काठमाडौं । फलफूलबाट वाइन बनाउने उद्योग स्थापनाका लागि सरकारले अनुमति दिएको छ । शुक्रबार बसेको उद्योग तथा लगानी प्रवद्र्धन बोर्डको बैठकले नेपालमा फलफूलबाट वाइन बनाउने उद्योग स्थापनाका लागि स्वीकृति दिएको छ ।
त्यसैगरी, बोर्डले मदिरा उद्योगको पुँजी वृद्धि, वाइन बनाउने उद्योग स्थापना गर्ने उद्योगलाई स्वीकृति दिएको हो । बोर्डले गोर्खा ब्रुअरीलाई पुँजी बढाउन अनुमति दिएको छ । बोर्डमा ६ ओटा प्रस्ताव थिए । ६ ओटै प्रस्तावलाई बोर्ड स्वीकृत गरेको बोर्डका सदस्यसचिव तथा उद्योग विभागका महानिर्देशक जीवलाला भुसालले जानकारी दिए ।
उद्योग मन्त्री लेखराज भट्टको अध्यक्षतामा बसेको बोर्डको २३१ औं बैठकले सम्पूर्ण प्रस्तावहरु स्वीकृति गरेको हो । बोर्डले गोर्खा ब्रुअरीको पुँजी वृद्धिको प्रस्ताव उद्योग विभागका महानिर्देशक तथा बोर्डको सदस्यसचिव भुसालले लगेका थिए । त्यसैगरी, भागेश्वर सुगर एण्ड केमिकल इण्डष्ट्रिजको पुँजी वृद्धिका लागि स्वीकृति दिने निर्णय गरेको छ ।
याे पनि पढ्नुस् ः
औद्योगिक प्रवर्द्धन बोर्डको बैठक आज, गोर्खा ब्रुअरीसहित आधा दर्जन उद्योगको पुँजी वृद्धि गरिँदै
त्यसैगरी, सुमी डिष्टिलरी पुँजी तथा क्षमता वृद्धि, प्रिमियर अर्गानिक प्रालिको पुँजी वृद्धि, वाइन तथा साइडर उत्पादन गर्ने उद्योगको अनुमति, फलफूलमा आधारित वाइन उत्पादन गर्ने उद्योग स्थापनाको स्वीकृति दिने निर्णय गरेको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट अध्यक्ष रहने बोर्डको बैठक निकै लामो समय पछि बस्न लागेको हो । बोर्डमा राज्यमन्त्री मोतिलाल दुगड, राष्ट्रिय योजना आयोग (उद्योग क्षेत्र हेर्ने), नेपाल राष्ट्र बैंकको गभर्नर, मन्त्रालयका उद्योग हेर्ने सचिव, अर्थ मन्त्रालयका सचिव, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव, वन तथा वातावरण मन्त्रालयका सचिव, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत, उद्योग मन्त्रालयका औद्योगिक तथा लगानी प्रवद्र्धन महाशाखा प्रमुख, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष, नेपाल उद्योग परिसंघका अध्यक्ष, नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष, महिला उद्यमी महासंघका अध्यक्ष सदस्य रहने छन् ।