काठमाडौं । धेरै वर्ष देखि दूध र केही वर्षदेखि जुत्ताको सोलमा पनि नेपाल आत्मनिर्भर भइसक्दा पनि सरकारले तयार परेको आत्मनिर्भर उन्मुखको सूचीमा ती वस्तु परेका छैनन् । सरकारले हालसालै ३० ओटा वस्तुको सूची तयार पारेको छ । र त्यसमाथि आवश्यक छलफल गरिरहँदा दूध र सोललाई नराख्नु अनौठो भएको उद्योगी÷व्यवसायीले बताएका छन् ।
नेपाल डेरी एसोसिएसनका पूर्व अध्यक्ष सुमित केडियाले आत्मनिर्भर भइसकेको दूध सरकारले तयार पारेको सूचीमा देखिएन । तर, यो क्षेत्र निकै लामो समयदेखि आत्मनिर्भर भइसकेको र यसलाई पनि सूचीमा राख्न आग्रह गरे ।
त्यसैगरी, जुत्ताको सोलमा पनि देश पूर्ण रुपमा आत्मनिर्भर भइसकेको छ । केही वर्षअघिसम्म जुत्ताको सोल विदेशबाट आयात गर्नुपर्ने अवस्था थियो । तर, अहिले नेपालको मागलाई पुग्ने गरी सोल देशभित्रै उत्पादन हुने भएकाले यसलाई पनि आत्मनिर्भरको सूचीमा राख्नुपर्ने उद्योगी राजेश अग्रवालले बताए ।
देशभित्रको मागलाई पूरा गरेर पनि भारतसहित अन्य देशमा पनि सोल निर्यात हुन थालिसकेको अवस्थामा यसलाई आत्मनिर्भरको सूचीमा नराख्नु दुखद् भएको उनको भनाइ छ । देशभित्र पीयू, पीभीसी, रबर सोल बनिरहेका छन् ।
नेपालबाट अहिले मासिक रुपमा ६० हजार जोर सोल भारत निकासी भइरहेको छ । त्यसैगरी तेस्रो मुलुक पनि निर्यात गर्ने तयारी भइरहेको मिलानो फूटवयेर प्रालिका प्रवन्ध निर्देशक समेत रहेका उद्योगी अग्रवालले बताए ।
अहिलेसम्म सरकारले सोललाई कच्चा पदार्थको सूचीमा राखेकाले नेपालमा उत्पादित सोलले बजार लिन नसकेको पनि बताए । ‘हिजोका दिनमा सोल कच्चा पदार्थ थियो,’ उनले भने, ‘तर, आज नेपालमै उत्पादन हुन थालेपछि सोल पनि तयारी वस्तु भइसकेको छ । अब सरकारले सोललाई तयारी वस्तुको सूचीमा राखेर सोही अनुसार भन्सार लगाउनुपर्छ ।’
यदि कच्चा वस्तुकै सरह कम भन्सार लगाइरहने हो भने देशभित्र खोलिएका उद्योग बाच्ने नसक्ने उनको भनाइ । उद्योग मन्त्रालयले तत्काल यो विषयलाई सम्बोधन गर्नुपर्ने उनको भनाइ छ ।
सरकारले पूर्ण आत्मनिर्भरको सूची बनाएको होइन् । आत्मनिर्भर उन्मुख सूचीको तयार पारेको हो, त्यस हिसावले त दूध, सोल तथा दाना त अनिवार्य रुपमा छलफलको विषय बन्नुपर्ने केडियाले जानकारी दिए । यद्यपि, उद्याेग मन्त्रालयले तयार पारेकाे सूची भने अन्तिम हाेइन । यसमा नयाँ नयाँ वस्तुलाइ समाबेश गर्दै जाने बताएकाे छ ।
याे पनि पढ्नुस् : सरकारले तयार गर्यो आत्मनिर्भर उन्मुख ३० वस्तुको सूची, कुन कनु वस्तु समेटिए ?