काठमाडौं। विशाल ग्रुपद्वारा प्रवर्द्धित स्टिल उत्पादक कम्पनी कमला रोलिङ मिल्सले ९ महिनामै पौने अर्ब रुपैयाँ बढीको व्यापार गरेको छ। कम्पनीले चालू आर्थिक वर्षको पहिलो ९ महिनामा करिब ८८ करोड ३० लाख रुपैयाँको व्यापार गरेको हो।
कम्पनीले गत आवमा १ अर्ब ४७ करोड र अघिल्लो आवमा १ अर्ब ४४ करोड र आव २०२३ मा २ अर्ब ८४ करोड रुपैयाँ बराबरको व्यापार गरेको थियो।
रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालका अनुसार सन् २०२६ को अप्रिल मध्यसम्म (९ महिना) को अवधिमा कम्पनीको वित्तीय सूचकमा सुधार देखिएको छ।
कम्पनीको पछिल्लो व्यावसायिक अवस्थालाई विश्लेषण गर्दै इन्फोमेरिक्सले कुल २ अर्ब ४२ करोड ५० लाख रुपैयाँ बराबरको बैंक कर्जाका लागि पुराना रेटिङलाई नै पुनः पुष्टि गरेको छ। एजेन्सीले १ अर्ब ४४ करोड ९० लाखको दीर्घकालीन कर्जाका लागि ‘डबल बी माइनस’ र ९७ करोड ६० लाखको अल्पकालीन कर्जाका लागि ‘ए फोर रेटिङ दिएको हो।
घाटामा उल्लेख्य कमी र वित्तीय सुधार
इन्फोमेरिक्सको रिपोर्टअनुसार, कम्पनीको सञ्चालन नाफा ९ महिनाको अवधिमा २.३६ प्रतिशत रहेको छ। विगतका वर्षहरूमा ठूलो खुद नोक्सानी बेहोरेको कम्पनीले यसपटक नोक्सानीमा उल्लेख्य कमी ल्याएको छ। गत आर्थिक वर्षमा ३ करोड १० लाख रुपैयाँ खुद घाटामा रहेको कम्पनीको घाटा ९ महिनाको अवधिमा घटेर ६० लाख रुपैयाँमा झरेको छ।
कम्पनीको नगद प्रवाहमा पनि सुधार आएको छ। सन् २०२५ मा ६० लाख रहेको यस्तो प्रवाह ९ महिनामा बढेर २ करोड रुपैयाँ पुगेको छ। ऋणको भारलाई नेटवर्थको तुलनामा हेर्दा पनि ठूलो सुधार देखिएको छ। सन् २०२५ को अन्त्यमा १.०७ गुणा रहेको यो अनुपात सन् २०२६ अप्रिलसम्म आइपुग्दा घटेर ०.४५ गुणामा झरेको छ, जसले कम्पनीको पूँजी संरचना बलियो बन्दै गएको संकेत गर्छ।
तीन दशकभन्दा लामो अनुभव बोकेको कमला रोलिङ मिल्स मोरङको बूढीगंगा–३ मा छ। यसको वार्षिक उत्पादन क्षमता ८० हजार मेट्रिक टन रहेको छ। कम्पनीले कमला गोल्ड थर्मक्स ब्रान्डमा टीएमटी डन्डी, ग्याल्भन बक्स, जीआई वायर र काँडेतारजस्ता विविध स्टिल उत्पादन बिक्री गर्दै आएको छ।
विशाल ग्रुपको आबद्धता र ६ दशकभन्दा बढीको व्यावसायिक अनुभव भएका जगदीश प्रसाद अग्रवालको नेतृत्व यो कम्पनीको प्रमुख सबल पक्ष हो। कम्पनीमा अग्रवालको २४.५४ प्रतिशत सेयर स्वामित्व छ।
सरकारले भौतिक पूर्वाधार निर्माणमा विनियोजन गरेको बजेट र स्वदेशी उद्योगलाई दिने प्रोत्साहनले आगामी दिनमा स्टिलको माग बढ्ने र कम्पनीको व्यापारमा थप सुधार हुने अपेक्षा गरिएको छ।
यद्धपि, व्यापारमा सुधार देखिए पनि कम्पनीका लागि कार्यशील पूँजी व्यवस्थापन अझै चुनौतीपूर्ण छ। कच्चा पदार्थको आयातमा पूर्ण निर्भर रहनुपर्दा विदेशी मुद्राको विनिमय दरमा हुने उतारचढाव र अन्तर्राष्ट्रिय बजारमा डन्डीको कच्चा पदार्थको मूल्यमा हुने परिवर्तनले कम्पनीको नाफामा असर पार्न सक्ने जोखिम छ।
यस्तै, स्टिल क्षेत्रमा रहेको तीव्र प्रतिस्पर्धा र निर्माण क्षेत्रमा आउने उतारचढावलाई पनि रेटिङ रिपोर्टले मुख्य चुनौतीका रूपमा औंल्याएको छ।