काठमाडौं । लामो समयपछि बस्न लागेको उद्योग तथा लगानीप्रवर्द्धन बोर्डको बैठकले मदिराजन्य उद्योगको पुँजी तथा क्षमता वृद्धि गर्न दिने निर्णय गर्ने भएको छ ।
धेरै समयदेखि कुनै पनि प्रस्ताव नआएकाले बोर्डको बैठक बसेको थिएन । तर, हाल गोर्खा ब्रअरीसहित आधा दर्जन उद्योगले पुँजी तथा क्षमता अभिवृद्धि गर्नका लागि आवश्यक स्वीकृति मागेपछि बोर्डको बैठक आज (शुक्रबार) बोलाइएको हो ।
आज बस्ने बोर्डको बैठकमा गोर्खा ब्रुअरीको पुँजी वृद्धिको प्रस्ताव उद्योग विभागका महानिर्देशक तथा बोर्डको सदस्यसचिव जीवलाल भुसालले लैजादै छन् । त्यसैगरी, भागेश्वर सुगर एण्ड केमिकल इण्डष्ट्रिजको पुँजी वृद्धिका लागि स्वीकृति दिने प्रस्ताव तयार भएको छ ।
त्यसैगरी, सुमी डिष्टिलरी पुँजी तथा क्षमता वृद्धि, प्रिमियर अर्गानिक प्रालिको पुँजी वृद्धि, वाइन तथा साइडर उत्पादन गर्ने उद्योगको अनुमति, फलफूलमा आधारित वाइन उत्पादन गर्ने उद्योग स्थापनाको स्वीकृति दिने प्रस्तावहरु तयार भएको उद्योग विभाग स्रोतले बताएको छ ।
विभाग स्रोतका अनुसार खासगरी, मदिरा उद्योगको पुँजी वृद्धि, वाइन उत्पादन गर्ने नयाँ उद्योग स्थापनाका सम्बन्धमा समेत छलफल हुने छ ।
कतिपय उद्योगको पुँजीलगायतका महत्वपूर्ण फाइलहरु आएका छन् । ती फाइललाई बोर्डको बैठकबाट टुङ्गो लगानुपर्ने हुन्छ । त्यही भएर बोर्डको बैठक डाकिएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट अध्यक्ष रहने बोर्डको बैठक निकै लामो समय पछि बस्न लागेको हो । बोर्डमा राज्यमन्त्री मोतिलाल दुगड, राष्ट्रिय योजना आयोग (उद्योग क्षेत्र हेर्ने), नेपाल राष्ट्र बैंकको गभर्नर, मन्त्रालयका उद्योग हेर्ने सचिव, अर्थ मन्त्रालयका सचिव, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव, वन तथा वातावरण मन्त्रालयका सचिव, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत, उद्योग मन्त्रालयका औद्योगिक तथा लगानी प्रवद्र्धन महाशाखा प्रमुख, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष, नेपाल उद्योग परिसंघका अध्यक्ष, नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष, महिला उद्यमी महासंघका अध्यक्ष सदस्य रहने छन् ।