काठमाडौं । नेपाल इन्फास्ट्रक्चर बैंक (निफ्रा) ले पूर्वाधारमा लगानी जुटाउन विदेशी साझेदार भित्र्याउन प्रक्रिया अघि बढाएको छ । बैंकले आधादर्जन बढी विदेशी बैंकसंग साझेदारीका लागि कुरा अघि बढाएको छ ।
इन्फास्ट्रक्चरले विश्व बैंकक अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) एसियाली विकास बैंक (एडीबी), एसियन इन्फास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक (एआईआईबी), वेलायतको कमन वेल्थ डेभलपमेन्ट कर्पोरेशन (सीडीसी), सिङापुरको इन्फ्राको एसिया र नेदरल्याण्डको एफएमओसंग साझेदारीका लागि कुरा अघि बढाएको हो ।
इन्फास्ट्रक्चरले साझेदारीका लागि ती बैंकहरुलाई पत्राचार समेत गरेको छ । न्युनतम २० प्रतिशत सेयर विदेशी बैंक तथा वित्तीय संस्थालाई दिने योजना इन्फास्ट्रक्चरको छ ।
प्रतिष्ठित विदेशी बैंकको साझेदारी भएमा विदेशबाट सहज रुपमा सस्तोमा दीर्धकालका लागि पूर्वाधारमा ठुलो लगानी ल्याउने सकिने बुझाइ इन्फास्ट्रक्चर बैंक व्यवस्थापनको छ ।
पूर्वाधारमा ठुलो लगानी आवश्यक पर्ने र स्वदेशी पुँजीले मात्र नपुग्ने भएपछि विदेशबाट ऋण लगानी ल्याउन साझेदार भित्राउन लागिएको स्रोतको भनाई छ । छलफलमा रहेका कुनै एक बैंकसंग छिट्टै समझदारी हुने स्रोतको दावी छ ।
एनएमबी बैंकले एफएमओको साझेदारीका कारण साढे ६ अर्ब रुपैयाँ विदेशबाट ऋण लिइसकेको छ । विदेशी साझेदार भएमा सस्तो ब्याजमा ऋण लिन सकिने बुझाइ बैंकको छ ।
इन्फास्ट्रक्चरसंग साढे १३ अर्ब रुपैयाँ लगानी गर्ने पुँजी रहेको छ । ८ अर्ब रुपैयाँको प्राथमिक सेयर सेयर निष्कासन र दुई वर्षमा गरेको नाफा र सञ्चित कोषको रकमसमेत गरी बैंकसंग झण्डै २२ अर्ब रुपैयाँ पुँजी पुग्ने छ । अघिल्लो वर्षको ६७ करोड र गत आर्थिक वर्षमा इन्फास्ट्रक्चरले ७० करोड रुपैयाँ खुदनाफा गरेको छ ।
बैंकले २ जलविद्युत र सिमेन्ट उद्योगमा गरी साढे ५ अर्ब रुपैयाँ ऋण लगानी सम्झौता गरेको छ । कोभिड महामारीले परियोजनाहरुको काम सुरु नभएपछि अहिले रोकिएको छ ।
इन्फास्ट्रक्चरले सीजी सिमेन्टमा १ अर्ब ५० कराेड, ४५ मेगावाटको मिडिल मेवामा १ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी सम्झौता गरेको छ । यो आयोजना हिमालयन बैंकको अगुवाइमा ऋण लगानी हुने छ ।
यस्तै आफनो अगुवाइमा बैंकले ३२ मेगावाटको करुवा सेती जलविद्युत आयोजनामा १ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी सम्झौता गरेको छ ।
यस्तै बैंकले ठुला पूर्वाधारलाई केन्द्रीत गरी सेक्टरल फण्ड सिर्जना गर्ने भएको छ ।
सेक्टरल फण्डमा २० अर्ब रुपैयाँसम्म पुँजी हुने छ । इन्फास्ट्रक्चरले बीमा कम्पनीबाट पुँजी लिएर फण्ड बनाउने र सोहीबाट लगानी गर्ने योजना बनाएको छ ।
बैंकले सौर्य उर्जा, होटल, रिसोर्ट, फनपार्क, केवलकार, शिक्षा, स्वास्थ्य लगायतका अन्य विभिन्न पूर्वाधारका आयोजनाहरुको पहिचान र आवश्यक अध्ययन गरिरहेको छ । आधा दर्जन परियोजना पाइपलाइनमा छन ।