काठमाडौं । काँडाघारीका विकास कार्की सार्वजनिक यातायातमार्फत काममा आउजाउ गर्ने गर्छन् । उनी दैनिक अफिस रहेको स्थान गौशला जानुपर्छ । लकडाउनपछि गाडी भाडा दोब्बर लिने गरेको गुनासो गरे । यसअघि उनले २० रुपैयाँ भाडा तिर्थे । अहिले ४० रुपैयाँसम्म भाडा तिर्ने बाध्यता रहेको उनको गुनासो छ ।
उनी मात्र होइन्, अहिले काठमाडौं उपत्यकाभित्र चल्ने अधिकांश सार्वजनिक यातायात सरकारले तोकेभन्दा बढी भाडा लिन थालेका छन् । यसले सर्वसाधारण यात्रुलाई मर्का परेको छ । लकडाउनपछि गाडी निकालेको बाहना बनाउँदै यातायात व्यवसायीले बढी भाडा असुल्न थालेका छन् । लामो समय गाडी थन्किएर घाटामा भएको भन्दै यातायात व्यवसायीले सरकारले तोकेभन्दा दोब्बर भाडा लिन थालेका हुन् ।
सरकारले केही हप्ता अघि ५० प्रतिशत बढी भाडा लिन पाउने गरी सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति लिएपनि यातायात व्यवसयीले त्यसलाई टेरेका छैनन् । उनीहरुले सरकारले नै बढी भाडा लिन दिएको भन्दै यात्रुवाट ५० प्रतिशत होइन्, १०० प्रतिशत सम्म नै भाडा असुल्न थालेको यात्रुको गुनासो छ ।
सार्वजनिक सवारी साधनले बढी भाडा लिएर यात्रु ठग्दा पनि यता नियमनकारी निकाय भने मौन छ । खासगरी यातायात व्यवस्था विभागले भाडादर अनुगमन र सिटमा सर्वसाधारणको संङ्ख्या नियमन गर्ने जिम्मा ट्राफिकलाई दिएको छ ।
सिमित कर्मचारीलाइ अधिकतम सदुपयोग गर्दै बढी भाडा असुल्ने सार्वजनिक यातायातलाई कारबाही सुरु गरिसकिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीम ढकालले बताए ।
यात्रुको गुनासो आएकाले त्यसमा जिम्मेवार भएर लागेको उनले बताए । तर, यात्रुले बढी भाडा असुलेको गुनासो गरेपनि यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी मुकदर्शक बनेको छ । यातायात विभागका महानिर्देशक गोगन हमाललाई सार्वजनिक सवारीले चर्को भाडा लिएको बिषयमा प्रश्न गर्दा बढी भाडा लिएको पाए तत्काल कारबाही गर्ने तथा गाडी होल्ड समेत गर्ने बताए । तर, यात्रु सार्वजनिक यातायातले लिने गरेको भाडादरबाट यात्रु तर्सिने गरेका छन् । हमाल भन्छन ‘विभागबाट पनि अनुगमन टोली खटिएका छन, ट्राफिक प्रहरीले पनि बढी भाडा लिने, सरकारले तोकेको मापदण्ड अनुसार सार्वजनिक यातायात सञ्चालन नगरे कारवाही गरिरहेको छ’ ।
ट्राफिकका अनुसार, हालसम्म बढी भाडा असुल्ने ६५ अाेटा सार्वजनिक सवारी कारबाहीमा परेका छन् ।
राष्ट्रिय उपभोक्ता अनुसन्धान मञ्चका अध्यक्ष तथा उपभोक्ताकर्मी माधव तिमल्सिनाले संकटको बेलामा यातायात विभाग तथा सम्बन्धित निकायले अनुगमनलाई प्रभावकारी बनाउन नसकेको बताए ।
उनले यातायात विभाग प्रदेश र स्थानिय सरकारलाई दोष लगाउँदै अनुगमनबाट पन्छिने गरेको बताए । सार्वजनिक यातायातले सिट क्षमताको आधामात्र यात्रु राख्न पाउने सरकारले तोकेको मापदण्डसमेत पालना गरेका छैनन् ।
यातायात व्यवसायी राष्ट्रिय व्यवसायी महासंघका महासचिव सरोज सिटौंलाले बढी भाडा लिए कारवाही हुने बताए । ‘सरकारले तोके अनुसारकै भाडा लिन सबै यातायात कर्मचारीलाइै निर्देशन दिएका छौं यदि बढी भाडा लिए कारवाहीको दायरामा ल्याइने छ’ सिटौंलाले बताए ।