काठमाडौं। सरकारले दाल आयातमा लगाएको अग्रिम करका कारण मुलुककै पुरानो र ठूलो औद्योगिक घराना त्रिवेणी ग्रुपअन्तर्गतको ‘त्रिवेणी दाल एण्ड आयल इन्ड्रस्ट्रिज प्राइभेट लिमिटेड’को व्यापारमा गिरावट आएको छ। सन् २०२४ को तुलनामा सन् २०२५ मा कम्पनीको सञ्चालन आम्दानी करिब ११ प्रतिशतले घटेको हो।
रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालका अनुसार सन् २०२४ मा १ अर्ब २९ करोड ६० लाख रुपैयाँ व्यापार गरेको यो उद्योगको कारोबार सन् २०२५ को अन्त्यसम्म आइपुग्दा १ अर्ब १३ करोड ३० लाख रुपैयाँमा खुम्चिएको छ। व्यापारमा आएको यो संकुचन र बढ्दो नोक्सानीका कारण एजेन्सीले कम्पनीको दीर्घकालीन बैंक कर्जाको साख मूल्यांकन (रेटिङ) मा समेत कटौती गरेको छ। केयर रेटिङ्सले कम्पनीको रेटिङ ‘बीबी’ बाट घटाएर ‘बीबी माइनस’ कायम गरेको छ।
कर नीतिको प्रत्यक्ष असर
कम्पनीको व्यापार घट्नुमा सरकारको कर नीति मुख्य जिम्मेवार देखिएको छ। सन् २०२४ को जुन महिनामा सरकारले दाल आयातमा १० प्रतिशत अग्रिम कर लगाएपछि कम्पनीले साउनदेखि कात्तिकसम्म करिब साढे तीन महिना आयात ठप्प पारेको थियो। पछि सरकारले उक्त करलाई घटाएर २.५ प्रतिशतमा झारेपछि मात्र नोभेम्बर ६ देखि आयात पुनः सुचारु भएको थियो। यही अवरोधका कारण व्यापारिक परिमाणमा गिरावट आएको हो। चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा कम्पनीले ८० करोड रुपैयाँको मात्र कारोबार गर्न सकेको छ, जसले व्यापार अझै दबाबमा रहेको देखाउँछ।
वित्तीय अवस्था र घाटा
व्यापार घटेका कारण कम्पनीले विगत तीन आर्थिक वर्ष (सन् २०२३ देखि २०२५ सम्म) लगातार खुद नोक्सानी व्यहोर्दै आएको छ। यद्यपि, सञ्चालन मुनाफामा भने केही सुधार देखिएको छ। सन् २०२४ मा ३.६३ प्रतिशत रहेको सञ्चालन मुनाफा २०२५ मा बढेर ५.०५ प्रतिशत पुगेको छ। कम्पनीको पुँजीगत संरचना निकै जोखिमपूर्ण देखिएको छ। कम्पनीको नेटवर्थ र ऋणको अनुपात ३.२३ गुणा छ, जसले कम्पनी बैंक ऋणमा बढी निर्भर रहेको पुष्टि गर्छ।
सन् १९९५ मा स्थापना भएको यो उद्योगको नेतृत्व प्रतिष्ठित व्यवसायी वीरेन्द्र कुमार संघाईले गरिरहेको छन्। संघाई परिवारको लगानी रहेको त्रिवेणी ग्रुपको बैंकिङ, बीमा, उत्पादन र व्यापार क्षेत्रमा बलियो उपस्थिति छ। बाराको चट्टापिपरामा रहेको यो उद्योगको वार्षिक उत्पादन क्षमता १८,००० मेट्रिक टन रहेको छ। रक्सौल सीमाबाट मात्र १२ किलोमिटरको दूरीमा उद्योग रहेकाले कच्चा पदार्थ आयातमा यसलाई सहज छ।
दाल र तेल नेपालको आधारभूत खाद्य वस्तु भएकाले बजारमा यसको माग सधैं रहने निश्चित छ। तर, डलरको मूल्यमा हुने उतारचढाव, अन्तर्राष्ट्रिय बजारमा कृषि उपजको मूल्यमा हुने परिवर्तन र स्थानीय बजारमा हुने तीव्र प्रतिस्पर्धा कम्पनीका लागि मुख्य चुनौती हुन्। आगामी दिनमा कम्पनीले आफ्नो कार्यशील पुँजी व्यवस्थापन कसरी गर्छ र व्यापारलाई पुरानै लयमा कसरी फर्काउँछ भन्ने कुराले यसको साख सुधारमा महत्त्वपूर्ण भूमिका खेल्ने देखिन्छ।