काठमाडौं । कोरोना भाइरस महामारीले अनिश्चितता आएका बेला पनि लगानीकर्ताको सेयर बजारमा आकर्षण बढेको छ । प्राथमिक सेयर (आईपीओ) मा मात्र हैन दोस्रो बजारमा पनि सुधार आएको छ ।
३ ओटा कम्पनीहरुले निष्कासन गरेको आईपीओमा न्युनतम दोब्बरदेखि १२७ गुणासम्म बढी आवेदन परेकाले सेयर बजारमा लगानीकर्ताको विश्वास बढेको स्पष्ट हुन्छ ।
यसैगरी निषेधाज्ञाका बेलामा पनि दोस्रो बजारमा अनलाइन कारोबार हुँदा पनि बिहीबार ६ अंक र आईतबार १२ अंकले सेयर बजार बढेको छ । आइतबार १ अर्ब १० करोड ८० लाख रुपैयाँ बराबरको २४ लाख ९८ हजार कित्ता सेयर किनबेच भएको छ ।
नेपाल धितोपत्र बोर्डले सेयर बजारलाई प्रविधिमैत्री बनाउने प्रक्रिया अघि बढाएपछि लगानीकर्ता पनि विस्तारै प्रविधिमा अभ्यस्त हुन थालेका छन । स्टक ब्रोकर एसोसियसन अफ नेपालले पनि शुक्रबार लगानीकर्ताहरुलाई सेयर कारोबार अनलाईन भुक्तानीबाट मात्र गर्न अपिल गरिसकेको छ ।
निषेधाज्ञाका बीचमा पनि लगानीकर्ताले घरबाटै सेयर किनबेच गर्दा आइतबार कारोबार रकम १ अर्ब १० करोड रुपैयाँ पुगेको हो । स्थानीय प्रशासनले उपत्यकामा निषेधाज्ञा लगाए पनि कारोबार रकम बढ्दै जानुले पनि लगानीकर्ता प्रविधिसँग विस्तारै अभ्यस्त हुँदै आएको देखिन्छ ।
यसैगरी प्राथमिक बजारमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओमा २ अर्ब ७ करोड २६ लाख ५२ हजार रुपैयाँ बराबरको २ करोड ७ लाख २६ हजार ५२० कित्ताका लागि आवेदन परेको छ । हालसम्म ५ लाख ११ हजार ३७४ वटा आवेदन परेको छ । कम्पनीले ६३ करोड रुपैयाँ बराबरको ६३ लाख कित्ता आईपीओ निष्कासन गरेको हो ।
यस्तै समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा माग भन्दा १२७ गुणा बढी परेको छ । आइतबारसम्म १ अर्ब १ करोड ८८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
संस्थाले ८० लाख ७० हजार रुपैयाँ बराबरको ८० हजार ७०० कित्ता आईपीओ निष्कासन गरेकोमा ४ लाख ७९ हजार ४५४ वटा आवेदन मार्फत १ करोड १ लाख ८८ हजार ६७० कित्ता आईपीओका लागि आवेदन परेको छ । संस्थाले भदौ ४ गतेदेखि आईपीओ निष्काशन गरेको हो । संस्थाले ८६ लाख रुपैयाँ बराबरको ८६ हजार कित्ता आईपीओ निष्काशन गरेको हो ।
यसैगरी लिवर्टी इनर्जी कम्पनी लिमिटेडको आईपीओ माग भन्दा दोब्बर बढी आवेदन परेको छ । जलविद्युत कम्पनीको आईपीओ बिक्री नहुने अवस्थामा आएकोमा लिवर्टीमा लगानीकर्ताको आकर्षण बढेको छ । आइतबार साँझसम्म ७२ करोड ७६ लाख रुपैयाँ बढीको आवेदन परेको छ ।
१ लाख ८९ हजार आवेदकबाट सो रकम बराबरको आवेदन परेको निष्कासन तथा बिक्री प्रवन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ । कम्पनीले भदौ ३ गतेदेखि सर्वसाधारणमा ३५ लाख ६४ हजार ९३० कित्ता साधारण शेयर जारी गरेको थियो ।