वीरगञ्ज । वीरगञ्ज महानगरले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४ अर्ब ४२ करोड ३४ लाखको बजेट ल्याएको छ।
आज नगरसभाको २०औं अधिवेशनमा महानगरका कार्यवाहक मेयर इम्तियाज आलमका तर्फबाट नगरकार्यपालिका सदस्य जगत साह कानुले आगामी आर्थिक वर्षका लागि ४ अर्ब ४२ करोड ३४ लाखको आयव्ययसहितको बजेट प्रस्तुत गरेका हुन्।
वीरगन्ज महानगरको बजेटमा चालू खर्चतर्फ दुई अर्ब ४० करोड ३४ लाख अर्थात् ५४.३ प्रतिशत तथा पुँजीगत खर्चतर्फ १ अर्ब ९६ करोड ९९ लाख अर्थात् ४४.६ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ५ करोड अर्थात् १.१ प्रतिशत रहेको छ।
आगामी आर्थिक वर्षको बजेटमा अनुमानित खर्च व्यहोर्ने स्रोतमा संघीय अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ९८ करोड २९ लाख, आन्तरिक राजश्वबाट १ अर्ब ४८ करोड,संघीय राजश्व बाँडफाँटबाट २४ करोड ६८ लाख, प्रदेश अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट ५ करोड, प्रदेश राजस्व बाँडफाँटबाट १ करोड ६७ लाख, घरजग्गा रजिष्ट्रेसन शुल्कबापत ४५ करोड र गत वर्षको नगद मौज्दातबाट चार करोड ६९ लाख तथा नगर विकास कोषबाट १५ करोड व्यहोरिने उल्लेख छ।
बजेटमा शिक्षा र स्वास्थ्य सेवा, महानगरको सरसफाइ व्यवस्थापन, वन तथा वातावरण संरक्षण, कृषि ,पर्यटन र उद्योग, गुणस्तरीय भौतिक पूर्वाधार र प्रविधिमा आधारित सेवा प्रवाहलाई प्राथमिकतामा राखिएको छ।