काठमाडौं । अपी पावर कम्पनी लिमिटेडले निर्माण गर्न लागेको ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजनालाई लगानी जुटेको छ ।
हिमालयन बैंकको अगुवाइमा ५ अर्ब रुपैयाँ ऋण लगानी हुने भएको छ । अगुवा बैंक र अपी पावरबीच ऋण लगानी सम्झौता भएको छ । हिमालयनको सञ्चालक समितिले आयोजनाको अगुवा बैंक भई सहवित्तियकरण मार्फत लगानी गर्ने निर्णय गरेको छ ।
हिमालयनले आयोजनामा १ अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने छ । बाँकी साढे ३ अर्ब रुपैयाँ नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बंगलादेश बैंक र नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकले ऋण लगानी गर्ने कम्पनीका सञ्चालक सतिश न्यौपानेले बताए ।
अन्य बैंकहरुसंग ऋण लगानी सम्झौता हुन बाँकी छ । अयोजना बनाउन साढे ७ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । जसमध्ये ५ अर्ब ऋण र बाँकी स्वपुँजी (इक्विटी) लगानी हुने छ ।
कम्पनीले चमेलियाको निर्माण शुरु गरिसकेको न्यौपानेले जानकारी दिए । निर्माण सुरु भएको ३० महिना भित्र सम्पन्न गर्ने लक्ष्य अपीको छ । उनले असोजदेखि नै सिभिल निर्माणको काम थाल्ने बताए ।
दार्चुला जिल्लामा नै कम्पनीको यो तेस्रो आयोजना हो । ८.५ मेगावाटको नौगडगाढ र ८ मेगावाटको माथिल्लो नौगड गाढको निर्माण सम्पन्न भई आयआर्जन गरिरहेको छ ।
माथिल्लो चमेलियामा लगानी जुटाउन कम्पनीले १ बराबर ०.४७ को हकप्रद सेयर निष्कासन गर्न लागेको छ । हकप्रद सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड नियुत्त भएको छ ।
पहिलो चरणमा चुक्तापुँजीको १ बराबर ०.४७ प्रतिशत अर्थात ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको छ ।
पहिलो चरणको बिक्रीपछि कम्पनीले दोस्रो चरणको हकप्रद सेयर निष्कासन गर्ने सञ्चालक न्यौपानेले बताए । आयोजनाबाट २६ करोड ४१ लाख युनिट बिजुली उत्पादन हुने छ ।
आयोजनाबाट हिउँदमा ३० र वर्षादमा ७० प्रतिशत ऊर्जा उत्पादन हुने छ । आयोजनाबाट उत्पादन हुने बिजुली १३२ केभी बलाँच सवस्टेशनमा जोडिने छ ।
अपीले चमेलियाबाट उत्पादन हुने बिजुली नेपाल विद्युत प्राधिकरणसंग खरिदबिक्री सम्झौता (पीपीए) गरिसकेको छ । विद्युत विकास विभागबाट पनि विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) प्राप्त गरिसकेको छ । चमेलिया बनेपछि अपीको जडित क्षमता ५६.५ मेगावाट पुग्ने छ ।
चमेलिया आयोजना दार्चुलाको अपी हिमाल गाउँपालिकामा पर्छ । आयोजनाको मुल संरचना चमेलिया खोलाको बायाँ किनारमा पर्छ । बाँध अपी गाउँपालिका र विद्युतगृह मार्मा गाउँपालिकामा रहेको छ । २०४ मिटरबाट पानी खसालेर ४० मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य कम्पनीको छ ।