काठमाडौं। चालू आर्थिक वर्ष २०८२/८३ मा प्रदेश सरकारले कूल विनियोजित बजेटको न्यून खर्च गरेका छन्। सातै प्रदेश सरकारले चालू आवमा विनियोजित बजेटको खर्च न्यून मात्रामा गरेका हुन्। सात प्रदेशमध्ये सबैभन्दा ठूलो बजेट आकार भएको बागमती सरकारको बजेट खर्च न्यून देखिएको छ।
बागमती सरकारले विनियोजित बजेटको ६८.५८ प्रतिशत खर्च गरेको छ। बागमती सरकारले चालू आर्थिक वर्षका लागि कुल ६७ अर्ब ४७ करोड ८३ लाख २७ हजार रुपैयाँमध्ये असार २५ गतेसम्मको अवधिमा कुल ४६ अर्ब २७ करोड ७७ लाख १९ हजार ९२८ रुपैयाँ खर्च गरेको हो।
चालू खर्चतर्फ विनियोजित २५ अर्ब ८१ करोड ३५ लाख ९० हजार रुपैयाँमध्ये १७ अर्ब ६३ करोड ७४ लाख ३२ हजार रुपैयाँ (६८.३३ प्रतिशत) खर्च भएको छ। पुँजीगत खर्चतर्फ ४१ अर्ब ६६ करोड ४७ लाख ३६ हजार रुपैयाँमध्ये २८ अर्ब ६४ करोड २ लाख ८७ हजार रुपैयाँ (६८.७४ प्रतिशत) खर्च भएको छ।
सबैभन्दा कम मधेस सरकारले ५६.३१ प्रतिशत मात्र बजेट खर्च गरेको छ। सरकारले चालू आर्थिक वर्षका लागि कुल ४६ अर्ब ९८ करोड रुपैयाँ बजेटमध्ये २६ अर्ब ४६ करोड रुपैयाँ खर्च भएको छ। चालू खर्चतर्फ १५ अर्ब ६४ करोड रुपैयाँ विनियोजन गरिएकामा ९ अर्ब ४९ करोड रुपैयाँ अर्थात् ६०.६९ प्रतिशत खर्च भएको छ। पुँजीगततर्फ ३१ अर्ब ३४ करोड रुपैयाँ बजेटमध्ये १६ अर्ब ९७ करोड रुपैयाँ अर्थात् ५४.१२ प्रतिशत खर्च भएको छ।
कोशी प्रदेशले चालू आर्थिक वर्षका लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट ल्याएको थियो। जसमध्ये २४ अर्ब ८० करोड ६९ लाख ८६ हजार ३६८ रुपैयाँ खर्च गरेको छ। यो कुल बजेटको ६९.९९ प्रतिशत हुन आउँछ। सरकारले चालूतर्फ १८ अर्ब ६७ करोड ३३ लाख रुपैयाँ (५२ प्रतिशत) र पुँजीगततर्फ १७ अर्ब १० करोड ६५ लाख रुपैयाँ (४७.७ प्रतिशत) खर्च गरेको छ।
यसैगरी, गण्डकी प्रदेश सरकारले कुल बजेटको ६४.२६ प्रतिशत बजेट खर्च गरेको छ। सरकारले चालू वर्ष ३२ अर्ब ६ करोड ८ लाख ३५ हजार रुपैयाँको बजेट कार्यान्वयन गर्दै २० अर्ब ६० करोड ५० लाख ६५ हजार ९७८ रुपैयाँ खर्च गरेको हो। चालुतर्फ ७ अर्ब ६० करोड ८४ लाख रुपैयाँ (६०.६ प्रतिशत) र पुँजीगततर्फ १२ अर्ब ९९ करोड ६६ लाख रुपैयाँ (६७.४ प्रतिशत) खर्च भएको छ।
लुम्बिनी प्रदेश सरकारले कुल बजेटको ६७.१८ प्रतिशत खर्च गरेको छ। सरकारले ३८ अर्ब ९१ करोड ३४ लाख ४३ हजार रुपैयाँको कुल बजेटमध्ये २६ अर्ब १४ करोड दुई लाख ७९ हजार ४०७ रुपैयाँ खर्च भएको हो।
सरकारले चालूतर्फ विनियोजन गरेको १५ अर्ब ४३ करोड ८५ लाख ३५ हजार रुपैयाँमध्ये १० अर्ब ४६ करोड २३ लाख १४ हजार ८८२ रुपैयाँ अर्थात् ६७.७६ प्रतिशत खर्च गरेको छ। पुँजीगततर्फ विनियोजन गरिएको २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार रुपैयाँमध्ये १५ अर्ब ६७ करोड ७९ लाख ६४ हजार ५२४ रुपैयाँ अर्थात् ६६.८० प्रतिशत खर्च भएको छ।
त्यस्तै, कर्णाली प्रदेशले ३३ अर्ब १९ करोड ३६ लाख ५५ हजार बराबरको बजेट ल्याएकोमा २० अर्ब ५७ करोड १२ लाख ८ हजार ३७८ रुपैयाँ खर्च गरेको हो। । यो रकम कुल बजेटको ६१.९७ प्रतिशत मात्र रकम हो।
सरकारले चालूतर्फ १२ अर्ब ५९ करोड ४३ लाख १७ हजार रुपैयाँ बजेटमध्ये ९ अर्ब २५ करोड ४३ लाख ८१ हजार ६७५ रुपैयाँ अर्थात् ७३.४८ प्रतिशत खर्च भएको छ। तर, पूँजीगततर्फ १९ अर्ब ९८ करोड ४३ लाख ३८ हजार रुपैयाँ बजेटमध्ये ११ अर्ब १३ करोड ९३ लाख २६ हजार ७०३ रुपैयाँ मात्र खर्च हुँदा प्रगति ५५.७४ प्रतिशतमा सीमित भएको छ
सुदूरपश्चिम प्रदेशले सरकारले चालू वर्षका लागि विनियोजित ३३ अर्ब ४३ करोड २५ लाख ३३ हजार चार सय बजेटमध्ये २० अर्ब ८३ करोड ९२ लाख ५१ हजार रुपैयाँ खर्च भएको छ।
सरकारले चालूतर्फ १३ अर्ब ५९ करोड २८ लाख रुपैयाँ विनियोजन गरिएकोमानौ अर्ब २७ करोड २४ लाख रुपैयाँ खर्च भएको छ। पुँजीगततर्फ विनियोजित १९ अर्ब ८२ करोड ९६ लाख ८६ हजार रुपैयाँमध्ये ११ अर्ब ५६ करोड ८२ लाख रुपैयाँ मात्र खर्च गर्न सकेको छ। यो कुल बजेटको ६२.३३ प्रतिशत खर्च गरेको छ।