काठमाडौं। अर्थमन्त्रीले पछिल्लो समय सेयर बजारमा देखिएको गिरावट र उतारचढावबारे प्रतिनिधिसभामा स्पष्टीकरण दिएका छन्। आर्थिक ऐन, २०८१ माथि भएको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले बजार घट्नुको मुख्य कारण लगानीकर्तामा देखिएको मनोवैज्ञानिक त्रास र चलिरहेको कानुनी कारबाहीको प्रक्रिया रहेको बताए।
अर्थमन्त्रीका अनुसार सरकारले पुँजी बजार र बिमा क्षेत्रमा देखिएको ठूलो विचलनलाई सूक्ष्म रूपमा नियालीरहेको छ। उनले हालै मात्र १ खर्ब रुपैयाँभन्दा बढीको बिगो दाबीसहित विभिन्न मुद्दाहरू अगाडि बढेको र यसको केन्द्रमा पुँजी बजार र बिमा क्षेत्र रहेको जानकारी दिए।
"अहिले १ खर्बभन्दा बढीको बिगोमा मुद्दा चलेको छ। यसको केन्द्रमा क्यापिटल मार्केट र बिमा क्षेत्र देखिएको छ। अनुसन्धान र कारबाहीको यो प्रक्रिया अघि बढ्दै जाँदा कतै 'म पनि पर्छु कि' भन्ने भ्रम वा त्रास केही लगानीकर्तामा परेको हुन सक्छ। यसैको प्रभाव बजारमा देखिएको हो," अर्थमन्त्रीले सम्बोधनका क्रममा भने।
ठूला अनियमिततामा संलग्नहरूमाथि कानुनी कारबाही सुरु हुनुले बजारमा केही समयका लागि अन्यौलता सिर्जना गरेको उनले सङ्केत गरे। साथै, सेयर बजारको दैनिक उतारचढावलाई लिएर सरकार चिन्तित नरहेको पनि उनले प्रस्ट पारे।
"हामी एक घण्टामा स्टक मार्केट कति तलमाथि जान्छ भनेर हेर्दैनौँ," अर्थमन्त्रीले भने, "सरकारको ध्यान बजारको दीर्घकालीन स्वास्थ्य र स्थायित्वमा छ । बजारलाई पारदर्शी र मर्यादित बनाउनु हाम्रो प्राथमिकता हो ।" अर्थमन्त्रीले लगानीकर्ताहरूलाई हल्लाको पछि नलाग्न र बजारको दीर्घकालीन सुधारप्रति विश्वस्त रहन आग्रह गरे । सरकारले नीतिगत रूपमै पुँजी बजारको विकासका लागि काम गरिरहेको र अहिलेको अवस्था अस्थायी मात्र भएको उनको दाबी छ ।