काठमाडौ । रसुवाको धार्मिकस्थल गोसाइकुण्डमा केही वर्षपछि केवलकारबाट पुग्न सकिने भएको छ । निजी लगानीमा रसुवाको गोसाईकुण्डसम्म पुग्न केवलकार निर्माण हुन लागेको हो । गोसाइकुण्डसम्म पुग्न अहिले ३ ओटा कम्पनीले ३ स्थानबाट केबलकार निर्माणको प्रस्ताव गरेको लगानी बोर्डले जनाएको छ ।
धुन्चेबाट गोसाइकुण्ड, घुसाङबाट गोसाइकुण्ड र घयाङफेदीबाट गोसाइकुण्डमा जानका लागि ३ ओटा कम्पनीले प्रस्ताव पेश गरेका हुन । धुन्चे गोसाइकुण्ड केवलकार प्रालि, कुटुसाङ गोसाइकुण्ड केवलकार प्रालि र घ्याङफेदी–गोसाईकुण्ड केबलकार कम्पनी प्रालिले लगानी बोर्डमा प्रस्ताव गरेका छन । नेपाली लगानीकर्ताबाट केवलकार सञ्चालनका लागि प्रस्ताव पेश भएको छ ।
धुन्चेबाट गोसाइकुण्डसम्म केवलकारबाट पुग्न १०.९७, कुटुसाङबाट १७ र घयाङफेदीबाट १०.२ किलोमिटर रहेको छ । संभाव्यता अध्ययनअनुसार धुन्चेबाट गोसाइकुण्डसम्म जान ६ अर्ब ३ करोड, कुटुसाङबाट ६ अर्ब ८ करोड र घयाङफेदीबाट ९ अर्ब ९० करोड रुपैयाँ लाग्ने कम्पनीहरुले पेश गरेको प्रस्तावमा उल्लेख छ । घयाङफेदीबाट १०० वेडका २ ओटा रिसोर्टसमेत सञ्चालन गर्ने प्रस्तावमा उल्लेख छ ।
३ स्थानबाट केवलकार सञ्चालन गर्दा आर्थिक रुपमा संभाव्य नहुने भएपछि बोर्डले एक स्थानबाट मात्र केवलकार सञ्चालनको अनुमति दिने तयारी गरेको छ ।
एउटा परियोजनामा ३ ओटा प्रस्ताव आएपछि लगानी बोर्डले ‘स्वीस च्यालेन्ज’ मोडेलबाट केवण्लकार निर्माणको प्रक्रिया अघि बढाउने निर्णय गरेको बोर्ड स्रोतले बतायो । गत शुक्रबार बसेको बोर्डको ४४ औं बैठकले केवलकार स्वीस च्यालेन्ज मोडलबाट अघि बढाउने निर्णय गरेको हो ।
जसअनुसार प्रतिस्पर्धा नगरी सिधै वार्ता गरी आकर्षक प्रस्ताव गर्ने आर्थिक तथा प्राविधिक रुपमा सक्षम कम्पनीलाई केवलकार निर्माणको जिम्मा दिने तयारी बोर्डले गरेको स्रोतको भनाई छ ।
बोर्डले अनुमति दिएपछि केवलकारको संभाव्यता र वातावरणीय प्रभाव मूल्याँकन (ईआईए) को प्रक्रिया अघि बढ्ने छ । केवलकार परियोजना लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र पर्छ ।
नेपालको पहिलो मनकामना केवलकार हो । त्यसपछि काठमाडौंको चन्द्रागिरि हिल्स र तेस्रो दोलखाका कालिन्चोक केवलकार सञ्चालनमा छन । ताप्लेजुङको पाथिभरा, प्यूठानको स्वर्गद्धारी, कास्कीको पुम्दीभुम्दी, नवलपरासीको मौलाकालिका मुक्तिनाथ केवलकार, शिवपुरीजस्ता क्षेत्रमा केवलकार परियोजना अगाडी बढ्ने प्रक्रियामा रहेका छन ।
कठिन भौगोलिक अवस्था रहेको नेपालमा सडक यातायात अत्यन्तै खर्चिलो र जोखिमपूर्ण भएकाले केवलकार उपर्युक्त यातायातको साधन समेत बन्न सक्ने देखिएको छ ।