काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच युद्धविराम तथा शान्ति सम्झौता भएको घोषणा गरेका छन्। उनले होर्मुज जलडमरूमध्यबाट अब कुनै शुल्कबिनै जहाज सञ्चालन हुने बताएका हुन्।
इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीले पनि आइतबार उक्त सम्झौताको पुष्टि गरेका छन्। सम्झौतासँगै अमेरिका र इरानबीच जारी सैन्य तनाव तत्काल अन्त्य हुने बताइएको छ।
आइतबार आफ्नो ८०औँ जन्मदिन मनाइरहेका ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत सम्झौता सम्पन्न भएको घोषणा गरेका हुन्। अमेरिका र इजरायलले गत डिसेम्बर २८ मा इरानमाथि आक्रमण सुरु गरेपछि होर्मुज जलडमरूमध्यमा जहाज आवतजावतमा ठूलो अवरोध उत्पन्न भएको थियो।
ट्रम्पले लेखेका छन्, “इस्लामिक गणतन्त्र इरानसँगको सम्झौता अब पूर्ण रूपमा सम्पन्न भएको छ। सबैलाई बधाई१ म होर्मुज जलडमरूमध्यलाई कुनै शुल्कबिना सञ्चालनमा ल्याउने तथा अमेरिकी नौसैनिक नाकाबन्दी तत्काल हटाउने अनुमति दिन्छु। विश्वका जहाजहरू अब पुनः सञ्चालनमा आउन्, तेलको प्रवाह पुनः सुरु होस्।”
अर्को पोस्टमा उनले यो सम्झौताले सम्पूर्ण मध्यपूर्व क्षेत्रमा शान्ति र सुरक्षा स्थापना गर्ने दाबी गर्दै इरानसँग थप व्यापक शान्ति सम्झौताका लागि पनि मार्ग प्रशस्त भएको संकेत दिएका छन्।
ट्रम्पले यसअघि धेरै अमेरिकी राष्ट्रपतिले इरानसँग शान्ति स्थापना गर्ने प्रयास गरे पनि असफल भएको उल्लेख गर्दै आफूले क्षेत्रीय नेतृत्वलाई वास्तविक शान्तिको दिशामा अघि बढ्न सहयोग गरेको बताएका छन्। साथै, जलडमरूमध्य पुनः खुल्ने र बारुदी सुरुङ हटाउने प्रक्रियापछि क्षेत्रीय तथा विश्वव्यापी ऊर्जा आपूर्ति पुनः सहज हुने उनको भनाइ छ।
यद्यपि, ट्रम्पले द न्यूयोर्क टाइम्स सँगको अन्तर्वार्तामा आवश्यक परे अमेरिका पुनः सैन्य कारबाहीमा फर्किन सक्ने चेतावनी पनि दिएका छन्। उनले मध्यपूर्वको सुरक्षाको जिम्मेवारी लिन सक्ने र त्यसबापत क्षेत्रीय आम्दानीको २० प्रतिशत हिस्सा माग्न सकिने संकेत गरेका थिए।
यसअघि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले सामाजिक सञ्जाल एक्समार्फत अमेरिका र इरानबीचको सम्झौता भएको घोषणा गरेका थिए। उनले लेबनानसहित सबै मोर्चामा तत्काल र स्थायी रूपमा सैन्य गतिविधि अन्त्य हुने जानकारी दिएका थिए।
शरिफका अनुसार सम्झौतामा हस्ताक्षर समारोह आगामी जुन १९ मा स्विट्जरल्यान्डमा आयोजना हुनेछ। उनले वार्ता सफल बनाउन सहयोग पुर्याएको भन्दै कतार, साउदी अरेबिया र टर्कीप्रति आभार व्यक्त गरेका छन्।
सम्झौताको घोषणापछि कतारले पनि स्वागत गर्दै होर्मुज जलडमरूमध्यमा स्वतन्त्र नौवहन सुनिश्चित गर्ने दिशामा यो महत्त्वपूर्ण कदम भएको जनाएको छ।
बेलायती प्रधानमन्त्री कियर स्टारमले सम्झौताको कार्यान्वयन र जलडमरूमध्य पूर्ण रूपमा खुला राख्न प्राविधिक वार्तालाई सहयोग गर्न तयार रहेको बताएका छन्। उनले ऊर्जा बजार स्थिर बनाउन पनि यो सम्झौता महत्त्वपूर्ण हुने उल्लेख गरेका छन्।
फ्रान्सका राष्ट्रपति एमानुएल म्याक्रोँले पनि सम्झौताको स्वागत गर्दै यसको शीघ्र र पूर्ण कार्यान्वयनमा जोड दिएका छन्। उनले होर्मुज जलडमरूमध्य पुनः सञ्चालन हुनु क्षेत्रीय स्थायित्व र विश्व अर्थतन्त्रका लागि अत्यन्त आवश्यक रहेको बताएका छन्।
उता अमेरिकी उपराष्ट्रपति जेडी भान्सले सम्झौताले मध्यपूर्वमा “नयाँ युग” को सुरुवात गर्न सक्ने बताएका छन्। उनले इरानले कहिल्यै आणविक हतियार प्राप्त नगर्ने विश्वास व्यक्त गर्दै सम्झौतालाई अमेरिकी जनताका लागि ठूलो उपलब्धि बताएका छन्। भान्सका अनुसार ऊर्जा मूल्यमा पनि कमी आउन सक्ने अपेक्षा गरिएको छ।