनि तत्काल सेवा पाउने अपेक्षा गरिएको छ,’ थकालीले भने।
यस सेवामा पठाओले आफ्नै राइडरहरूलाई तालिम दिएर दक्ष बनाउने एक नयाँ मोडल प्रयोग गर्दै छ। पठाओले सिटीईभीटीसँग सहकार्य गरेर इच्छुक पठाओ राइडरहरूलाई नै प्लम्बिङ र इलेक्ट्रिसियनको व्यावसायिक तालिम दिने योजना बनाएको छ।
आगामी ५ वर्षभित्र नेपालको डिजिटल इकोनोमी (डिजिटल अर्थतन्त्र)लाई वृद्धि गर्ने महात्वाकांक्षी लक्ष्यसहित पठाओले ई-कमर्स, एआई प्रविधिमा आधारित अर्डर म्यानेजमेन्ट र घरायसी मर्मत सेवा (प्लम्बिङ र इलेक्ट्रिसियन) जस्ता नयाँ भर्टिकलहरू सुरु गर्न लागेको हो।