काठमाडौं । कोरोना भाइरस महामारीले केरूङ र काठमाडौं जोड्ने रेलमार्गको थप अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने काममा विलम्ब हुन भएको छ ।
रेलवे विभागका महानिर्देशक बलराम मिश्रले नोभेम्बरदेखि दुई देशबीच कुराकानी नभएको बताउँदै कोरोना भाइरसको महामारी सुरु भएपछि ठोस काम अघि नबढेको बताए।
अघिल्लो साता अर्थ मन्त्रालयसँग बैठकमा चिनियाँ अधिकारीले कोभिड १९ को प्रभाव कम हुने बित्तिकै चरणवद्ध रूपमा रेलमार्ग र अन्य महत्त्वपूर्ण परियोजनाका काम अघि बढाउने बताएका छन्।
चीनले भने सिगात्सेबाट केरूङसम्म जोड्ने रेलमार्गबारे सर्वेक्षण अघि बढाएको बताइएको छ। तिब्बतको सिगात्सेबाट केरूङहुँदै काठमाडौंसम्म जोड्ने रेलमार्गको सम्भाव्यता अध्ययनका लागि चिनियाँ राष्ट्रपति सी जिनपिङको काठमाडौं भ्रमणमा समझदारीपत्रमा हस्ताक्षर भएको थियो।
त्यसअनुसार प्राविधिक काम अघि बढाउन दुवै देशका अधिकारीहरूले गएको नोभेम्बर महिनामा छलफल गरेका थिए।
मिश्र भन्छन्, “त्यसपछि हाम्रो पत्राचार भएको छैन। पछिल्लोपटक एक दुई महिना प्राविधिक तयारीको काम गर्ने र सर्वेहरू अघि बढाउने भन्ने कुरा भएको थियो।”
अघिल्लो साता अर्थसचिव र चिनियाँ सहयोग निकायका उपाध्यक्ष सम्मिलित बैठकमा विभिन्न परियोजनाबारे छलफल भएको थियो।
स्थलगत काम अघि बढ्न नसकेकाले दुई वर्षभित्र विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने लक्ष्य पूरा गर्न नसकिने महानिर्देशक मिश्रले बताए।
चीनले गरेको सम्भाव्यता अध्ययनले काठमाडौंदेखि केरूङसम्मको ७२.२ किलोमिटर दुरीमा ९८.८ प्रतिशत सुरुङ तथा ठूला पुलहरू हुने उल्लेख छ। सन् २०१८ को उक्त अध्ययनले नेपालतर्फको निर्माणका लागि २९३ अर्ब रुपैयाँ अनुमान गरेको थियो।
अधिकारीहरूका अनुसार नेपालतर्फको खण्डमा नौवटा पुल र सातवटा सुरुङ प्रस्ताव गरिएको छन्। जटिल भौगर्विक क्षेत्रमा बनाउने लक्ष्य राखिएको उक्त रेलवे पछि पोखरा र लुम्बिनीसम्म विस्तार गर्ने लक्ष्य राखिएको छ।
१६३.४६ किलोमिटर काठमाडौं-पोखरा खण्डको लागत ३८५ अर्ब रुपैयाँ र कुरिनटारबाट लुम्बिनी खण्डको लागत ३१३ अर्ब रुपैयाँ प्रस्ताव गरिएको छ।
राष्ट्रिय योजना आयोगको पन्धौँ योजनाले विसं २०८०/०८१ सम्ममा केरूङ-काठमाडौं-पोखरा-लुम्बिनी रेलमार्गको विस्तृत आयोजना प्रतिवेदन र लगानीको प्रारूप तयार भई रेलवे निर्माण आरम्भ गर्ने लक्ष्य लिएको छ।