काठमाडौं। विश्वकै सर्वाधिक र बढी रुचाईने र लोकप्रिय खेल अर्थात विश्वकप फुटबलको महाकुम्भ चलिरहँदा अहिले नेपाली फुटबलप्रेमीमाझ सन्नाटा छाएको छ। विश्वकप फुटबल चलिरहदा यतिबेला नेपाली फुटबलप्रेमी आफनो समर्थक देशको फुटबल हेर्न नपाएपछि फुटबल प्रेमीहरू निरास हुनुका साथै विभिन्न टीकाटिप्पणी भइरहेका छन्।
विश्वकप फुटबल खेल हेर्न गोलकर्ता, पेनाल्टी र अन्तिम मिनेटको गोलजस्ता खेलको विशेष क्षणको कुतूहलमा डुबेका खेलप्रेमीका लागि सो एपमा समस्या आउनुले तथा विश्वकप फुटबल प्रदर्शन गर्ने आधिकारिक रुपमा डिजिटल प्रसारणको जिम्मा पाएको डिजिगो एपमा देखिएको समस्याले लाखौं दर्शकको उत्साहमा तुषारापत ल्याइदिएको हो।
नेपालमा भएका थुप्रै खेलप्रेमीमध्ये सिन्धुपाल्चोकका दीपेन्द्र खड्का (नाम परिवर्तित)ले डिजिगोमाफत आफूले विश्वकप हेर्न सेवा लिए पनि सेवा लिन नपाउँदा सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेका छन्। काठमाडौंका केदार क्षेत्री (नाम परिवर्तन)ले पनि आफूले डिजिगोमार्फत विश्वकप फुटबल हेर्न नपाएको भन्दै डिजिगोको आलोचना सामाजिक सञ्जालमा गरेका हुन्।
खड्का र क्षेत्री प्रतिनिधि पात्र मात्र हुन्। अन्य फुटबलप्रेमीले पनि डिजिगोको सेवाप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
फुटबल केवल खेल मात्र होइन, यो मानिसको भावना र रमाइलो पल हो। जब मैदानमा खेलाडी गोल गर्न अघि बढ्छ, दर्शकको ढुकढुकी बढ्छ। तर, सोही समय डिगो एपमा समस्या देखिएकाले सामाजिक सञ्जाल अहिले डिजिगोप्रतिको आक्रोशले भरिएका छन्। उपभोक्ताले पैसा तिरेर पनि गुणस्तरीय सेवा नपाएको गुनासो गरिरहेका छन्।
किन भइरहेछ यस्तो?
सूचना प्रविधिका जानकारका अनुसार यो समस्याको मुख्य कारण भनेको उपभोक्ताको चाप र सर्भरको क्षमताबीचको असन्तुलन प्रमुख कारक हो। फुटबलको महाकुम्भ मानिने पर्वमा एकैपटक लाखौं प्रयोगकर्ता हुने भएकाले तथा सोहीअनुसारको सर्भर ब्यान्डविथ व्यवस्थापनमा कमजोरी तथा एपको आर्किटेक्चर र कन्टेन्ट डेलिभरी नेटवर्क नेपालको पिकआवर ट्राफिक धान्न सक्ने गरी बलियो नबनाइनुले गर्दा समस्या हुने गरेको उनीहरूको बुझाइ छ।
पैसा असुल्न हतार, सेवा प्रवाहमा कन्जुस्याइँ
विश्व कप फुटबलको पुर्वसन्ध्याहमा डिजिटल बैंकिङमार्फत स्क्यान गरेको केही सकेण्डभरमा प्रिमियम सब्सक्रिप्सन बेचिरहँदा, सेवा प्रदायक कम्पनीले आफ्नो न्यूनतम व्यावसायिक उत्तरदायित्वसमेत भुलेको भान आम सब्सक्रिप्सनकर्ता तथा फुटबलप्रेमीले गरेका छन्।
उपभोक्ताले महँगो शुल्क तिरेर प्याकेज खरिद गरेपछि कुनै पनि अवरोधबिना गुणस्तरीय सेवा पाउनु उनीहरूको कानुनी र उपभोक्ता हक अधिकार हो। तर, यहाँ त पैसा तिरेर मनोरञ्जन होइन, उल्टै तनाव मात्रै खरिद गरेझैँ भएको काभ्रेपलाञ्चोकको पनौतीका प्रमोद शर्माले बताए।
एपमा लगातार देखिने समस्याले खेलको मुख्य मुभ र गोल हुने रोमाञ्चक क्षण प्रत्यक्ष हेर्नबाट दर्शक वञ्चित भएका हुन् तथा एप नै नखुल्ने वा चल्दाचल्दै आफैँ बन्द हुने गम्भीर समस्या देखिएको हो।
यसरी पैसा असुल्न कत्ति पनि ढिलाइ नगर्ने तर सेवा प्रवाहमा भने चरम कन्जुस्याइँ र लापरबाही गर्ने कम्पनीको प्रवृत्तिका कारण खेलप्रेमी ठगिएको महसुस गरिरहेका हुन्।
के भन्छ डिजिगो
गए राती विश्वकपअन्तर्गत साउदी अरब र स्पेनबीचको खेल चलिरहेका बेला डिजिगो एपमा प्राविधिक समस्याले गर्दा खेल हेर्न नपाएपछि डिजिगो एपले सूचना जारी गर्दै दर्शक सदस्य एवं प्रयोगकर्तासँग माफी मागेको छ। ‘खेलको महत्वपूर्ण क्षण हेर्न नपाउनु सामान्य प्राविधिक असुविधा मात्र होइन भन्ने कुरा हामी गहिरोसँग बुझ्छौं। यसबाट तपाईंमा परेको निराशा र दुख प्रति हामी पूर्ण संवेदनशील छौं र कुनै बहाना नबनाई हुदयदेखि क्षमायाचना गर्न चाहन्छाैं’ भनेको छ। अहिले समस्या समाधान भई डिजिगो को वेबसाइट तथा मोबाइल एपका सेवा पुन सञ्चालन भइसकेको डिजिगोले बताएको छ।
आगामी दिनमा यस्तो समस्या पुनः नदोहोरियोस् भन्ने उद्देश्यका साथ प्राविधिक टोली प्रणालीको विस्तृत समीक्षा गर्दै निरन्तर र अथक रुपमा काम गरिरहेको डिजिगोको दाबी छ।
सञ्चार मन्त्रालयको प्रतिक्रिया
विश्वकपजस्तो बृहत् अन्तर्राष्ट्रिय खेल प्रतियोगितामा प्राविधिक चुनौती आउनु आफैंमा अनौठो विषय भने होइन। तर, खेल अवधिभर एउटै प्रकृतिको समस्या निरन्तर दोहोरिरहनु र सेवाप्रदायक कम्पनीले त्यसको दिगो समाधान खोज्न चासो नदेखाउनु गैरजिम्मेवारपनको पराकाष्ठा हो।
यसले कम्पनीको प्राविधिक अक्षमता मात्र होइन, उपभोक्ताप्रतिको चरम उदासीनतालाई समेत छताछुल्ल पारेको छ। सो विषयलाई सञ्चार तथा सूचना मन्त्रालयमा यस विषयमा मन्त्रालयले कसरी सुपरभिजन गरेको छ भन्ने प्रश्नमा मन्त्रालयका एक उच्च अधिकारीले विश्वकप प्रदर्शनका लागि अनुमति दिएपछि उनीहरूले गुणस्तरीय कायम गर्नुपर्ने सम्बन्धीत संस्थाको जिम्मेवारी रहेको बताएका हुन्।
क्यापिटल नेपालसँग कुराकानी गदै विश्वकप फुटवल प्रर्दशनका लागि भन्दै ९ सय ९९ रुपैयाँ लिएपछि सोहीअनुसारको सेवा प्रभाव गर्नुपर्ने उनीहरूको जिम्मेवारी रहेको उच्च अधिकारीको भनाइ छ।