काठमाडौं । नेपाल उद्योग वणिज्य महासंघको निर्वाचन अनलाइन भोटिङ वा प्रदेश/प्रदेशमा नै निर्वाचन गर्ने विकल्पका बारेमा महासंघभित्र बहस सुरु भएको छ । गत चैतमा हुने निर्वाचन कोभिड–१९ का कारण सर्दै गइरहेपछि नयाँ मोडालिटीमा निर्वाचन गराउनका लागि महासंघले निर्वाचन मोडालिटी समिति समेत बनाएको थियो ।
समितिले निर्वाचनको मोडालिटीमा अवस्था सामान्य भयो भने काठमाडौंमा नै अनलाइन भोटिङ वा प्रदेश/प्रदेशमा जम्मा भएर निर्वाचन गर्न सकिने विषयमा सुझाव राखेको छ । समितिले आफ्नो सुझावसहितको प्रतिवेदन बनाएपछि महासंघलाई बुझाइसकेको भने छैन । हाल निषेधाज्ञा भएका कारण प्रतिवेदन नबुझाएको समितिका एक सदस्यले क्यापिटल नेपाललाई जानकारी दिए ।
पटक पटक सर्दै गइरहेको महासंघको साधारणसभा र निर्वाचन नै अनिश्चित बनेपछि महासंघले निर्वाचन मोडालिटीका लागि समिति बनाएको हो । कोरोना भाइरसका कारण साधारणसभा र निर्वाचन गर्न सम्भव नभएपछि दुई पटक घोषणा गरिएको निर्वाचनको नयाँ मिति तय भएको छैन ।
निर्वाचनमा चन्द्रप्रसाद ढकाल र किशोर प्रधानले बरिष्ठ उपाध्यक्षमा उम्मेदवार घोषणा गरेर प्रचार–प्रसारमा समेत लागेका थिए । तर, सरकारले सभा सम्मेलन र भेलामा रोक लगाएपछि महासंघको साधारणसभा र निर्वाचन हुन सकेको छैन ।
नयाँ मोडालिटीअनुसार ढकाल पक्षले अब अनलाइन भोटिङमार्फत निर्वाचन गर्नुपर्ने सुझाव पेश गरेको हो । कोरोनाको त्रास निरन्तर भइरहेकाले सुरक्षित हुनका लागि सामान्य रुपमा साधारण सभा काठमाडौंमा गरेर वा जुममार्फत गरेर भएपनि निर्वाचन अनलाइनमार्फत गर्दा राम्रो हुने सुझाव दिएको हो ।
त्यस्तै, प्रधान पक्षले भने तत्काल अनलाइन भोटिङ गर्न उपयुक्त नहुने जनाएको छ ।
७ वटै प्रदेशमा गरेर निर्वाचन गर्दा भीड पनि नहुने भन्दै तत्काल निर्वाचन नगर्ने र गर्न परेपनि प्रदेशमा नै निर्वाचन गर्ने सुझाव दिएको हो । अनलाइन भोटिङ गर्दा गोपनियता नहुने भएकाले प्रधान पक्षले कि सामान्य अवस्थासम्म कुर्ने नभए प्रदेश प्रदेशमा निर्वाचन गर्नुपर्ने सुझाव राखेको छ ।
समितिमा ढकाल पक्षबाट भरत आचार्य, विनोद ढकाल र डिबी बस्नेत, प्रधानपक्षबाट रञ्जित आचार्य, अरुण सुमार्गी र सुनिलगोपाल श्रेष्ठ सदस्य रहेका छन् ।
समितिका सदस्य अरुण सुमार्गीले १५ दिनको समयसिमा भएपनि लकडाउनले प्रतिवेदन कार्यसमितिलाई नबुझाए र मोडालिटीका विषयमा पहिला नै सार्वजनिक भएकाले मोडालिटीका विषयमा नयाँ निर्णय पनि हुन सक्ने बताए । ‘सहमति भैसकेको छैन, काम हुँदैछ तर छलफलको विषय बाहिर आयो पहिला यसमा अनुसन्धान हुनुपर्छ,’ उनले भने ।