काठमाडौं। मध्यपूर्व युद्धका कारण बढ्दो मुद्रास्फीति, महँगो ऊर्जा आयात र कमजोर येनमाथिको दबाबबीच बैंक अफ जापान (बीओजे)ले मंगलबार ब्याजदर बढाएर ३१ वर्षयताकै उच्च स्तरमा पुर्याएको छ। अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति भए पनि विश्व अर्थतन्त्रमा अनिश्चितता कायम रहेकाले जापानले मौद्रिक नीतिलाई थप कडा बनाएको हो।
जापानको केन्द्रीय बैंकले आफ्नो प्रमुख नीतिगत ब्याजदर २५ आधार विन्दुले बढाएर १.० प्रतिशत पुर्याएको छ। यो सन् १९९५ पछिको उच्चतम स्तर हो भने डिसेम्बरयताको पहिलो वृद्धि पनि हो। विश्वको चौथो ठूलो अर्थतन्त्र जापानका लागि यो निर्णयलाई मुद्रास्फीति नियन्त्रण र मुद्रा स्थिरताको प्रयासका रूपमा हेरिएको छ।
मध्यपूर्वमा तीन महिनासम्म चलेको द्वन्द्वले विश्वव्यापी ऊर्जा बजारमा ठूलो असर पारेको थियो। युद्धका कारण तेलको मूल्य बढ्दा धेरै देशमा महँगी चुलिएको छ। यही पृष्ठभूमिमा गत साता युरोपेली केन्द्रीय बैंक र इन्डोनेसियाको केन्द्रीय बैंकले पनि ब्याजदर बढाएका थिए।
अमेरिकामा मुद्रास्फीति तीन वर्षयताकै उच्च स्तरमा पुगेपछि अमेरिकी फेडरल रिजर्भले पनि आगामी दिनमा ब्याजदर वृद्धि गर्न सक्ने अनुमान बढेको छ । यद्यपि नयाँ नेतृत्वमा रहेको फेडले यस साताको बैठकमा तत्काल निर्णय गर्ने अपेक्षा गरिएको छैन।
अस्ट्रेलियाको रिजर्भ बैंकले यस वर्ष तीन पटक ब्याजदर बढाइसकेको छ भने बैंक अफ इङ्गल्यान्डले पनि आगामी दिनमा कडा मौद्रिक नीति अपनाउन सक्ने विश्लेषण गरिएको छ।
संयुक्त राज्य अमेरिका र इरानले सप्ताहन्तमा तीन महिना लामो मध्यपूर्व युद्ध अन्त्य गर्ने र हर्मुज जलघाँटी पुनः सञ्चालन गर्ने सहमति गरेका थिए। विश्वको करिब पाँचौँ भाग तेल आपूर्ति यही मार्गबाट हुने भएकाले उक्त सम्झौतालाई विश्व अर्थतन्त्रका लागि महत्त्वपूर्ण मानिएको छ।
स्विट्जरल्यान्डमा शुक्रबार औपचारिक हस्ताक्षर हुने तय भए पनि विश्व व्यापार र आपूर्ति शृङ्खला सामान्य अवस्थामा फर्किन समय लाग्न सक्ने अनुमान गरिएको छ। फेब्रुअरी २८ मा युद्ध सुरु हुनुअघि जापान आफ्नो कच्चा तेल आवश्यकताको करिब ९० प्रतिशत मध्यपूर्वबाट आयातमा निर्भर थियो। तेलको मूल्यवृद्धि र जापान तथा अमेरिकाबीचको ब्याजदर अन्तरले येनमाथि थप दबाब सिर्जना गरेको छ।
गत महिना येन अमेरिकी डलरको तुलनामा १६० को स्तरमा झरेपछि जापान सरकारले मुद्रा स्थिर राख्न करिब ११७ खर्ब येन अर्थात् करिब ७२ अर्ब डलर खर्च गरेको थियो। मंगलबारको निर्णयपछि येन केही बलियो बने पनि त्यसको अधिकांश लाभ टिक्न सकेन।