विराटनगर। नेपाल आयल निगमको कोसी प्रादेशिक कार्यालय, विराटनगरका लागि पेट्रोलियम पदार्थ ढुवानी गर्दै आएको एक ट्यांकरबाट ९७३ लिटर पेट्रोल चोरी भएको घटना सार्वजनिक भएको छ।
निगमका अनुसार नवीन ढुवानी सेवा प्रालिको ट्यांकर नम्बर कोख ६१९० ले असार ६ गते भारतस्थित इन्डियन आयल कर्पोरेसनको सिलिगुडी डिपोबाट २० हजार लिटर पेट्रोल लोड गरी असार ७ गते बिहान विराटनगर आइपुगेको थियो। उक्त ट्यांकर निगमको डिपोबाट करिब ३०० मिटर दूरीमा रहेको कञ्चनबारी पार्किङमा राखिएको थियो।
तर, असार ८ गते बिहान ट्यांकर पार्किङ स्थलबाट हराएको भन्दै ढुवानीकर्ताले निगमलाई लिखित जानकारी गराएका थिए। त्यसपछि निगमले जिल्ला प्रहरी कार्यालय मोरङलाई जानकारी गराई खोजी प्रक्रिया अघि बढाएको थियो।
सीसीटीभी फुटेजको अध्ययन गर्दा ट्यांकर असार ८ गते बिहान ३ः०३ बजे पार्किङबाट बाहिरिएको र नोबेल अस्पतालतर्फ गएको देखिएको थियो। त्यसलगत्तै निगम, प्रहरी तथा ढुवानीकर्ताका प्रतिनिधिले खोजी अभियान सञ्चालन गरेका थिए।
खोजीका क्रममा ट्यांकर विराटनगरबाट करिब १७ किलोमिटर टाढा सुनसरीको भोक्राहा गाउँपालिका–८ अन्तर्गत हुलाकी राजमार्गमा बेवारिसे अवस्थामा फेला परेको थियो। ट्यांकरको सुरक्षा सिल (एसआईएस) काटिएको अवस्थामा भेटिएको निगमले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरी, निगमका कर्मचारी तथा ढुवानीकर्ताका प्रतिनिधिको रोहवरमा मुचुल्का तयार गरी थप अनुसन्धानका लागि कागजात जिल्ला प्रहरी कार्यालय मोरङ पठाइएको थियो। त्यसपछि ट्यांकरलाई निगमको डिपो नजिकैको पार्किङमा ल्याएर सिलबन्दी गरिएको थियो।
बुधबार जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रहरी कार्यालय मोरङ, पत्रकार, निगम तथा ढुवानीकर्ताका प्रतिनिधिको उपस्थितिमा ट्यांकरको सिल खोली गुणस्तर तथा परिमाण परीक्षण गरिएको थियो। परीक्षणका क्रममा पेट्रोलको गुणस्तर यथावत् रहेको तर २० हजार लिटरमध्ये ९७३ लिटर पेट्रोल चोरी भएको पुष्टि भएको निगमले बताएको छ।
बाँकी रहेको १९ हजार २७ लिटर पेट्रोल निगमको भण्डारणमा खन्याइएको छ। साथै, निगमको पेट्रोलियम पदार्थ ढुवानी विनियमावली, २०७३ अनुसार चोरी भएको परिमाण बराबरको क्षतिको दोब्बर रकम ढुवानीकर्ताबाट असुल गरिएको निगमले जनाएको छ।
यस सम्बन्धमा केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै निगमले तथ्यहीन र आधारहीन समाचारमा विश्वास नगर्न आग्रह गरेको छ। घटनाबारे सम्बन्धित सरकारी निकायबाट अनुसन्धान जारी रहेको स्पष्ट पारेको छ।
कोशी प्रादेशिक कार्यालयका प्रमुख पुष्कर कार्कीद्वारा जारी विज्ञप्तिमा घटनाको वास्तविकता बुझेर मात्र समाचार सम्प्रेषण गर्न सञ्चारमाध्यमलाई अनुरोध गरिएको छ।