काठमाडौं। नेपालको इन्टरनेट सेवा प्रदायक कम्पनी भियानेट कम्युनिकेसन लिमिटेडले आफ्नो वार्षिक आम्दानीको तुलनामा ठूलो मात्रामा बैंक ऋण परिचालन गर्ने भएको छ। केयर रेटिङ्स नेपालले हालै सार्वजनिक गरेको प्रतिवेदन अनुसार कम्पनीले कुल ३ अर्ब १८ करोड रुपैयाँ बराबरको ऋण सुविधाका लागि रेटिङ गराएको हो।
वार्षिक २ अर्ब ४० करोड ४० लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी रहेको कम्पनीको यो ऋण भार आम्दानी भन्दा पनि बढी देखिएको छ। कम्पनीले आफ्नो व्यापार विस्तार र कानुनी दायित्व पुरा गर्नका लागि ठूलो मात्रामा वैदेशिक तथा आन्तरिक ऋणमा भर परेको प्रतिवेदनले देखाएको छ।
भियानेटले यति ठूलो मात्रामा ऋण लिनुको मुख्य कारण सर्वोच्च अदालतको पछिल्लो फैसला र त्यसले सिर्जना गरेको आर्थिक दायित्वलाई मानिएको छ। २०८१ वैशाख ३१ गते सर्वोच्च अदालतले इन्टरनेट सेवा प्रदायकहरूले ब्यान्डविथ बाहेक मर्मतसम्भार शुल्कमा पनि रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडिएफ) बुझाउनुपर्ने फैसला गरेपछि कम्पनीमा ४३ करोड ३० लाख रुपैयाँको अतिरिक्त दायित्व थपिएको छ। यो पुरानो बक्यौता रकम तिर्नका लागि कम्पनीले बैंक ऋणको सहारा लिनुपरेको प्रतिवेदनमा उल्लेख छ। यसबाहेक कम्पनीले आफ्नो कार्यगत पुँजी व्यवस्थापन र नेटवर्क विस्तारका लागि पनि ऋण परिचालन गरेको छ।
ऋणको जोखिम विश्लेषण गर्दै केयर रेटिङ्स नेपालले कम्पनीको दीर्घकालीन ऋणलाई ‘डबल बी माइनस’ र अल्पकालीन ऋणलाई ‘ए फोर’ रेटिङ प्रदान गरेको छ। यो रेटिङले कम्पनीसँग ऋण तिर्न सक्ने मध्यम क्षमता रहेको र यसमा केही जोखिमहरू विद्यमान रहेको संकेत गर्दछ।
आर्थिक वर्ष २०२४/२५ मा कम्पनीको आम्दानी अघिल्लो वर्षको २ अर्ब ३० करोड ६० लाखबाट बढेर २ अर्ब ४० करोड ४० लाख पुगेको भए पनि कम्पनीको खुद नाफा मार्जिन भने निकै न्यून अर्थात् करिब ३ प्रतिशतको हाराहारीमा मात्रै खुम्चिएको छ। कम्पनीको ब्याज तिर्ने क्षमता ३.५७ गुणा रहेकाले हालसम्मको ब्याज भुक्तानीमा ठूलो समस्या नदेखिए पनि भविष्यमा ऋणको भारले नाफामा अझै दबाब दिने सम्भावना छ।
सेवाको हिसाबले भियानेट नेपालको चौथो ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी हो, जसले कुल बजारको १०.२९ प्रतिशत हिस्सा ओगटेको छ। सन् १९९९ देखि सञ्चालनमा रहेको यो कम्पनीले ७ प्रदेशका ५८ जिल्लामा आफ्नो सेवा विस्तार गरेको छ। कम्पनीको आम्दानीको मुख्य स्रोत रिटेल इन्टरनेट र आईपीटीभी सेवा हो, जसले कुल कारोबारको ७७ प्रतिशत हिस्सा ओगटेको छ। तर बजारमा बढ्दो तीव्र प्रतिस्पर्धा र ठूला कम्पनीहरूबीचको मूल्य युद्धले भियानेटको बजार हिस्सा र नाफा दुवैलाई चुनौती दिएको छ। विशेष गरी नेपालका शीर्ष ५ इन्टरनेट कम्पनीले ७१ प्रतिशत बजार कब्जा गरेका कारण भियानेटले ग्राहक टिकाइराख्न ठूलो खर्च गर्नुपर्ने बाध्यता छ।
कम्पनीको लगानी संरचनामा अध्यक्ष तथा प्रबन्ध निर्देशक विनय बोहराको मुख्य भूमिका रहेको छ र उनको कम्पनीमा ८५ प्रतिशत सेयर स्वामित्व छ। कम्पनीको व्यवस्थापन प्रमुख कार्यकारी अधिकृत सेवा पाठकले सम्हाल्दै आएकी छन् भने सञ्चालक समितिमा बैंकिङ क्षेत्रका विज्ञ परशुराम कुँवर क्षेत्री समेत रहेका छन्।
यति बलियो व्यवस्थापन भए पनि कम्पनीको आर्थिक स्वास्थ्यमा केही गम्भीर चुनौतीहरू औंल्याइएको छ। कम्पनीको तुरुन्तै दायित्व तिर्न सक्ने क्षमता अर्थात् करेन्ट रेसियो १ भन्दा कम अर्थात् ०.७९ मात्रै रहेकाले छोटो अवधिमा नगद प्रवाहमा समस्या हुन सक्ने देखिन्छ। साथै डलरको भाउमा हुने उतारचढाव र प्रविधिमा हुने द्रुत परिवर्तनले कम्पनीको लगानी जोखिममा पार्न सक्ने नकारात्मक संकेतहरू प्रतिवेदनले देखाएको छ।
२ अर्ब ४० करोड आम्दानी गर्ने कम्पनीले ३ अर्ब १८ करोडको ऋण चलाउनुलाई वित्तीय जोखिमको रूपमा हेरिए पनि कम्पनीले आफ्नो २५ वर्षको अनुभव र बजार साखका आधारमा यसलाई व्यवस्थापन गर्ने लक्ष्य लिएको छ। तर, बजारको अस्थिरता र कानुनी दायित्वको भारले गर्दा आगामी दिनमा भियानेटको वित्तीय अवस्था कस्तो हुन्छ भन्ने कुरा उसको आम्दानी वृद्धि र प्रभावकारी ऋण व्यवस्थापनमा भर पर्ने देखिन्छ।