काठमाडौं । चिनियाँ साझेदारीमा ६८८ मेगावाटका ५ ठुला जलविद्युत आयोजना निर्माण हुने भएका छन । लगानी बोर्डले स्वीकृति दिएकाले यी सबै आयोजनालाई लगानी ल्याउन बाटो खुला भएको छ ।
३२७ मेगावाटको माथिल्लो मस्र्याङ्गदी–२, ४२.५ मेगावाटको आँखुखोला, ५७.३ मेगावाटको म्याग्दीखोला, ९७.२ मेगावाटको इस्वाखोला र १६४ मेगावाटको कालिगण्डकी गर्ज जलविद्युत आयोजना निर्माण हुन लागेका हुन । यी आयोजनामा नेपाली र चिनियाँको गरी १ खर्ब ३७ अर्ब ४३ करोड रुपैया लगानी हुने अनुमान गरिएको छ ।
जसअनुसार माथिल्लो मस्र्याङदी आयोजना बनाउन ७८ अर्ब ६५ करोड, आँखुखोलामा ६ अर्ब ३० करोड, म्याग्दीखोलामा १० अर्ब ३१ करोड, इस्वाखोलामा १३ अर्ब ५७ करोड र कालिगण्डकी गर्जमा २८ अर्ब ६ करोड रुपैयाँ लगानी हुने भएको छ ।
माथिल्लो मस्र्याङदी आयोजना बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) ले ३ ओटा चिनियाँ कम्पनीको साझेदारीमा निर्माण गर्न लागेको छ । यसमा बीपीसीको १९.५ र बाँकी ७९.५ प्रतिशत चिनियाँ कम्पनीको स्वामित्व हुने छ ।
यो आयोजना बनाउन एसईआईजी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी स्थापना भइसकेको छ । यही कम्पनीबाट अन्य आयोजना निर्माण हुने भएको छ ।
बीपीसी र ३ ओटा चिनियाँ कम्पनीहरुको साझेदारीमा आउँदो ५ वर्षमा १ हजार मेगावाट बिजुली उत्पादन गर्ने र २ खर्ब रुपैयाँ लगानीको सहमति गरेका छन ।
यस्तै कालिगण्डकी गर्ज र आँखुखोलामा पनि चिनियाँ लगानी आउने भएको छ । यी दुई आयोजना नेपालको हाइड्रो सलुसन्सले चीनियाँ कम्पनीको साझेदारीमा बनाउने तयारी भएको अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले बताएका छन ।
इस्वाखोला, म्याग्दीखोला आयोजनामा भने लगानी खुलेको छैन । पछिल्लो समयमा नेपालको जलविद्युतमा चिनियाँ लगानी आउन थालेको छ ।
चीनको सिनो हाइड्रो कर्पोरेशनले ५० मेगावाटको माथिल्लो मस्र्याङदी आयोजनाबाट बिजुली उत्पादन गरिरहेको छ । यस्तै नेपालीसंगको साझेदारीमा चीनकै सीडब्ल्युईले २५ मेगावाटको मादी जलविद्युत आयोजनाबाट बिजुली उत्पादन गरिरहेको छ ।