काठमाडौं। दोस्रो संस्करणको 'नाइमा मोबिलिटी एक्स्पो २०२६' नयाँ गाडी खरिद गर्ने उपभोक्ताका लागि विशेष बन्ने देखिएको छ। नेपाल अटोमोबाइल इम्पोर्टस् एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा हुने यस एक्स्पोमा नयाँ ब्रान्ड र दर्जनौं नयाँ मोडलका गाडी प्रदर्शनीसँगै ब्रान्डबीच प्रतिस्पर्धा पनि उत्तिकै तीव्र हुने देखिएको छ।
एक्स्पो आगामी साउन २६ देखि ३१ गतेसम्म भृकुटीमण्डपमा सञ्चालन हुँदैछ र यसको मिति नजिकिँदै गर्दा नेपाली अटो बजारमा नयाँ प्रतिस्पर्धी ब्रान्ड भित्रिने क्रम पनि तीव्र बन्दै गएको छ। व्यवसायीहरूका अनुसार यसपटकको एक्स्पोमा विद्युतीय सवारीसाधन (ईभी), हाइब्रिड र डिजेल-पेट्रोल तीनै प्रकारका गाडी प्रदर्शनीमा राखिनेछन्।
नाइमाका संयोजक गौरव सारडाका अनुसार गत वर्षको पहिलो एक्स्पो अपेक्षाभन्दा राम्रो भएपछि नै यसपटक दोस्रो संस्करण आयोजना गर्ने निर्णय गरिएको हो। "गत वर्षको एक्स्पोबाट हामीले पाएका सुझाव र प्रतिक्रियालाई यसपटक विशेष ध्यान दिएका छौं," उनले भने, "एक्स्पो मनसुनकै समयमा पर्ने भएकाले वर्षाका कारण आवतजावतमा असुविधा नहोस् भन्ने उद्देश्यले बाटो व्यवस्थापन र सुधारमा हामीले विशेष जोड दिएका छौं।"
गत वर्षको तुलनामा यसपटकको एक्स्पो झनै उत्कृष्ट हुने उनको दाबी छ। उनका अनुसार प्रदर्शकहरूलाई आफ्ना उत्पादन र सेवा उत्कृष्ट ढंगले प्रस्तुत गर्न भनिएको छ, किनभने कुनै पनि अटो शोको मुख्य आकर्षण नै त्यहाँ राखिने गाडी, उत्पादन र सेवा हुन्। त्यसैले अतिरिक्त तामझामभन्दा पनि अटोमोबाइल क्षेत्रका उत्कृष्ट उत्पादन, पछिल्लो प्रविधि र सेवामार्फत आगन्तुकलाई समृद्ध अनुभव दिनु नै यसपटकको मूल लक्ष्य रहेको सारडाले बताए।
यसका साथै यसपटकको एक्स्पोमा नाइमाको मूल फोकस पनि उत्पादन र सेवामै केन्द्रित रहनेछ। आगन्तुकहरूले इलेक्ट्रिक कार, डिजेल-पेट्रोल कार, हाइब्रिड कार, दुईपांग्रे सवारीसाधन, व्यावसायिक सवारीसाधन र चार्जिङ सोलुसनसहित अटोमोबाइल क्षेत्रका पछिल्ला प्रविधि एकै ठाउँमा नजिकबाट नियाल्ने र अनुभव गर्ने अवसर पाउनेछन्।
नेपालको अग्रणी व्यावसायिक घराना लक्ष्मी ग्रुपले पनि अटोमोबाइल क्षेत्रमा आफ्नो उपस्थिति थप बलियो बनाउँदै आगामी एक्स्पोमा तीन नयाँ प्रिमियम ब्रान्ड र पुरानै बिक्री गरिरहेका ब्रान्डका नयाँ मोडल ल्याउने तयारी गरेको छ। लक्ष्मी ग्रुपका महाप्रबन्धक दीपक थपलियाका अनुसार हाल हुन्डाई, बीएमडब्लू, केआईए र फर्थिङजस्ता ब्रान्ड बिक्री गर्दै आएको कम्पनीले यसपटक चिनियाँ प्रिमियम ब्रान्ड बीएआईसी, आर्कफक्स र जेटोर नेपाल भित्र्याउने योजना बनाएको छ, जसमध्ये एउटा ब्रान्ड नेपाल भित्रिसकेको र बाँकी आउने क्रममा रहेको उनले जनाए।
नेपालमा विद्युतीय सवारीसाधनको लोकप्रियता बढ्दै जानु र प्रिमियम सेग्मेन्टप्रति उपभोक्ताको आकर्षण पनि उत्तिकै बढ्दै जानुलाई ध्यानमा राखेर कम्पनीले यो नयाँ रणनीति अपनाएको हो। यी मध्ये बीएआईसी चीनको सबैभन्दा पुरानो र प्रतिष्ठित सरकारी स्वामित्वको अटोमोबाइल समूह हो, जसले आधुनिक प्रविधियुक्त र फ्युचरिस्टिक डिजाइनका एसयूभी उत्पादन गर्दै आएको छ।
कम्पनीले यसको बीजे-३०ई नामक हाइब्रिड अफरोड-स्टाइल एसयूभी नेपाल ल्याउने भएको हो। त्यसैगरी चीनकै सरकारी स्वामित्वको चेरी अटोमोबाइल समूहअन्तर्गतको प्रिमियम एसयूभी ब्रान्ड जेटोर पनि नेपाल भित्रिँदैछ। जेटोरले विशेषगरी पारिवारिक यात्रा, लामो टुर र क्याम्पिङ रुचाउने ग्राहकलाई लक्षित गरी उच्च ग्राउन्ड क्लियरेन्स, मस्कुलर डिजाइन र आधुनिक हाइब्रिड पावरट्रेनयुक्त ठूला, आरामदायी र बलिया गाडी उत्पादन गर्छ। यसैगरी बीएआईसी समूहअन्तर्गतकै प्रिमियम र लक्जरी इलेक्ट्रिक ब्रान्ड आर्कफक्सको टी-वान इलेक्ट्रिक ह्याचब्याक पनि नेपाल भित्रिने तयारीमा छ। यीबाहेक लक्ष्मी ग्रुपले किआको ईभी-सिक्स को अपडेट संस्करण र नेपालमै उत्पादन हुने हुन्डाईका गाडी पनि एक्स्पोमा प्रदर्शन गर्ने जनाएको छ।
नेपालका लागि चेरीको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सले चेरी क्युक्यू-थ्री आगामी नाइमा मोबिलिटी एक्स्पोमार्फत नेपाल भित्र्याउने तयारी गरेको छ। कम्पनीका अनुसार यो गाडी तीन भेरियन्टमा पाँचवटा आकर्षक बाहिरी रङ र दुईवटा प्रिमियम इन्टेरियर कलर थिममा उपलब्ध हुनेछ। यसमा ९० किलोवाटको स्थायी म्याग्नेट इलेक्ट्रिक मोटर जडान गरिएको छ भने ब्याट्रीका रूपमा ४१.२ किलोवाट-अवर क्षमताको एलएफपी ब्याट्री राखिएको छ, जसले एकपटकको पूर्ण चार्जमा करिब चार सय किलोमिटरसम्म दूरी पार गर्न सक्ने दाबी गरिएको छ।
दोस्रो संस्करणको यस एक्स्पोमार्फत चीनको सबैभन्दा प्रिमियम र लक्जरी ब्रान्ड मानिने होङछी पनि नेपाल भित्रिन लागेको छ, जुन एडभान्स्ड अटोमोबाइल प्रालिले नेपाल प्रवेश गराउने तयारी गरेको हो। होङछी चीनको ऐतिहासिक प्रिमियम लक्जरी ब्रान्ड हो र विश्व बजारमा यसलाई 'चीनको रोल्स रोयस' भनेर चिनिन्छ, किनभने यसको डिजाइन, शान र विलासिता निकै उच्च स्तरको मानिन्छ।
सुरुसुरुमा होङछीका गाडी सर्वसाधारणका लागि बिक्री गरिँदैनथे; यी विशेष रूपमा चीनका उच्च पदस्थ सरकारी अधिकारी, कम्युनिस्ट पार्टीका शीर्ष नेता र विदेशी राष्ट्रप्रमुखहरूको सवारीका लागि मात्र निर्माण गरिन्थे। त्यसैले चीनमा यसलाई 'स्टेट भेहिकल' अर्थात् प्रतिष्ठाको प्रतीकका रूपमा हेरिन्छ। पूर्ण रूपमा चिनियाँ सरकारकै स्वामित्वमा रहेको यस ब्रान्डको व्यवस्थापन सरकारी स्वामित्वको अटोमोटिभ समूह एफएडब्लूले गर्दै आएको छ।
होङछीले हाल कम्बस्चन इन्जिन, हाइब्रिड र पूर्ण विद्युतीय तीनै प्रकारका पावरट्रेनका गाडी उत्पादन गर्दै आएको छ, जसमध्ये नेपालमा भने विद्युतीय मोडल मात्र आउन लागेका हुन्। चीनमा हाल यस ब्रान्डका ई-एचएस४, एचएस३, ई-क्युएम५, ई-एचएस७, ई-एचएस९ र ई-एच७ लगायतका मोडल उपलब्ध छन्, जसमध्ये एडभान्सले सुरुमा ई-एचएस४ र ई-एचएस९ मोडल नेपाल ल्याउन लागेको छ। यी गाडीहरूको आयात प्रक्रिया पहिले नै सुरु भइसकेको कम्पनीले जनाएको छ।