काठमाडौं । प्रक्रियागत कारणले गर्दा ‘बल्क’मा सेयर कारोबार गर्न स्थापना भएको नागरिक स्टक डिलर कम्पनी लिमिटेड सञ्चालनमा आउन ढिलाइ हुने भएको छ ।
संस्थापक लगानीकर्ता नागरिक लगानी कोषले कम्पनीलाई साउनको दोस्रो सातादेखि सञ्चालनमा ल्याउने तयारी गरे पनि प्रक्रियागत काम बाँकी भएपछि ढिलाइ हुन गएको हो ।
कम्पनी सञ्चालनका लागि नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेड, सिडिएस क्लियरिङ्ग हाउस लिमिटेडको स्वीकृति लिन बाँकी रहेको लगानी कोषका कार्यकारी निर्देशक रमन नेपालले क्यापिटल नेपाललाई बताए ।
स्टक डिलर साउनको दोस्रो सातादेखि सञ्चालनमा आउने ‘बल्क’मा सेयर कारोबार गर्न
नियामक निकायकहरुको स्वीकृतिका अतिरित्त सेयर कारोबारको स्फ्टवेयर जडान, प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिको काम बाँकी रहेको उनले सुनाए । यसका लागि प्रक्रिया अघि बढेको कार्यकारी निर्देशक नेपालले जानकारी दिए ।
‘प्रक्रिया धेरै भएकाले पुरा गर्दा निर्धारित समयमा स्टक डिलर सञ्चालनमा आउन सकेन’ उनले भने ‘भदौभित्र ल्याउने तयारीमा छौं ।’ बोर्डले स्वीकृतिका लागि तत्काल निवेदन दिन भने पनि अनुमति दिएको छैन ।
पूँजी बजारमा संस्थागत लगानीकर्ताको प्रवेशमा शिघ्रता ल्याउन र बजारलाई थप गतिशिल बनाउन स्टक डिलर सञ्चालन ल्याउन लागिएको हो ।
स्टक डिलरमा नागरिक लगानी कोष, राष्ट्रिय पुर्नबीमा कम्पनी लिमिटेड र नेपाल टेलिकमको संयुक्त लगानी छ । कम्पनीको चुक्तापुँजी ५ अर्ब रुपैयाँ छ ।
टेलिकमले कम्पनीमा ४५ करोड रुपैयाँ लगानी गरेको छ । पुर्नबीमाले ५० करोड रुपैयाँ सेयर लगानी गर्ने छ । ५ अर्ब रुपैयाँ चुक्तापुँजी हुने कम्पनीमा २ अर्ब ५५ करोड रुपैयाँ नागरिक लगानी कोषको लगानी हुने छ ।
संस्थापक सेयरधनीबाट ‘बास्केट फण्ड’ बनाएर स्टक डिलरले सेयर बजारमा लगानी गर्ने छ । स्टक डिलर कम्पनीले लगानी कोषको ‘पोर्टफोलियो’ समेत व्यवस्थापन गर्ने छ । सेयर बजारमा अस्वस्थ प्रतिस्पर्धा नहोस, माग र आपूर्तिको सन्तुलन स्टल डिलरले कायम गर्ने अपेक्षा छ ।
कोषका अनुसार स्टक डिलरको माध्यमबाट ‘बल्क’मा सेयर खरिद बिक्री गर्न सकिनेछ । स्टक डिलरले अहिलेको जस्तो अस्वभाविक रुपमा बढ्ने र घट्ने सेयर बजारलाई सन्तुलनमा ल्याउने अपेक्षा गरिएको छ ।
पहिले लगानी कोषले मात्र छुट्टै सहायक कम्पनी स्थापना गरेर सेक्युरिटिज डिलरसिप तथा बजार निर्माताको काम अघि बढाउने तयारी गरिरहेको थियो । तर, कोषमा सञ्चित रहेको रकमले बजारमा पर्याप्त लगानी थप गर्न नसक्ने भएपछि अन्य निकायहरूसँग पनि समन्वय गरेर डिलरसिपको काम गर्ने प्रक्रिया अगाडि बढाएको हो ।
हाल सेयर बजारमा ५० ओटा ब्रोकर कम्पनीहरु सञ्चालनमा छन । १९ ओटा वाणिज्य बैंकहरुले पनि सेयर ब्रोकरको लाइसेन्स लिने तयारीमा रहेका छन । स्टक डिलरले अस्वभाविक रुपमा बढ्ने र घट्ने सेयर बजारलाई सन्तुलनमा ल्याउने अपेक्षा गरिएको छ ।