चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र अहिले बिहान ८ः३० बजेदेखि हुने भएको छ। उद्योग संघको प्रदर्शनी केन्द्रमा बन्दसत्रका कार्यक्रम आयोजना हुने जनाइएको छ।
प्रदर्शनी केन्द्रमा रहेका तीन ठूला हलमध्ये दुईवटामा बन्दसत्र गर्नका लागि तयारी गरिएको छ भने अर्को एउटामा खाजा र खानाको व्यवस्था गरिँदै छ। रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बन्दसत्रका सुरुमा अनुशासन आयोगबाट रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गर्नेछन्। यसपछि प्रतिवेदनमाथि छलफल हुनेछ भने बिहान ९ः०० बजे कोषाध्यक्ष लिमा अधिकारीको आर्थिक प्रतिवेदन प्रस्तुति र छलफल हुने सम्भावित कार्यसूची रहेको जनाइएको छ।
बिहान १०ः०० बजे महामन्त्री कविन्द्र बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुति र यसमाथि छलफल हुने र बिहान १०ः४५ बजे पार्टीका सहमहामन्त्रीले विधानमाथिको छलफल र त्यसलाई अनुमोदन गराइने छ। यसैगरी बन्दसत्रमा पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेस तथा छलफल र अनुमोदन गरिने र पार्टी सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठन घोषणा एवं आयोजक समितिले सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई दिने तालिका रहेको छ।
सोपश्चात् दिउँसो खानापछि निर्वाचन आयोगले निर्वाचन प्रक्रियासम्बन्धी जानकारी र तालिका प्रकाशन गर्ने कार्यसूची रहेको छ। रास्वपाका केन्द्रीय सदस्य राजन गौतमका अनुसार आज र भोलि दिनभरको खाना सोही स्थानमा व्यवस्थापन गरिएको छ। बन्दसत्रमा रास्वपाका चार हजार २११ जना प्रतिनिधि, परिवेक्षक र स्वयंसेवक हुने रहनेछन्।
केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले आज दिउँसो १ः०० बजेपछि उम्मेदवार मनोनयनका लागि फारम वितरण गरिने जानकारी दिए। उनले दिउँसो २ः०० बजेदेखि ४ः०० बजेसम्म उम्मेदवार मनोनयन दर्ता गरिने छ भने साँझ ६ः०० बजे उम्मेदवारको नामावली प्रकाशन गरिने बताए।
यस्तै बेलुका ६ः०० बजेदेखि ७ः०० बजेसम्म उम्मेदवारविरुद्ध दावीविरोध, ७ः०० बजेदेखि ९ः०० बजेसम्म दावीविरोध परेका उम्मेदवारबारे जाँचबुझ गरिने छ। उनका अनुसार बेलुकी ९ः१५ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने अन्तिम समय तोकिएको छ। उम्मेदवारको अन्तिम नामावली प्रकाशन राति ११ः०० बजे गरिने छ।
यही असार ९ गते मङ्गलबार बिहान ८ः३० बजेदेखि दिउँसो ३ः०० बजेसम्म पहिलो चरणको मतदान सुरु गरिनेछ। यसमा एक जना सभापति र ९९ जना केन्द्रीय सदस्यका लागि मतदान गरिने उहाँले जानकारी दिए। मतदानपछि पहिलो चरणको मत गणना र मत परिणाम घोषणा दुई घण्टापछि गरिने जनाइएको छ। यसपछि दोस्रो चरणको मतदान प्रक्रिया अघि बढाइने उनले जानकारी दिए। प्रथम महाधिवेशनको उद्घाटन सत्र गेष्टहाउस चौरमा शनिबार भव्य रुपमा सम्पन्न भएको थियो।