काठमाडौं । अर्थ मन्त्रालयको जिम्मेवारी समेत लिएका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साढे ४ बजे उद्योगी/व्यवसायीलाई भेट्दै छन् । ओलीले बालुवाटारमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका प्रमुखसँग भेटघाट गर्न लागेका हुन् ।
उद्योगीले बारम्बार प्रधानमन्त्री ओलीसँग भेट्न चाहे पनि पाएका थिएनन् । अर्थ मन्त्रालयको जिम्मेवारी पनि आफ्नो काँधमा आएपछि उनले बालुवाटारमा तीनओटा निजी क्षेत्रका प्रमुख तथा प्रतिनिधिलाई बोलाएका हुन ।
‘प्रधानमन्त्री ओलीले निजी क्षेत्रका तीनओटै संस्थाका प्रमुख तथा उद्योगीलाई बोलाउनु भएको छ । कोरोना भाइरसका कारण देशको अर्थतन्त्र नराम्ररी प्रभावित भएको र त्यसलाई उकास्न सरकारले के गर्नुपर्छ र निजी क्षेत्रले के गर्नुपर्छ भन्ने विषयमा गम्भीर छलफल हुन्छ,’ बालुवाटार स्रोतले भन्यो, ‘उद्योगी/व्यवसायीसँग सरकारको अपेक्षा के छ ? अहिले सरकारसँग उनीहरु केही असन्तुष्ट बनेको अवस्था छ । त्यसलाई कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा छलफल हुन्छ ।’
कोरोनाका कारण ५ महिनादेखि आर्थिक गतिविधि पूर्ण रुपमा बन्द छ । उद्योग पनि चल्न सकेका छैनन् । त्यहाँ काम गर्ने मजदुरले पनि तलब पाउन सकेका छैनन् । उद्योगीले बैंकलाई ब्याज बुझाउन सकेका छैनन् । यस्तो अवस्थमा प्रधानमन्त्री ओलीसँग हुन लागेको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले प्रधानमन्त्रीले समय दिएर भेट्न बोलाउनु भएको बताए । खासगरी अहिल अर्थतन्त्रमा गम्भीर समस्या देखिएको र यस विषयमा प्रधानमन्त्री ओलीको विशेष चासो रहेको उनको भनाइ छ ।
‘अहिले उद्योगी व्यवसायीले पनि समस्या भोगिरहेका छन् । केन्द्र सरकारले उद्योग व्यवसायलाई निर्वाध रुपमा चल्न दिने बताए पनि त्यस अनुरुप उद्योग सञ्चालन हुन सकेको छैन्,’ उनले भने, ‘यस विषयमा पनि प्रधानमन्त्री ओलीसमक्ष यो विषय उठाउँछौं ।’
प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा उद्योगमन्त्री लेखराज भट्ट पनि सहभागि हुने छन् । त्यसबाहेक अर्थका पदाधिकारी पनि सो बैंठकमा उपस्थित हुने बुझिएको छ ।
डा. युवराज खतिवडा अर्थमन्त्रीबाट स्वतः पदमुक्त भएपछि केही समयमा लागि प्रधानमन्त्री आफैले अर्थ मन्त्रालय सम्हाल्ने बताइसकेका छन् ।