काठमाडौं। संयुक्त अरब इमिरेट्स (युएई)ले नेपालको कृषि, रेलवे तथा सूचना प्रविधि क्षेत्रमा लगानी विस्तार गर्ने स्पष्ट संकेत दिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव र युएईका वैदेशिक व्यापार मन्त्री डा. थानी बिन अहमद अल जियोडीबीच शुक्रबार सिंहदरबारमा भएको उच्चस्तरीय भेटवार्तामा युएईले कृषि, रेलवे र हरित डाटा सेन्टर स्थापना लगायतका क्षेत्रमा लगानी गर्न आफूहरू तयार रहेको जनाएको हो।
भेटका क्रममा युएईका मन्त्री डा. थानीले नेपालको नयाँ सरकारप्रति विश्वास व्यक्त गर्दै लगानीमैत्री वातावरण निर्माण भए युएईका सरकारी तथा निजी क्षेत्र नेपालमा लगानी विस्तार गर्न इच्छुक रहेको बताए। उनले लगानीका लागि आवश्यक नीतिगत तथा प्रशासनिक सहजीकरण गरिदिन नेपाली पक्षसँग आग्रह गरे।
युएईले विशेषगरी नेपालको कृषि क्षेत्रमा लगानी गर्न प्राथमिकता दिएको छ। कृषि उत्पादन, प्रशोधन तथा मूल्य शृङ्खला विकासका परियोजनामा सहकार्य गर्न चाहेको युएई पक्षले जनाएको छ। त्यस्तै, युएईबाट आएको उच्चस्तरीय प्रतिनिधिमण्डलले नेपालको रेलवे क्षेत्रमा निजी क्षेत्रबाट लगानी गर्ने इच्छा व्यक्त गर्दै आवश्यक कानुनी र व्यावहारिक सहजीकरणको अपेक्षा राखेको छ।
भेटवार्तामा सूचना प्रविधि क्षेत्र पनि प्राथमिकतामा परेको थियो। युएई पक्षले नेपालमा हरित (ग्रीन) डाटा सेन्टर स्थापना गर्ने योजना रहेको जानकारी दिँदै त्यसका लागि आवश्यक लगानी भित्र्याउन आफूहरू तयार रहेको जनाएको छ। नेपालको स्वच्छ ऊर्जा स्रोतलाई उपयोग गर्दै डाटा सेन्टर स्थापना गर्न सकिने सम्भावना रहेको उनीहरूको भनाइ थियो।
दुवै पक्षबीच नेपालमा उत्पादन हुने फलफूल, तरकारी लगायतका कृषि उपज युएई निर्यात गर्ने विषयमा पनि छलफल भएको छ। नेपाली उत्पादनलाई युएई बजारमा सहज रूपमा प्रवेश गराउन खाद्य गुणस्तर परीक्षण, प्रमाणीकरण (स्ट्यान्डर्डाइजेसन) तथा प्राविधिक सहयोगका क्षेत्रमा लगानी र सहकार्य गर्ने प्रतिबद्धता युएईले जनाएको छ।
भेटका क्रममा उद्योग मन्त्री यादवले नेपाल–युएई व्यापार मञ्चलाई थप विस्तार र सुदृढ बनाउन प्रस्ताव राखेकी थिइन्। युएई पक्षले उक्त प्रस्तावलाई सकारात्मक रूपमा लिँदै आगामी दिनमा यसबारे थप ठोस छलफल अघि बढाउने जनाएको छ।
मन्त्री यादवले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको उडान सञ्चालनका लागि देखाएको चासोप्रति युएई सरकारलाई धन्यवाद पनि व्यक्त गरिन्।