काठमाडौं। भेनेजुएलामा केही दिनअघि देशलाई झट्का दिने विनाशकारी दुई ठूला भूकम्पपछि २४ देशले मानवीय सहायता, विशेष उद्धार टोली र हजारौँ आपतकालीन प्रतिक्रियाकर्मी पठाएर सहयोग गरेका छन्।
शनिबार टेलिग्राममा पोस्ट गरिएको विज्ञप्तिमा भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले भने, ‘अन्तर्राष्ट्रिय समुदायले अहिलेसम्म ५२१ टन राहत सामग्री, ८६ वटा विशेष कुकुर खोज टोली र दुई हजार ७४१ भन्दा बढी खोज, उद्धार तथा प्राविधिक सहयोग कर्मी पठाएको छ, जसले भेनेजुएली टोलीसँग मिलेर विपद् व्यवस्थापनमा काम गरिरहेका छन्।’
उनले थपे, ‘अन्तर्राष्ट्रिय कर्मीहरू भेनेजुएली अधिकारीहरूसँग मिलेर दुई भूकम्पबाट प्रभावित क्षेत्रमा निरन्तर खोज, उद्धार र राहत कार्य गरिरहेका छन्।’
उनले तीन हजार २३८ जना घाइते भएको र तीन हजार १४२ परिवार घरबारविहीन भएको बताइका थिए। उद्धार टोलीहरूले बाँचेकाको खोजी जारी राखेका छन्। तर, महत्वपूर्ण उद्धार समय सकिँदै गएको छ। भारी उपकरणको अभाव र निरन्तरको पराकम्पनले कार्यमा बाधा पुर्याइरहेको छ।
बुधबार ७.२ र ७.५ म्याग्निच्युडका दुई ठूला भूकम्प गएपछि देशमा पटक-पटक साना ठूला पराकम्पनहरू गएका छन्। जसले उद्धार तथा राहत कार्यलाई जटिल बनाएको छ।
आइतबार ‘युरोपियन-डिटेरेनियन सिस्मोलोजिकल सेन्टर’ले भेनेजुएलाको तटबाट ५.६ म्याग्निच्युडको भूकम्प गएको पत्ता लगाएको थियो। जसले आरागुवा तट नजिकको पानी क्षेत्रलाई प्रभावित गरेको थियो।
सीएनएनका अनुसार, भूकम्पलाई लोगारिदमिक म्याग्निच्युड स्केलमा मापन गरिन्छ। जहाँ प्रत्येक पूर्ण संख्या बढ्दा ऊर्जा रिलिज करिब ३२ गुणा बढी हुन्छ।