काठमाडाैं। एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्दा उच्चस्तरीय टोलीसहित नेपाल भ्रमणमा आइपुगेका छन्। कान्दा तीन दिने भ्रमणका लागि उच्चस्तरीय टोलीको नेतृत्व गर्दै आइतबार राति काठमाडौं आइपुगेका हुन्।
यो भ्रमण नेपालको कूटनीतिक दृष्टिकोणले पनि महत्वपूर्ण बनेको छ। काठमाडौंस्थित विदेशी राजदूत र नेपाल भ्रमणमा आउने विदेशी उच्च अधिकारीहरूसँग एक्लाएक्लै भेटलाई अस्वीकार गर्दै आएका प्रधानमन्त्री बालेन्द्र शाहले भने एडीबी अध्यक्ष कान्दासँग भेट्ने भएका छन्, र कान्दा नै प्रधानमन्त्री शाहलाई एक्लाएक्लै भेट्ने पहिलो विदेशी अधिकारी हुनेछन्। मंगलबार बिहान साढे १० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुवैबीच भेटघाट निश्चित भएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ।
सोमबार अध्यक्ष कान्दाले अर्थमन्त्री स्वर्णिम वाग्ले तथा अन्य सरकारी अधिकारीहरूसँग भेटवार्ता गर्नेछन्। कान्दाको भ्रमणका क्रममा नेपाल र एडीबीबीच ५ करोड अमेरिकी डलरबराबरको ऋण सम्झौतामा हस्ताक्षर हुनेछ, जसले भन्सार प्रशासनको आधुनिकीकरण र व्यापार सहजीकरणमा सहयोग पुर्याउनेछ।
भ्रमणलाई परराष्ट्र नीतिको दृष्टिले पनि व्याख्या गरिँदैछ। परराष्ट्र मामिलाका जानकारहरूले प्रधानमन्त्री शाहले विदेशी नेता तथा अधिकारीसँगको भेटघाटमा अपनाएको कडा प्रोटोकललाई नेपालको कूटनीतिक अभ्यासमा नयाँ दिशा दिने प्रयासका रूपमा व्याख्या गरेका छन्, जसले परराष्ट्र नीतिमा एकीकृत नेतृत्व स्थापित गर्ने र व्यक्तिकेन्द्रित भन्दा राज्य–केन्द्रित संस्थागत कूटनीतिलाई प्राथमिकता दिने संकेत गर्छ।
भ्रमण केवल भेटघाटमै सीमित छैन। नेपाल भ्रमणका क्रममा कान्दाले एडीबीको लगानीमा सञ्चालन भइरहेका विभिन्न विकास आयोजनाको स्थलगत निरीक्षण पनि गर्नेछन्। प्रतिनिधिमण्डलमा दक्षिण, मध्य तथा पश्चिम एसियाका लागि एडीबीकी उपाध्यक्ष तथा नेपाली नागरिक सोना श्रेष्ठ पनि रहनेछिन्।
मंगलबारको भेटपछि कान्दा नेपालबाट फर्कने कार्यक्रम छ। जापानी अर्थ मन्त्रालयमा लामो समय काम गरेका र नोभेम्बर २०२४ मा एडीबीको ११औं अध्यक्षमा निर्वाचित भएका कान्दाको यो भ्रमणले नेपाल-एडीबी विकास साझेदारी अझ प्रगाढ बनाउने र नयाँ सरकारसँग सम्बन्ध स्थापित गर्ने दुवै उद्देश्य बोकेको देखिन्छ।