काठमाडौं । यो साता सेयर कारोबार २२.२ प्रतिशत बढेको छ । बिहीबारसम्म ११ अर्ब ९० करोड २४ लाख रुपैयाँ बराबरको ३० करोड ४६ लाख कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । अघिल्लो साता ९ अर्ब ७४ करोड रुपैयाँ बराबरको २ करोड २२ लाख १३ हजार कित्ता सेयर कारोबार भएको थियो ।
कोरोना भाइरस महामारीले जारी निषेधाज्ञाका कारण लगानीको अन्य क्षेत्र बन्द भएपछि सेयर कारोबार बढेको अनुमान गरिएको छ । यता सेयर बजार प्रति अनुदार मानिएका अर्थमन्त्री डा. युवराज खतिवडाको बर्हिगमन हुने भएपछि लगानीकर्ता उत्साहित भएका हुन । बजार बढेर नेप्से परिसूचक १ हजार ५१० अंकमा पुगेको छ ।
यो साता वाणिज्य बैंकको ०.२५ प्रतिशत घट्दा विकास बैंकको ४.६५ प्रतिशत बढेको छ । यस्तै वित्त कम्पनी, होटल, लुघवित्त, ऋणपत्रको कारोबार रकम घटेको छ । यस्तै जलविद्युत, उत्पादन, जीवन बीमा, निर्जीवन बीमा र व्यापार परिसूचक बढेको नेप्सेले जानकारी दिएको छ ।
यो साता नेपाल रि–इन्स्योरेन्स कम्पनी, नेको इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, शिवम सिमेन्ट, शिखर इन्स्योरेन्स, हिमालयन डिष्टिलरी, नेसनल लाइफ इन्स्योरेन्स, सूर्या लाइफ इन्स्योरेन्स, एनआईसी एसिया बैंक र नेपाल इन्स्योरेन्स् कम्पनीको बढी सेयर किनबेच भएका छन ।