काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको संस्थापक सेयरधनीको ‘वास्तविक धनी’ खोज्न थालेको छ। केन्द्रीय बैंकले संस्थापक सेयर खरिद–बिक्री र स्वामित्वमा उच्च पारदर्शिता कायम गर्ने एकीकृत निर्देशन, २०७९ को निर्देशन नं. १० मा संशोधन गर्दै संस्थापक शेयरधनीहरूको वास्तविक धनी पहिचानमा कडाइ गरेको हो।
५ प्रतिशत वा २५ लाखको सीमा, संस्थागत सेयरधनीका लागि १५ प्रतिशतको नियम
नयाँ व्यवस्था अनुसार, अब कुनै पनि व्यक्ति वा संस्थाले एक पटक वा पटक–पटक गरी चुक्ता पुँजीको कुल ५ प्रतिशत वा कुल २५ लाख रुपैयाँभन्दा बढी हुने गरी संस्थापक शेयर खरिद वा नामसारी गर्दा अनिवार्य रूपमा ‘वास्तविक धनी’ को विवरण खुलाउनुपर्नेछ। यस्तो विवरण सम्बन्धित बैंक तथा वित्तीय संस्थाले लिएर नेपाल राष्ट्र बैंकसमक्ष समेत पेश गर्नुपर्ने प्रावधान राखिएको छ।
यदि संस्थापक सेयर खरिद गर्ने पक्ष कुनै संस्था भएमा, उक्त लगानीकर्ता संस्थामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा एकल, संयुक्त वा समूहगत रूपमा १५ प्रतिशत वा सोभन्दा बढी सेयर वा पूँजी लगानी गर्ने वास्तविक धनी वा हिताधिकारीको समेत विस्तृत विवरण बुझाउनुपर्नेछ।

सेयर खरिद गर्ने संस्थापक वा वास्तविक धनीले देहायका १० प्रकारका विवरण र स्वघोषणा पेश गर्नुपर्नेछ।
१. सम्बन्धित व्यवसाय सम्बन्धी प्रचलित कानुन बमोजिमको मापदण्ड पालना गरेको स्वघोषणा,
२. सम्बन्धित व्यक्तिको नाम, थर, ठेगाना, पारिवारिक विवरण, वास्तविक धनी तथा हिताधिकारीको विवरण,
३. नेपाल वा विदेशमा कुनै कसूरमा संलग्न भए वा नभएको स्वघोषणा। यदि संलग्न भएको भए सोको विस्तृत विवरण र वर्तमान अवस्था,
४. कुनै प्रकारको मुद्दा मामिला, अनुसन्धान, वैकल्पिक विवाद समाधानको प्रक्रिया वा न्यायिक वा प्रशासनिक कारबाहीको प्रक्रियामा रहे वा नरहेको स्वघोषणा। यदि भएको भए सोको विवरण,
५. अदालत वा अधिकारप्राप्त अधिकारीको फैसला वा आदेशबमोजिम तिर्नु, बुझाउनु पर्ने राजस्व, सरकारी बाँकी बक्यौता रहे वा नरहेको स्वघोषणा,
६. स्वदेश वा विदेशमा कर्जा सम्बन्धी कालोसूची वा त्यस्तै प्रकारको सूचीमा परे वा नपरेको स्वघोषणा,
७. स्वार्थको द्वन्द्व हुनसक्ने अवस्था विद्यमान रहे वा नरहेको विवरण,
८. नेपाली नागरिक भए निजको नेपाल बाहिर कुनै सम्पत्ति रहे वा नरहेको वा कुनै सम्पत्तिमा वास्तविक धनी वा हिताधिकारी भए वा नभएको स्वघोषणा,
९. विगतमा संलग्न भएको कार्य, संस्था, प्राप्त भएको जिम्मेवारी, पुरस्कार, सजायको अवस्था, कार्य सफलताको उदाहरण लगायतका विषय खुल्ने सम्बन्धित क्षेत्रको कार्य अनुभव सम्बन्धी विवरण,
१०. वित्तीय आचरण (फाइनान्सियल साउन्डनेस) सम्बन्धी विवरण।
पुराना सेयरधनीलाई पनि नियम लागू यो निर्देशन जारी हुनुअघि नै ५ प्रतिशत वा २५ लाख रुपैयाँभन्दा बढी संस्थापक सेयर धारण गरिसकेका सेयरधनीहरूले समेत उल्लेखित विवरणहरू राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ। साथै, यी विवरणहरूमा कुनै परिवर्तन भएमा संस्थाले अनिवार्य रूपमा अद्यावधिक विवरण पुनः राष्ट्र बैंकमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ।